राजस्व घट्दा अर्थतन्त्रमा धक्का, रित्तियो कोष

काठमाडौँ- सरकारले न्यून मूल्यमा आयात हुँदा भन्सार राजस्व कम सङ्कलन भएको र महंगी ३.५ प्रतिशतको हाराहारीमा रहेको दाबी गर्दा किनमेलमा उपभोक्ताको खर्च निरन्तर बढ्दो क्रममा रहेको छ।

सरकारले चालुआर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्य भन्दा ११ अर्ब कम राजस्व सङ्कलन गरेको छ।

कम मूल्यमा आयात भएका समानहरु बजारमा गत वर्ष भन्दा बढी मूल्यमा बिक्री हुँदा पनि सरकारले व्यवसायीलाई कारवाही गर्न सकेको छैन।

नागरिकले महसुस गर्ने गरी दालको मूल्यमा बाहेक अन्य कुनै पनि सामग्रीको मूल्यमा गिरावट आउन सकेको छैन।

यता भन्सार विभागले भने फागुन मसान्तसम्म लक्ष्यभन्दा १२ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ।

आपूर्ति विभागका अधिकारी निरन्तर बजार अनुगमन गर्दै बजारलाई व्यवस्थित गर्न खोजेको दाबी गर्छन्।

अर्थमन्त्रीले दरबारमार्ग छापामार्ने प्रवृति भन्दा पनि मुहान सफा पार्ने गरी काम गर्ने बताएका थिए।

भन्सारका जानकारहरु न्यून बिजकीकरण राजस्व सङ्कलनमा गिरावट आएको दाबी गर्छन्।

८ महिनामा ११ अर्ब कम राजस्व उठ्यो  

फागुन मसान्तसम्म ४ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले सो अवधिमा ४ खर्ब २८ अर्ब रुपैयाँ सङ्कलन गर्न सकेको छ।

फागुनमा लक्ष्य भन्दा ५ अर्ब कम राजस्व सङ्कलन हुँदा माघमा पनि लक्ष्य भन्दा ७ अर्ब कम राजस्व उठेको थियो।

यस्तै पुस मसान्तसम्ममा भने लक्ष्य भन्दा १ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको थियो।

फागुनमा मात्र ५३ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ४८ अर्ब रुपैयाँ मात्र सङ्कलन हुन् सक्यो।

भन्सार विभागले उठायो १२ अर्ब कम राजस्व

भन्सार विभागलाई फागुन मसान्तसम्म २ खर्ब ५ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएकोमा विभागले १ खर्ब ९३ अर्ब रुपैयाँ मात्र सङ्कलन गर्न सकेको छ।

करका दरहरु बढी भएका तेस्रो मुलुकबाट आउने सामानहरु कम मूल्यमा आयात हुँदा लक्ष्य भन्दा कम भन्सार राजस्व सङ्कलन भएको भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीले बताए।

उनले भने, गत वर्ष भन्दा डलरको मूल्यमा गिरावट आएकाले पनि आयात हुने बस्तुको मूल्यांकन कम मूल्यमा हुने भयो जसले गर्दा राजस्व लक्ष्य बमोजिम सङ्कलन हुन् सकेन।

उनले न्यून मूल्य भएको आयातले नै चालुआर्थिक वर्षको ६ महिनामा मुद्रास्फीति ३.५ प्रतिशतको हाराहारीमा रहेको उनको ठम्याई रहेको छ।

महानिर्देशक रेग्मी सरकारले भन्सार विभागलाई वास्तविकता भन्दा बढी लक्ष्य दिएकाले पनि विभागले कम राजस्व सङ्कलन गरेको बताउँछन्।

अर्थमन्त्री युवराज खतिवडाले दिएको निर्देशन पछि भन्सार कार्यालयमा भएका कमजोरीलाई सुधार गर्दै भएको उनले बताए।

भन्सार कार्यालयमा कमजोरी रहेको स्वीकार गर्दै रेग्मीले निरन्तर सुधारको प्रयास गरिरहेको दाबी गरे।

आन्तरिक राजस्व विभागको पनि ५ अर्ब कम राजस्व  

भन्सार विभाग सँगै आन्तरिक राजस्व विभागले पनि लक्ष्य भन्दा ५ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ। विभागलाई फागुन मसान्तसम्म १ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको १ अर्ब ६९ अर्ब रुपैयाँ सङ्कलन भएको छ। फागुनमा विभागको लक्ष्य १७ अर्ब रुपैयाँ भएकोमा १६ अर्ब रुपैयाँमात्र सङ्कलन भएको छ।

आन्तरिक राजस्व विभागका उप-महानिर्देशक यज्ञ ढुंगेल चैत महिनामा आयकरको किस्ता आउने हुँदा पनि विभागले लक्ष्य बमोजिमको राजस्व उठाउने दाबी गरे।

गैरकर राजस्वमा उच्च वृद्धि  

गैरकर राजस्वमा भएको उच्च वृद्धिले सरकार राजस्वको लक्ष्य भन्दा ११ अर्ब पछाडि रहेको छ। फागुन मसान्तसम्म ३१ अर्ब  २५ करोडको लक्ष्य भएकोमा गैरकर राजस्व ४५ अर्ब ७६ करोड रुपैयाँ सङ्कलन भएको छ।

आन्तरिक ऋण उठाउने तयारी

९५ अर्ब ३९ करोड बजेट घाटा भए पछि सरकारले आन्तरिक ऋण उठाउने तयारी गरेको छ। स्थानीय तहको अन्तिम किस्ता ७५ अर्ब रुपैयाँ बिहिबार पठाए पछि अन्तरिक ऋण उठाउने दबाबमा सरकार परेको छ।

लक्ष्य भन्दा ११ अर्ब कम राजस्व सङ्कलन हुँदा सरकारको ट्रेजरीमा पैसा कम भएकाले पनि सरकारले आन्तरिक ऋण उठाउने तयारी गरेको हो।

चालु आर्थिक वर्षको ६ महिनामै सरकारले १ खर्ब १४ अर्ब रुपैयाँ आन्तिक ऋण उठाइसकेको छ। बजेटमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रस्ताव गरे बमोजिम ३१ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको तयारी भएको अर्थमन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले जानकारी दिए। उनले ट्रेजरीको अवस्था हेर्दै ऋण उठाउने बिषयमा निर्णय हुने बताए।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्