समीक्षा

कविताको रङमा जीवनको रङ

कविता लेखन यात्राको साढे चार दशक लामो समयमा दोस्रो कृति कविताको रङ । कवि भन्छन्— यो पनि प्रकाशकको करले । ५३ कविता छन् ।

एकाधदेखि बाहेक छोटै छन् । कविताको जुन संवेदना बोल्छन् कविले छानेका शब्दहरूले तिनले एउटा तरंग छोड्छन् । एकछिनसम्म पाठक पक्का झन्झनाउँछ ।

विज्ञापन

लेख्ने र कहिल्यै सम्पादन गर्न मन नपराउने कवि राजेन्द्र सलभ भन्छन्— मनले लेखेको कुरा मस्तिष्कको सक्रियतामा कहाँ उस्तै बाँच्न सक्छ र ? कविता मनले लेख्छ । म मनलाई मार्न/छोप्न सक्दिनँ । बरु लेख्दिनँ ।

आमा शीर्षकबाट सुरु भएको संग्रहमा यही शीर्षकका ४ कविता छन् । संग्रहलाई कविताको रंङ भनिए पनि यहाँ भरपुर जीवनको रङ छ । आमाको निधारको रातो टीकासँगको प्रेमले रातो टीकाबिहीन अगणनीय आमा आँखामा आउँछन् ।

कानुनको विद्यार्थी जसले पहिलोपटक एक रुपियाँ शुल्क लिएर फिराद लेख्यो र फेरि कहिल्यै वकालत नगर्ने प्रण गर्‍यो । प्राध्यापनमा रमायो । सिर्जनामा रमायो । शलभका कविताले उनको यो कानून व्यवसायी इतिहासको पनि कुरा गर्छ ।

आफ्नो लामो प्राध्यापन पेशासँग पनि संभवतः कवि असन्तुष्ट छन् । पढेर के हुन्छ ?, रामेले मलाई स्कुलमा पनि हेप्छजस्ता कविताले हाम्रो शैक्षिक प्रणाली र शैक्षिक उत्पादनप्रति कटाक्ष गरेको छ ।

बुधन चौधरीले मलाई फेरि सोध्यो—

‘सर, पढेर के हुन्छ ?’
झट्टै जवाफ पनि आएन
चुप लागेर बस्न पनि मिलेन
र मैले भनें—
‘पढ्यौ भने अरूले तिमीलाई ठग्न सक्तैनन् !’

एकछिन केही सोचेर
हात जोड्दै सोध्यो बुधनले—
‘सर, तपाईंलाई अरूले ठग्या छैनन् र ?’
मैले बुधनलाई हेरिरहें
न झुटो बोल्न सकें, न साँचो !

अहिले बुधनबाट भागेर
म यहाँ आइपुगेको छु
र तपाईंलाई सोध्दै छु— ‘पढेर के हुन्छ ?’ पृ. १८

जबरजस्ती युद्धमा लगिएका कलिला विद्यार्थीहरू जसले सम्पूर्ण हिंसामा आफ्नो उमेर/उर्जा/शिक्षा/सपनालाई बन्दुकसँग साटे ।

अहिले आफूलाई बन्दुक थमाएर राजनीतिको भर्‍याङ चढेर सत्ताको रसमा भुल्ने युद्धका नायकहरूलाई ती कलिला छापामारका प्रश्न छन् कलम र बन्दुक कवितामा । समसामयिक राजनीतिमाथि व्यङ्ग्य गरिएको कविता हो जून र शासक ।

राष्ट्रभित्रै कैदी बनेका नागरिकको पीडा स्वतन्त्र कैदी म कविताले बोलेको छ । मानिस कहिलेकाहीं आफ्नै बानीको दास बन्छ । यही सन्दर्भमा कवि यसरी सल्लाह दिन्छन् —

