संगीत अन्य नाकोर्टिक ड्रगभन्दा पनि नशालु!

संगीतका विषय–वस्तु राखेर मैले करिब सयवटा लेख लेखेँ होला। तर ती लेखका कृतिगत संग्रह प्रकाशित गर्न सकेको छैन। तथापि संगीत सम्बन्धी ग्रन्थ भने एक दर्जन जाति भइसक्यो। संस्मरण र अन्य कृति जोड्ने हो भने दर्जन उकालो लाग्यो।

यसरी कृति, पुस्तकादि निस्किनुमा यही समाजको सहयोग र उपज हो। निक्कै लामो समय यस क्षेत्रमा विचरण भइसक्यो। चार दशक यति छिटो बित्यो कि पत्तै भएन। नशालु हुने रैछ संगीत अन्य नाकोर्टिक ड्रग वा ह्यासिसभन्दा पनि।

हिजोआजको नेपाली गजलकारिता जस्तै थियो हिजो संगीत। यतिबेला पनि उस्तै हो। तथापि गजल लेखनले उछिन्यो अब चैं। ती सबै गजल लेखनमा लागेका युवा जमात सबैले बैतरणी भने तर्ने हुन् कि होइनन् भन्न सकिन्‍न। यो गजल लेखनको शैलाव कहाँ पुगेर थिग्रिने हो। कहाँनेर संलिने–सँगालिने हो थाहा छैन।

म मेरै पूर्वातीततर्फ लाग्छु। हाइस्कुल सकिने बेलासम्ममा मैले गितार र हार्मोनियम बजाउन थालिसकेको थिएँ।बाँसुरी त म आफै बनाउथेँ पनि। बाँसुरी सबभन्दा सुलभ थियो गाउँघरका लागि। तर वादनका लागि चैं अलिक अप्ठ्यारो नै हो।

फुकेर बजाउनु पर्ने भएकाले कतिपय मान्छेले आवाज नै निकाल्न सक्दैनन्।बाँसुरी, मुरली सुशिर वाद्य भएकाले पनि फुक्नु सजिलो छैन। तर गोठाला, खेताला वा मेला–पर्व बजारतिर जाँदा अनि वनपाखामा घाँस–दाउरा जाँदा पनि सजिलै बोकेर जान सकिने र थकान् वा समय कटाउन एकलास जंगलमा पनि बजाउन मिल्ने बाँसुरी सबैका लागि सहज छ।तर हिजाआज परिवेश चेन्ज भएको छ। एकल साधना गर्न सकिने बाजा हो मुरली, बाँसुरी।

गाउँघरतिर मादल बनाउने र बजाउने चलन पनि कम हुँदै गयो हिजोआज।मारुनी र झ्याउरे गीत, नाच पनि हराउन थाले। कतिपय गाउँबस्तीमा यस्ता नाच, गीत र बाजा पनि थिए ? भन्ने प्रश्न गर्न सक्छन् आजका पिँडीले। किनकी गाउँघर, बस्ती, कुनाकन्दरा, खोँचमा पनि पुग्यो हातेफोन। जस्मा कुराकानी त हुने नै भयो।

अझै टीभी, इन्टरनेट, डाटा फेसबुक आदि चल्ने भएपछि नयाँ सुविधातर्फ नै समकालीन पुस्ता जाने भयो। सेलफोन नभइ स्कुल–कलेज जान्न भन्न थाले गाउँतिरका विद्यार्थी। शहरतिरका बाइक, स्कुटी चाहिन्छ भन्छन्। समाज छिटोछिटो परिवर्तन हुँदैछ। हिजोआज त्यसैलाई क्रमभङ्ग भन्छन् क्यार। कहाँ लोकगीत, कता लोकनाच अनि किन चाहियो लोकबाजा।

कतिपय आधुनिक विकासले छोएको शहरमा पनि गीत, नाच वा आफ्ना बाजागाजाको ममता हुने रहेछ। दार्जीलिङ आज होइन आधुनिकतामा प्रवेश गरेको। तर त्यहाँ उसै बेलादेखि आफ्ना नाच, गीत तथा बाजाप्रति सचेत थियो। अहिले पनि मारुनी गीत, नाच र मादल त्यहाँ चलन चल्तिमा देखिन्छ।

अंग्रेजले बाइबल र अंग्रेजी सिकाउँदा पनि त्यहाँ झ्याउरे गीत, नाच, मारुनी, मादल, दउसी, भैलो विस्थापित भएन। तर नेपाली समाज कता जाँदैछ थाहा छैन। तथापि हिजो दलित–दमितको बाजा हो बजाउनु त के छुनै हुन्न भन्ने समाजको चेत खुल्न थालेको देखिन्छ। मगर, बाहुन वा अन्य जातिले पनि कतैकतै पंचैबाजा वादन गर्न थालेका छन्। सोरठी नाच फेरि पुनर्जीवित गरिन थालेको छ।

