बघौडाको शिक्षा: पाँच पढ्नेलाई ‘आमा’ लेख्न मुश्किल

शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रमका सहभागी। तस्बिर: कुमार श्रेष्ठ

नेपालगञ्ज, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साह एउटा स्कूलमा पुगे। कक्षा पाँचमा पढ्ने विद्यार्थीलाई आमा लेख्न लगाए। विद्यार्थीले आमा लेख्न सकेनन्।

बाँकेको कर्णाली भनेर चिनिने राप्तीपारीको ६ गाविस सम्मिलित बघौडा अर्थात अहिलेको नरैनापुर गाउँपालिकाको शिक्षाको अवस्था दर्शाउदै गाउँपालिका अध्यक्ष मो. साह भन्छन्, ‘पाँच कक्षा पढ्नेले आमा लेख्न नजान्दा मलाई साह्रै पीडा भयो।’

अभिभावकमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना नहुनु, पढाएकाले पनि नियमित स्कूल नपठाउने र शिक्षकले पढाउनुलाई जागिरका रुपमा मात्रै लिदा भारतसँग सीमा जोडिएको नरैनापुरको शैक्षिक अवस्था नाजुक भएको हो।

‘बाढीपीडितको राहत कहिले पाइन्छ भनेर अभिभावक सोध्न आइरहन्छन्, गाउँपालिका अध्यक्ष साह भन्छन्, ‘छोराछोरीको पढाईबारे कहिल्यै वास्ता गर्दैनन्।’

नरैनापुर गाउँपालिकामा सरकारी स्कूल र मदरसा गरेर ४३ वटा स्कूल छन्। २२ वटा मदरसा र २१ वटा सरकारी विद्यालय छन्। आधारभूत तहमा ४ हजार २ सय ८८ र माविमा २ सय २ जना विद्यार्थी छन्। तिनलाई पढाउन एक सय तीन जना शिक्षक छन्।

नरैनापुरमा २३ जना विद्यार्थी रहेको प्राविदेखि १३ जना रहेको मावि स्कूल छन्। नरैनापुर–३, कालाफाँटाको प्रावि पचपेडवामा २३ जनामात्रै विद्यार्थी रहेका छन्। विद्यालयका प्रधानाध्यापक चेतराम यादव आफ्नो स्कूलमा ४९ जना विद्यार्थी रहेको बताउँछन्। ‘अर्धवार्षिक परीक्षामा सहभागी भएकालाई हरेर २३ जना भनिएको हो, प्रअ यादवले भने, ‘त्यो दिन नआएपनि अरु मेरो स्कूलमा ४९ जना विद्यार्थी छन् ।’ नरैनापुरका स्रोत व्यक्ति त्रिलोकीनाथ मौर्यले पचपेडवामा २३ जनामात्रै विद्यार्थी रहेको बताए।

नरैनापुरमा बालिकालाई स्कूल पठाउन अझ कन्जुस्याई गरिन्छ । बाक्लो मुस्लिम बस्ती रहेको नरैनापुरमा पाँच कक्षासम्म बालिकालाई पढाएपनि माथिल्लो कक्षामा नपढाउने शिक्षकहरु नै बताउँछन् । मुस्लिम समुदायले बालिकालाई धार्मिक शिक्षा दिनी तालिम, कुरान सरिफ पढाउन जोड दिएपनि औपचारिक शिक्षामा पठाउदैनन् ।

गाउँपालिकाका अध्यक्ष मो. साहले अभिभावकलाई आफ्ना छोराछोरी दुवैलाई स्कूल पठाउन र जागीरमात्रै नसम्झी बालबालिका, अभिभावक र समाजलाई माया गरेर आफ्नो दायित्व पूरा गर्न शिक्षकहरुलाई आग्रह गरे । निर्वाचित भएदेखि नै शिक्षामा जोड दिदै आएका अध्यक्ष साहले नरैनापुरको शैक्षिक अवस्था सुधार्न शिक्षक र अभिभावकलाई बोलाएर छलफल गर्ने गरेका छन् । पाँच वर्षमा पाँच सय राम्रा विद्यार्थी निकाल्ने सकेपनि गाउँको विकासमा टेवा पुग्ने साहको भनाई छ ।

