धरहरा पुनःनिर्माणका लागि छलफल सुरु

काठमाडौँ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ।

नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, कार्यकारी सदस्यहरु डा हरिराम पराजुली, डा चन्द्रबहादुर श्रेष्ठ, धु्रवप्रसाद शर्मा, विष्णु भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख डुण्डुराज घिमिरे, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायत विज्ञ समूहका सदस्यको उपस्थिति थियो।

बैठकमा प्रमुख कार्यकारी अधिकृत भुसालले निर्माण पूर्वका सबै प्राविधिक तयारी पूरा गरी जतिसक्दो छिटो धरहराको पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरासम्बन्धी ड्रइङ डिजाइनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि धरहरा पुनःनिर्माणको प्रक्रिया अघि बढ्ने बताए। धरहरा पुनःनिर्माणको प्राविधिक पक्षबारे विज्ञ सदस्यसहित छिट्टै अर्को बैठकमा छलफल गर्ने सहमति भएको उनले सुनाए।

चैत २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्