गणेश लामालाई दस दिन म्याद थप गरी अनुसन्धान

गणेश लामा। फाइल तस्विर

काठमाडौँ- गौशालामा बुधबार राति पक्राउ परेका गणेश लामालाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ।

प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए।

प्रवक्ता थापाले लामामाथि हातहतियार तथा खरखजना ऐनमा मुद्दा चलाइने जानकारी दिए। हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई गत माघमा अदालतले सफाइ दिएको थियो। लामा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकबाट प्रदेशसभाका उम्मेदवारसमेत थिए।

चैत १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्