सरकारी स्कूल र मदरसामा दोहोरो नाम
नरैनापुरमा सरकारी स्कूल र मदरसामा नाम भएका विद्यार्थीको संख्या अधिक रहेको छ ।

मुस्लिम समुदायका बालबालिकाको दुवैतिर नाम हुने गरेको हो । धार्मिक शिक्षा पढाइ हुने भएकाले मदरसालाई अनिवार्यजस्तै सम्झिने उनीहरु सरकारी स्कूलमा नाम लेखाउँछन् । स्रोतव्यक्ति त्रिलोकीनाथ मौर्य भन्छन्, दोहोरो नाम भएका विद्यार्थी १५ प्रतिशत होलान् । उनले मुस्लिम बालबालिका सरकारी स्कूलमा जाँच दिनमात्रै आउने गरेको बताए ।

आधारभुत जमुनीका सहायक प्रधानाध्यापक गोपालजी मौर्यले विद्यार्थीहरु नियमित स्कूल नआउने बताए । ‘हप्तामा २, ३ दिन स्कूल आउँदैनन्, कहाँ गएका थियौं भनेर सोध्यो भने घरमा काम थियो भनेर जवाफ दिन्छन्, मौर्यले भने, मदरसातिर गएको हुन सक्छ ।’
मदरसामा पढ्ने विद्यार्थी वर्षौसम्म एउटै कक्षा पढिरहन्छन् । महेन्द्र मावि, मटेहियाका प्रधानाध्यापक पेसकार सिंहले मदरसामा २०६७ सालमा भएको विद्यार्थीको नामावली २०७४ सम्म उही रहने गरेको बताए ।

मदरसाका शिक्षक मौलाना अस्लाम खानले ६ वर्षसम्म पनि कोर्स नसिध्याउनेहरु एउटै कक्षामा रहने बताए ।

सरकारले मदरसालाई पनि सरकारी मान्यता दिएर सेवा सुविधा दिने गरेको छ । मदरसाले विद्यार्थीलाई सरकारी स्कूलमा पठाउन सकेका छैनन् । ‘३ कक्षासम्म पढाइ हुने मदरसाले चार कक्षा पढ्न अर्को स्कूलमा बच्चा पठाउनु पर्छ नि त्यस्तो पाइदैन, महेन्द्र माविका प्रअ सिंह भन्छन् ।

विद्यालयलाई शैक्षिक सामाग्री
नरैनापुरका ४३ वटै स्कूललाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सेभ द चिल्ड्रेन सहयोगमा बाँके युनेस्को क्लवले २१ वटा सरकारी स्कूल र २२ वटा मदरसालाई शैक्षिक सामाग्री वितरण गरेको हो । दश हजार चार सय ३१ रुपैया बराबरका ३३ प्रकारका शैक्षिक सामाग्री एउटा स्कूललाई दिइएको छ ।

बाढी प्रभावित बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको रिफट नामक परियोजनाले ती सामाग्री वितरण गरेको युनेस्कोका फोकलपर्सन कृष्ण चौधरीले बताए । ४३ वटै स्कूलका प्रधानाध्यालकलाई बोलाएर युनेस्कोले नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साहमार्फत शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष मो. साह, सेभ द चिल्ड्रेनका विजय विश्वकर्माले शैक्षिक सामाग्रीलाई सही तरिकाले सदुपयोग गर्न आग्रह गरे । शैक्षिक सामाग्रीले बालबालिकालाई विद्यालयप्रति आकर्षित गराउनुका साथै नियमित गराउने सहयोगी संस्थाले विश्वास लिएको छ । वितरण गरिएको शैक्षिक सामाग्री प्रयोगका लागि शिक्षकहरुलाई तालिम दिइनेछ ।

शै्क्षिक सामाग्री बुझेपछि प्रधानाध्यापकहरुले यसले शैक्षिक विकासमा टेवा पुग्ने विश्वास गरेका थिए।

कार्यक्रमका सहभागी शिक्षकहरु। तस्बिर: कुमार श्रेष्ठ
चैत २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्