खास संगीत पेसा हुन नसकेपछि समाजले बाजागाजा वा नाचगान छोड्ने रहेछ। जसबाट बाँच्न नसकिने भएपछि मान्छेले पेसा परिवर्तन गर्न वाध्य हुने रहेछ। गाउँबस्तीमा कृषि कर्म सुरु भएपछि बाजा बन्देजमा हुने हाम्रै समाज हो। यो बन्देज माघ–फागुनदेखि साउन महिनासम्म लागु हुन्थ्यो। तिजपर्व सुरु भएपछि खेतीपाती सकियो भन्ने सन्देश जान्थ्यो।

त्यसपछि क्रमशः थुप्रै ठूला चाडपर्व आउने र बाजा, गीत तथा नाचगानले स्थान लिने गर्दथ्यो। यस्तो परम्परा, प्रचलन वा रीति सबै भङ्ग भइसक्यो भन्दा पनि हुन्छ। तिजका बेला छोरी–बुहारीले विरह गाउँथे। दुःख–दर्दका विभेद उराल्थे। हिजोआज तिज क्याटरिङमा पस्यो। मात्र हुने–खानेको भयो। गहना–गरिया वा सम्पन्नता प्रदर्शनीको पर्व भयो। गीतमा उच्छृङ्खलता घुस्यो। संस्कृतिमा पनि वर्गीयता लागु हुँदै आयो। तिज जस्तो संस्कृति दुई वर्गमा छुट्टिँदैछ।

पूर्वी नेपालका राई–लिम्बू जातिका बाजा ढोल, च्याबु्रङ वा बिनायो, मुर्चुङगा मध्ये उँभौली पर्वपछि ढोलको राग मारेर कसैले नछुने स्थानमा झुण्ड्याउने गरिन्थ्यो भने बिनायो र मुर्चुङगा यी मायालु बाजा भएकाले प्रयाः युवा–युवतीका तुनामा गहना जस्तै सँधै राखिन्थ्यो।

एकान्तमा, प्रेमिल अवस्थामा वा मेलापर्व, खेतिपातीका बखत पनि ती बाजाको वादन हुने गर्दथ्यो। कुनै युवाले बिनायो खोपेर युवतीलाई दियो भने प्रेमको प्रस्ताव जस्तो पनि हुन्थ्यो। किनकी मन परेकी युवतीलाई मात्र दिने गरिन्थ्यो।

आज मोबाइल किनी दिने चलन आयो होला सायद। सांस्कृतिक परिवर्तन भनेको यही होला। न रह्यो बाँस न बज्यो बाँसुरी। अर्थात् बिनायो वा मुर्चुङगा खोप्ने–खिप्ने अनि दिने प्रचलन नै हरायो। नेपालको एउटा संस्कृति नै लोप भएर गयो। कुनै पनि देश वा मुलुकको पहिचान भाषा, जाति र संस्कृतिले नै जोगाउने हो।

नेपाली समाज धनी र गरीबको यति ठूलो खाडल थिएन। गरिबीको यति लामो तुइन तानिएको थिएन। प्रायः सबै कृषि पेसामा आवद्ध–अश्रित थिए। देखासिखी वा खिसीट्युरी पनि थिएन। अभाव, गरीबी अनि अशिक्षालाई सर्वेक्षण गरेर देशी–विदेशीले खेल्दा धर्म नै धन्दामा पुग्यो।

जसले नेपाली संस्कृति त धरासयी बन्यो बन्यो, नेपाल र नेपालीको स्वधर्म पनि धर्मरायो। परिवर्तनका नाममा अनेक हुने रहेछन्। परिवर्तन भनेको राजनीति र विकासमा मात्र होला भन्ने ठानिन्थ्यो।

अभाव र आवश्यकतामा पनि धर्मले हान्दो रहेछ। अशिक्षा र अज्ञानतामा मात्र होइन रहेछ। यस गतिले कुनै दिन नेपाली पहिचान नै डुबाउने देखिन्छ। धार्मिक विभाजन र समाज विच्छेदनले विद्वेष उत्पन्न हुन्छ। मिलेर बसेको समाज विथोलिन्छ। अन्ततोगत्वा कल, झगडा र मारामारी हुने देखिन्छ। के गीत–संगीत र संस्कृतिको सिर्तुप उठाउनु।

टप्पा, सिंगारु, लहरे, झुमरा, जितिया आदिको के कुरा गर्नु, सेबु्र, सेलो, करुवा नाच हराउन लागेपछि। चौलो, पुतला, भुवा, पर्छो नाचको किन कुरा उठाउनु छलिया, भारी, न्याउल्या, होरी, हुड्केली हराएपछि। गौराले डेउडा थामेर मात्र नेपाली संगीत संस्कृति बच्दैन। रोधीँ हराएको धेरै भयो।

