पपुआन्युगिनी ११४ रनमा अलअाउट, सन्दीप र दीपेन्द्रले लिए चार चार विकेट

काठमाडौं- जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटअन्तर्गत महत्वपुर्ण खेलमा नेपालले पपुआन्युगिनीबाट ११५ रनको लक्ष्य पाएको छ। जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। पपुआन्युगिनीले २७ ओभर दुई बलमा सबै विकेट गुमाएर ११४ रन जोड्यो।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह एेरीले चार चार विकेट हात पारे। सोमपाल कामी र करन केसीले एक एक विकेट लिए।
पपुआन्युगिनीका टोनी उरा ११ र आसाद भाला १० रनमा आउट भए। सेसे बाउले ११ र सोपरले १० रन बनाए। माहुरु दाईले पाँच र किप्लिन डोरिगाले १० रन बनाए। अमिनीले १९ रन बनाए।
पपुआन्युगिनीले १२ रन जोड्दा सोमपालले पहिलो विकेटका रुपमा भालालाई एलबिडब्लू आउट गरेका थिए । २९ रन जोड्दा करनले उरालाई क्याच आउट गराए। ५१ रन जोड्दा सन्दीपले सोपरलाई पवेलियन फर्काए। त्यसपछि सन्दीपले नै बाउ, डोरिगा र दाईलाई आउट गरेका हुन्। पहिलो ओभरमा पाँच रन दिएका सन्दीपले त्यसपछि लगातार चार ओभरमा विकेट लिएका थिए। दीपेन्द्रले २४ औं ओभरमा पहिलो विकेट लिएका थिए भने २६ औं ओभरमा लगातार बलमा दुई विकेट हात पारेका थिए। दीपेन्द्रले २८ औं ओभरको दोस्रो बलमा अर्काे विकेट लिएका हुन्।
सातौं स्थानका लागि हुने यस सेमिफाइनल खेलमा नेपालले जित हात पारे एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउन सक्ने छ। तर अर्काे खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराउनु पर्ने छ। यी चारवटै टोली समूहगत चरणबाटै बाहिरिएका हुन्।
नेपाल हङकङ र पपुआन्युगिनीमध्ये एक टोलीले एकदिवशीय मान्यता पाउने छ। नेदरल्यान्ड्सले भने वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेबापत एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाई सकेको छ।
समूहगत चरणमा नेपालले सुरुका तीन खेलमा हार ब्यहोरेपनि अन्तिम खेलम हङकङलाई हराएर एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना कायम राखेको हो। पपुआन्युगिनीले भने एक खेल पनि जित हात पार्न सकेको थिएन।
अर्को खेलमा हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले ३२ ओभरमा ३ विकेट गुमाएर एक सय ३८ रन जोडेको छ।