विराटनगर महानगरपालिकाको सडक नबन्‍नुमा विद्य‌ुत प्राधिकरण बाधक

मोरङ- विराटनगर महानगरपालिकाले  सडक तथा नालाको काम कार्वाहीमा समस्या देखिएको जनाएको छ। विहीबार निर्माणाधीन सडकको स्थलगत जाँच गर्ने क्रममा महानगरपालिका प्रमुख भीम पराजुलीले निर्माण कार्यलाई आफूहरुले तीव्रता दिने गरि कार्य गरिरहेको भएपनि विभिन्न क्षेत्रबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गरे।

प्रमुख पराजुलीले भने, ‘हामी धुलोबाट आजित स्थानीयको घरमा कालोपत्रे सडक बनाउन तयार अवस्थामा रहेपनि, विद्युत प्राधिकरणले समयमा आफ्नो कार्य नगरिदिदा’ काम गर्न समस्या भइरहेको छ।’ सडक निर्माण भइरहेको अधिकांश स्थानमा विद्युतको खम्बा नहटाउदा समस्या देखिएको छ। अधिकांश स्थानीयले सडकबाट बाहिर खम्बा नराखिदिदा दुर्घटना समेत हुने गरेको बताएका छन्।

सडक निर्माण कार्यप्रति विराटनगर १ का स्थानीय मनोज सापकोटाले भने असन्तुष्टि जनाए। सापकोटाका अनुसार, निर्माणका क्रममा निकायको नियमित अनुगमन हुन सकेको छैन, नाला बनाइएको भएपनि, पानी बग्दैन, स्लाब राखिएको छैन।

महानगरपालिकाले भने सडक निर्माणमा कुनै कमी नछाडिएको दाबी गरेको छ। त्रिवेणी मार्ग अन्तर्गत सो स्थानमा करिब डेढ किलोमिटर मध्ये ६ सय मिटर सडक कालोपत्रे भएको छ। यद्धपि त्यहा अझै कार्य बाँकी नै रहेको छ।

विराटनगर पछिल्लो समय धुलाम्मे शहरका रुपमा परिचित भएपनि विराटनगर १ निवासी सुरेन्द्रकुमार सुवेदीले निर्माणका क्रममा हुने अवस्थाका रुपमा लिन्छन्। उनी भन्छन्,“अहिले काम भइरहेको छ। काम सकिएपछि विराटनगरले रुप फेर्नेछ।’

अर्कोतर्फ, विराटनगर महानगरपालिका भित्र क्षेत्रीय शहरी विकास परियोजनाको १५ प्रतिशत, मझौला शहरी एकीकृत वातावरणीय सुधार परियोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले बताए।

साना तथा मझौला वातवरणीय विकास परियोजना अन्तर्गत २ अर्ब ९५ करोड, क्षेत्रीय शहरी विकास परियोजनामा २ अर्ब ६२ करोड तथा सघन सहरी विकास कार्यक्रम अन्र्तगत ६२ करोडको लागतमा विकास निर्माणका कामहरु भइरहेकाछन्।

सडक तथा नालाको निर्माणको जिम्मेवारी लिएको एक निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर महेश सुवेदीले सघन शहरी विकास कार्यक्रम अन्तर्गत १३ किलोमिटरमा नाला निर्माण कार्य सम्पन्न भएको जानकारी दिए।उनले निर्माण कार्यबारे जानकारी दिदैं भने, ‘८ किलोमिटरको सडक निर्माण अन्तर्गत सबबेश गरिसकिएको र ५ किलोमिटरको कार्य सम्पन्न भैसकेकोछ।’

यसबीच महानगरपालिकाले आउदो पाँचवर्ष कम्तीमा ५ सय किलोमिटर सडकलाई कालोपत्र गर्ने जनाएको छ।हल महानगरपालिका भित्र डेढसयदेखि दुईसय किलोमिटर सडक निर्माण चरणको अन्तिम चरणमा पुगेको छ।यस्तै सडक छेउको पक्की नाला ३६ किलोमिटर र ठूला नाला ३४ किलोमिटर निर्माण सम्पन्न भएको बताइएको छ।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्