घाटु, कुसुन्डाघाटु वा सतीघाटु खोइ कहाँ छ ? मनमा ? गाउँघरमा ? वा गुरुङ–मगर बस्तीमा ? सुदूर पर्वको केलाङ नाच, अलिक वरको साकेवा पनि विचलित हुँदैछ। टुडिँखेलले मात्र अब नेपाली संगीत संस्कृति बचाउन सक्दैन। हिजो टुडिँखेलमैं हुन्थ्यो घोडे जात्रा पनि राजा–महाराजाको।

गाई जात्रामा मात्र घिन्ताङ घिसी नाच नाचेर रमाउने भक्तपुरले लाखे नाच पनि संरक्षण गर्नुपछ। कात्तिक नाच नाच्ने ललितपुरले झाँगड नाच सिक्नु पर्‍यो अब। नत्र कसरी बच्ला त नेपाली संस्कृति ? कान्तिपुरमा जहिले पनि राजनीतिक लाखेँ जात्रा मात्रै हुन्छ। कति हेनु कति सहनु।

मिथिला–मधेशले जट–जटिन अलापेर पुग्दैन। सगरमाथाको उकालो उक्लिने जुक्ति पनि गर्नुपर्‍यो। जोगिरा सररर….गरेर ढोलक मात्र पिटेर भएन समग्र संस्कृतिको मीठास बन्नुपर्‍यो। लैका भुखसे मरेला मात्र भनेर पुग्दैन भोजपुरीले। यिनका बेहरी भरलबा पनि उत्तिकै गाउनु पर्छ।

यादे ननिनी जाइबो जतरा भन्दैछन् किसानले। चेन्सेको भार तो मेन्सेको भार छ घिमालको। दडबु दडबु गुर्रगुसा छ सतार लय। पैंकू चबरी भन्छन् गुरुङ। अझै बर्दियाका थारूले झुमरा, छोक्रा, मजिरा र लाठी नाच गीत बचाएकै छन्। बैतडी, डोटी–डडेलधुराबाट कैलाली–कञ्चनपुरका थारू बस्तीमा डेउडा, फाग, मागल ल्याएर मिसाएकै छन्। मिलेर बसेकै छन्।

बागलुङको खाँडो नाच, कास्कीको टोँटे पर्व, झापाको हिले जात्रा हामीले मनाएकै छौं। तर विधि र सयमले लोप हुँदै जाँदैछ। यस्ता अनेकन् चाड, पर्व वा जात्रा हामीले हराउनुपर्‍यो। लोकले थाम्न नसकेपछि वा संस्कृति महंगो परेपछि छोड्न वाध्य हुनुपर्छ।

यसै वर्ष पनि मृत्यु संस्कार गर्दा दिन घटुवा गरिएका खबर नआएको होइन। अब १२–१३ दिन अलिनो खाएर शोक मनाउने परम्परा पुरानो र सकस लाग्न थाल्यो नेपालीहरूलाई। कतै पाँच त कतै तीन दिनसम्म बार्ने चलन बसी सक्यो।

मान्छेले आफूलाई सहज हुने नहुने विचार गरेर यस्ता संस्कारहरू बदल्ने रहेछ। १६ संस्कार हुन्छ र गरिन्थ्यो भन्ने नै हाम्रो समाजले थाहा पाएको छैन अझै पनि। संस्कारगत विधि, परम्परा वा प्रचलन बिस्तारै परिवर्तन भएको छ।

भाषा संस्कृतिकै कुरा गर्ने हो भने नेपालमा अहिले १२५ वटा भाषा बोलिन्छन् भन्ने तथ्य निकालिएको छ। यस अघिको तथ्याङकले ९२ भाषा–भाषी भएको निष्कर्ष निकालेको थियो। अहिले बढेको छ। यो कसरी भयो ? मान्छेको मुण्ड विभाजित भएको हो कि ? आईएनजीओले गर्दा ? सानो समूह वा जाति देखाएर सहयोग लिनेदिने केही वर्षदेखि हुन थालेपछि पनि यसप्रकारका विकृति बढेको हो। बढ्नु राम्रो हो तर अस्वभाविक रूप वा अपत्यारिलो बढ्नु चैं नेपाली संस्कृतिमाथिको प्रहार वा दोहन नै हो।

पपुवा न्युगिनी भन्ने देशमा सात सय भाषा–बोली छन् भन्दा अपत्यारिलो लाग्छ। तर यथार्थ हो। रेसियल जेनोसाइड नभइन्जेलका लागि अति नै राम्रो पनि हो। कहिले काहिँ खेल्नेले खेलिदिन्छ गुलिडण्डा जस्तो राजनीति। र पर्छ गाह्रो मान्छेभित्रको मान्छेलाई।

