नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता, अहिलेसम्मकै ठूलो उपलब्धि, अब डिभिजन एकमै

काठमाडौं- नेपालले क्रिकेटमा  एकदिवशीय अन्तर्राष्ट्रियकाे मान्यता पाएको छ। जिम्बावेमा जारी  आईसिसी विश्वकप छनोटअन्तर्गत  सातौं स्थानका लागि भएको प्ले अफ खेलमा हङकङले नेदरल्यान्ड्ससँग हार ब्यहाेरेपछि नेपालले चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको हो।


सातौ‌‌ै स्थानका लागि बिहीबार नै भएको अर्काे खेलमा नेपालले पपुआन्युगिनीलाई ६ विकेटले हराएको थियो। सातौे स्थानका लागि नेदरल्यान्ड्स र नेपालबीच शनिबार प्रतिस्पर्धा हुने छ। नेदरल्यान्ड्स र हङकङबीचको खेलको नतिजा आउनुअघि नै नेपाल पपुआन्युगिनीलाई हराएर उक्त खेलको नतिजा कुरेर बसेको थियो।

जारी प्रतियोगितामा सहभागी  ६  एसोसिएट  टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोलीले चार वर्षका लागि एकदिवशीय मान्यता पाउने ब्यवस्था थियो। सुपर सिक्स पुगिसकेका स्कटल्यान्ड र यूएईको  एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता निश्चित भइसकेको छ।

समुहगत चरणबाटै बाहिरिएका हङकङ नेपाल र पपुआन्युगिनीमध्ये एक टोलीले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने स्थीति बनेको थियो। प्रतियोगितामा पुछारमा रहने दुई एसोसिएट टोली डिभिजन दुईमा झर्ने हुँदा नेपालमा डिभिजन एकमा रहेको हो। पपुआन्युगिनी र हङकङ डिभिजन दुईमा झरेका छन्।

नेपालले अहिलसम्म एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको थिएन। नेपालले टेस्ट र एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने टोलीसँग खेल्ने एकदिवशीय खेलले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

यसबाहेक नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट पाउने सुविधा पनि बढ्ने छ।  नेपालले सन् २०१४ को टीट्वेन्टी विश्वकपमा सहभागी भएपछि एक वर्षका लागि विषेष उपहारस्वरुप टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो।

एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता हुने टोलीसँग स्वत टीट्वेन्टी अन्तर्राष्ट्रियको पनि मान्यता हुने गरेको छ।

आईसिसीले विगतमा ६ वटा एसोसिएट टोलीलाई चार वर्षका लागि एकदिवशीय मान्यता दिने गरेको छ। यसका लागि विश्वकप छनोट र वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप छनोट हुने आधार हुन्। टेस्ट टोलीसँग भने स्वत एकदिवशीय र टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता हुने गर्छ। अहिले १२ वटा टेस्ट टोली छन्।

नेपालल‍े सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेपनि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ मा एकदिवशीय विश्वकपको विश्व छनोट खेल्नु, सोही वर्ष टीट्ववेन्टी विश्वकप खेल्नु र गत वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नु सबैभन्दा ठुला उपलब्धी हुन्।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप एसोसिएट टोलीले मात्र खेल्ने सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता हो। विगतमा डिभिजन एकमा रहने टोलीले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप र चार दिवशीय स्वरुपको इन्टर कन्टिनेन्टल कप खेल्न पाउँथे।

समूहगत चरणको सुरुका तीन खेलमा हार ब्यहोरेको नेपालले चौथो तथा अन्तिम खेलमा हङकङलाई हराएर एकदिवशीय मान्यता पाउने सम्भावना कायमै राखेको थियो।

बिहीबार भएको खेलमा  पपुआनुगिनीले दिएको एक सय १५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालकाे जितमा दीपेन्द्रसिंह एेरीले अलराउन्ड प्रदर्शन गरे। बलिङतर्फ चार विकेट लिएका दीपेन्द्रले अविजित ५० रन बनाए। आरिफ शेखले २६  रन बनाए। कप्तान पारस खड्काले २०, उपकप्तान ज्ञानेन्द्र मल्लले एक र अनिल शाहले नौ रन बनाए। आरिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो।

नेपालले पपुआन्युगिनीबाटपपुआन्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। पपुआन्युगिनीले  २७ ओभर दुई बलमा सबै विकेट गुमाएर ११४ रन जोड्यो। पपुआन्युगिनीलाई सस्तोमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्रले चार चार विकेट हात पारे।

फास्ट बलरद्धय करन केसी र सोमपाल कामीले दुवै ओपनरलाई आउट गरेपछि सन्दीप र दीपेन्द्र हाबी भएका थिए। सन्दीपले पहिलो विकेट लिनुअघि पपुआन्युगिनीले दुई विकेट गुमाएर ५० रन जोडेको थियो। तर पहिलो ओभरमा पाँच रन दिएका सन्दीपले त्यसपछि लगातार चार ओभरमा चार विकेट लिएका थिए।

पपुआन्युगिनीले ७८ रनको स्थीतिमा ६ विकेट गुमाएको थियो। अर्का स्पीनर बसन्त रेग्मीले विकेट लिन नसकेपछि पार्ट टाइम बलर दीपेन्द्रलाई २० ‌औं ओभरमा बलिङमा ल्याईएको थियो।

दीपेन्द्रले पहिलो र दोस्रो ओभरमा विकेट लिन नसकेपनि तेस्रो ओभरमा सफलता हात पार्न सफल भएका थिए। चौथो ओभरमा दुई विकेट लिएका उनले पाँचौं ओभरमा थप विकेट हात पार्दै पपुआन्युगिनीलाई अलआउट गरेका थिए। दीपेन्द्रले ४ ओभर दुई बलमा १४ रन खर्चिए भने सन्दीपले ८ ओभरमा २९ रन दिए।

पपुआन्युगिनीका  टोनी उरा ११  र आसाद भाला १० रनमा आउट भए।  सेसे बाउले ११ र  सोपरले १० रन बनाए।  माहुरु दाईले पाँच र किप्लिन डोरिगाले १०  रन बनाए। अमिनीले १९ रन बनाए। पपुआन्युगिनीले पहिलो विकेटका लागि  १२ रन जोडेको थियो। नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराएको हो। एक सय ७५ रनको लक्ष्य पछ्याएको हङकङ ४३ ओभरमा एक सय ३० रनमा समेटियो। नेदरल्यान्ड्सका रोलेफ भान डर मार्वी एक्लैले पाँच विकेट लिए । उनले ४३ औ ओभरमा तीन विकेट लिएका थिए।

 

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्