तिम्रो मुस्कान अरूलाई बिझ्छ भने
भेटेको बेला नहाँस्नु
मलहमले उल्टै घाउ लाग्छ भने
किन मलहम लाउनु
कसैलाई पनि नमागी केही दिने
बानी राम्रो होइन । पृ. ३४

आफूलाई पतझड, रात पठाइदिन आग्रह गर्दै भनिएको छ—

म पतझडमा वसन्त फुलाउँछु
म रातबाट नै बिहान उदाउँछु । पृ. ३६

कतै मानवीय समवेदनाले नछोइने व्यक्तिसँग आफू साथी बन्न नसक्ने उद्घोष गर्छन् त कतै घाम छेक्ने बादलसँग मानिसलाई आरोप गरिएको छ ।

जमाना फेरिएको कुरा गर्छ हैट ! बाजेका कुरा कविताले । उनी बहुआयामिक व्यक्ति त हुँदै हुन्; कवितामा पनि तिनै आयाममा फैलिएको देख्न सकिन्छ । मसँग सपनाहरू छन् भन्ने कवि सपना बाँचेका पनि छन् ।

प्रेम छ कवितामा । तिनमा कतै प्रियसी कतै सन्तान छन् भने कतै मानवताका नाममा त कतै देशका नाममा छ प्रेम । आफ्ना कविताका अक्षरहरू हराए भन्दै सायद कवि पे्रमिकाको अनुपस्थितिलाई आवाज दिन्छन् ।

छोरी शीर्षकको कवितामा गुनासोको स्वर छ । आमालाई अंगालोमा कसिरहेकी छोरीको अंगालोमा आफू अटाउन नसकेको दुखेसो छ । सन्तान बढ्दै जाँदा वात्सल्य पनि उत्तिकै हुर्किन्छ । कम हुँदैन । हुर्किदै गएका सन्तान सायद यसरी नै टाढा हुँदै जाँदा हुन् ।

आमा त नजिक गएर सुम्सुम्याउँदी हो, गन्गनाउँदी पनि हो । तर बाबु कवि झैं महसुस मात्र गर्दो हो । सन्तानलाई खुलेरै माया गर्न/देखाउन चाहने तमाम बाबुका तस्वीर आँखामा आउँछन् ।

क्याथी, ह्यारी अर्थात हरिप्रसाद, सिकागोकी हजुरआमाजस्ता कवितामा प्रवासमा भेटिएका कतिपय पात्रहरू र तिनका कथा पनि अटाएका छन् । पुरुषहरूले सीताले झैं अग्निपरीक्षा दिनुप¥यो भने के होला ? के उनीहरू उत्तिकै खरो उत्रिन सक्लान् त ?

सीताले संस्कार बिर्सेको दिन
समर्पणले सीमा भत्काएको बेला
सहनशीलताले बाँध फुटाएको समय
सीताले नि रामको मर्यादा नाप्न चाहेको बेला
के हामी रामहरू
सीतापरीक्षा दिन सकौंला ?

आमा, उज्यालोको सर्त, पाहुना हुन् उनीहरू, के राजा पनि रुन्छ ?, हारेको सूर्य र भोको पेट, रगत, आगो र संवेदना, जून र शासक, पढेर के हुन्छ ?, सत्य, कलम र बन्दुकजस्ता कविता संग्रहका शक्तिशाली कविता हुन् ।

देशमा फैलिएको लामो हिंसाका घाउ पनि उनका कवितामा दुख्छन् । देशमा भएका राजनीतिक परिवर्तन र बेथितिप्रति कविको तीव्र असन्तुष्टि छ तर संयमित छ आक्रोश । गुनासो पनि सुललित छ ।

प्रेम, नारी संवेदना, डायस्पोरा, शिक्षा, मानवीय स्वभाव, समसामयिक राजनीति र यसका बेथितिलगायतका विषय कवितामा अटाएका छन् । असाध्यै सरल भाषामा पनि कविताले जुन भाव सम्प्रेषण गरेका छन् त्यो हेर्दा कविताको शक्ति थाहा लाग्दछ ।

चैत्र ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्