नेपाली संस्कृति बहुलताले सुशोभित सम्मिलनको संस्कृति हो। यसलाई खुम्च्याउनु हुन्न। निचोर्नु पनि हुन्न। आज–अहिलेसम्म जस्तो छ त्यसलाई संरक्षित र सुरक्षित राख्नुपर्ने समय भइसक्यो। परिवर्तनका नाममा पहिचान नै गम्ने खालका क्रमभङग गरिनु चाहिँ मुर्खता हुन्छ। हाम्रा देवी–देवता वा मठ–माडौं जस्ता आस्थाका केन्द्र, धामी–झाँक्री, फुकफाक जस्ता लोकविश्वास पनि चाहिन्छन्।

आधुनिकताको नाममा यी र यस्ता धरोहरहरू विलुप्त पारिनु हुँदैन। धामी–झाँक्री लोकविश्वास मात्र होइन। ज्ञान, सिप र उपचार विधि पनि हो। बोनधर्मबाट निश्रृत परानो डाक्टरी हो। समग्रमा संस्कृति हो। जस्ले ओखतीमुलो पनि जानकारी राखेको हुन्छ। आज विश्वमा कहलिएका रामदेव र बालकृष्ण जडिबुटीले उपचार विधिमा लागेका छन्। योग अर्थात् फिजिकल एक्टिभिटीलाई बढाइरहेका छन्। हाम्रा लोक ओखतीले नजानेको कुरा यही हो।

नेपालका प्रत्येक जातजातिमा लोकज्ञान र सिपले युक्त कुनै न कुनै एक व्यक्ति नभएको होइन। तर त्यसको उचित मूल्याङ्कन् र उसको सामाजिक सम्मान नहुँदा जानेबुझेको कुरा पनि जान्दिनँ भन्नुपर्ने अवस्थामा छन्। तर हाम्रा जाडिबुटी अन्य देशले हर्बल नाम दिएर ओखतीको उद्योग सञ्चालन गरिरहेका छन्। हामीले हाम्रा विशेष कुरालाई पनि सामान्य ठानिरहेका छौं। मुलुकभरिका ज्ञानी गाउँलेहरूको भेला गरी कुनै ठोस् सम्पर्क र ज्ञान–सूचनाको जानकारी आदन–प्रदान गरियो भने नजान्नेले जान्दछ। जानेकाले सिकाउँछ, सिक्न पाइन्छ। यही हो सहयोगी सम्मिलनको संस्कृति।

भाइचारा अनि अपनत्व बढाउने उपाय पनि यही हो। मान्छे पनि सम्पदा–संस्कृति हो भन्दा एकदिन एक कार्यक्रममा हाँसो गरेका थिए। तिनलाई थाहा थिएन कि जीवित सम्पदा हुन्छ। संस्कृति हुन्छ। मान्छे आफै एउटा ज्ञानको खानी हो भन्‍ने बिर्सेर हल हाँसेको आजै जस्तो लाग्छ।आज बल्ल काठमाडौंले जीवित सम्पदा–संस्कृति शताब्दी पुरुष सत्यमोहन जोशी साथै राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई मान्न थालेको छ।नत्र एकले अर्कालाई नस्वीकार्ने मुढाग्रही हुलमुलले कुहिरोले ढाकेको बस्ती जस्तै भइसकेको थियो नेपाली समाज र तिनको सोच।

के बाहुन, के राई, के क्षत्री के नेवार वा के दलित–दमित जात मान्छेले बोक्ने दूर्भावना, जातीय विभेद पो पुर्नु पर्छ। त्यसलाई बढावा दिने, अवसर पाए त्यसैलाई भजाउने। हामी कता जाँदैछौं ? संस्कृतिमा कि विकृतिमा? विदेशमा नेपालपन भएको संस्कृति लिएर आऊ भन्यो भने के लाने ? नेपाली पहिचान के हो ? भाषा, भेषभूषा के हुन् ?

सवालहरू यावत् छन्। तर त्यसका उत्तर पनि प्रसस्तै छन्। सवाल र उत्तर बिर्सिँदाको अवस्था हो यो समय।नेपाली समाज छिन्नभिन्न भएको अवस्था हो। यसलाई बाँध हाल्ने काम गर्नुपर्छ। नत्र आफ्नोपन नै बगेर जान्छ।विलिन भएर जानेछ। बाह्य कुराहरू स्वतः अनुसरण हुने कुरा हो। तर नेपाली शैली, संस्कृति अनिवार्य अनि अबिलम्ब सम्बद्र्धन गरिनु जरुरी छ।

लामोपोखरी मार्ग–२३६
चाबहिल, काठमाडौं।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्