नेपालले पपुआन्युगिनीलाई ६ विकेटले हरायो, एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता भने अनिश्चित

काठमाडौं- जिम्बावेमा जारी  आईसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्ले अफ खेलमा नेपालले पपुआन्युगिनीलाई ६ विकेटले हराएको छ। पपुआनुगिनीले दिएको एक सय १५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालकाे जितमा दीपेन्द्रसिंह एेरीले अलराउन्ड प्रदर्शन गरे। बलिङतर्फ चार विकेट लिएका दीपेन्द्रले अविजित ५० रन बनाए। आरिफ शेखले २६  रन बनाए। कप्तान पारस खड्काले २०, उपकप्तान ज्ञानेन्द्र मल्लले एक र अनिल शाहले नौ रन बनाए। आरिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो।

नेपालले सातौं स्थानका लागि नेदरल्यान्ड्स र हङकङबीच अहिले भइरहेको खेलको विजेतासँग शनिबार खेल्ने छ। नेदरल्यान्ड्सले हङकङलाई हराए नेपालले बिहीबार नै एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने निश्चित हुने छ।

यसैगरी डिभिजन वनमै रहने पनि पक्का हुने छ।  तर हङकङ विजयी भए शनिबार हुने खेलको विजेताले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनुको साथै डिभिजन वनमा रहने छ। पराजित हुने टोलीको चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना सकिने छ भने डिभिजन दुईमा पनि झर्ने छ।

जारी प्रतियोगितामा सहभागी ६ टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोलीले चार वर्षका लागि एकदिवशीय मान्यता पाउने ब्यवस्था थियो। सुपर सिक्स पुगिसकेका स्कटल्यान्ड र यूएईको  एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता निश्चित भइसकेको छ। समुहगत चरणबाटै बाहिरिएका हङकङ नेपाल र पपुआन्युगिनीमध्ये एक टोलीले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने स्थीति बनेको थियो। अर्काे खेलमा अहिले नेदरल्यान्ड्सले हङकङलाई एक सय ७५ रनको लक्ष्य दिएको छ।

पपुआन्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। पपुआन्युगिनीले  २७ ओभर दुई बलमा सबै विकेट गुमाएर ११४ रन जोड्यो। पपुआन्युगिनीलाई सस्तोमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्रले चार चार विकेट हात पारे।

फास्ट बलरद्धय करन केसी र सोमपाल कामीले दुवै ओपनरलाई आउट गरेपछि सन्दीप र दीपेन्द्र हाबी भएका थिए। सन्दीपले पहिलो विकेट लिनुअघि पपुआन्युगिनीले दुई विकेट गुमाएर ५० रन जोडेको थियो। तर पहिलो ओभरमा पाँच रन दिएका सन्दीपले त्यसपछि लगातार चार ओभरमा चार विकेट लिएका थिए।

पपुआन्युगिनीले ७८ रनको स्थीतिमा ६ विकेट गुमाएको थियो। अर्का स्पीनर बसन्त रेग्मीले विकेट लिन नसकेपछि पार्ट टाइम बलर दीपेन्द्रलाई २० ‌औं ओभरमा बलिङमा ल्याईएको थियो।

दीपेन्द्रले पहिलो र दोस्रो ओभरमा विकेट लिन नसकेपनि तेस्रो ओभरमा सफलता हात पार्न सफल भएका थिए। चौथो ओभरमा दुई विकेट लिएका उनले पाँचौं ओभरमा थप विकेट हात पार्दै पपुआन्युगिनीलाई अलआउट गरेका थिए। दीपेन्द्रले ४ ओभर दुई बलमा १४ रन खर्चिए भने सन्दीपले ८ ओभरमा २९ रन दिए।

पपुआन्युगिनीका  टोनी उरा ११  र आसाद भाला १० रनमा आउट भए।  सेसे बाउले ११ र  सोपरले १० रन बनाए।  माहुरु दाईले पाँच र किप्लिन डोरिगाले १०  रन बनाए। अमिनीले १९ रन बनाए। पपुआन्युगिनीले पहिलो विकेटका लागि   १२ रन जोडेको थियो।

 

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्