ओडीआई बनेपछि कप्तान पारसले भने,’ वर्षौको त्याग र समर्पणको फल’

काठमाडौ‌- एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले सरोकारवाला सबैलाई धन्यवाद दिदै वर्षौको त्याग र समर्पण र निरन्तरको कडा मिहेनतको प्रतिफल भएको बताएका छन्।

सातौ‌ स्थानका लागि भएको प्ले अफ खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालको एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता निश्चित भएको हो।

नेपालले पहिलो पटक एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको हो। बिहीबार नै भएको अर्काे खेलमा नेपालले पपुआन्युगिनीलाई हराएपछि नेपालको एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना बलियो बनेको थियो।

‘ सहयोगका लागि सबैलाई धन्यवाद।   वर्षौ वर्षौदेखीको लगातारको त्याग समर्पण र कडा मिहेनतपछि हामी ओडीआई राष्ट्र भएका छौ। नेपाली क्रिकेटको यो यात्रामा जोडिएका सबैलाई बधाई। भगवानले कल्याण गरुन्’ पारसले ट्वीटरमा लेखेका छन्। नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो।

 

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्