साहित्यकार गीता खत्रीलाई १ लाखको पुरस्कार

गीता खत्री।

काठमाडौँ- साहित्यकार गीता खत्रीलाई यसवर्षको ‘अनेसास भवन भट्ट विशिष्ट महिला साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ।

विदेशमा रहेर नेपाली साहित्यको उन्नयनमा विशिष्ट योगदान दिए वापत खत्रीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न सकारात्मक किसिमले विशेष योगदान गर्ने एकजना नेपाली महिला साहित्यकारलाई हरेक दुई-दुई बर्षमा उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ।

एनआरएन अध्यक्ष भवन भट्टद्वारा स्थापित उक्त पुरस्कारको रकम अमेरिकी डलर एक हजार ( एक लाख रुपैयाँभन्दा बढी) छ।

अनेसास केन्द्रीय कार्यसमितिद्वारा समालोचक लीला लुइँटेलको संयोजकत्वमा गठित विन्दिया सुब्बा र उन्नती बोहरा शीला रहेको पुरस्कार छनोट समितिले साहित्यकार खत्रीलाई पुरस्कारका लागि छनोट गरेको हो।

मार्च २४ र २५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भारतको सिक्किममा हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मेलनका अवसरमा उक्त पुरस्कार समर्पण गरिनेछ। पुरस्कृत अनेसासका पूर्व अध्यक्ष तथा बोर्डअफ ट्रष्टीका उपाध्यक्ष गीता खत्रीका कथा, कविता, गजल, नियात्रा, गीतलगायतका विधामा कृति प्रकाशित छन्।

सम्मेलनमा नेपाली साहित्यमा विशेष योगदान गर्ने साहित्यकार डा.शान्ति प्रधान क्षेत्री (भारत), कविता पौडेल (नेपाल), प्रमिला शर्मा (अमेरिका) र शकुन्तला ज्ञवाली (अमेरिका) लाई अनेसास विशिष्ट सम्मान प्रदान गरिने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको जानकारी महासचिव गोवर्धन पूजाद्वारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्