प्रोफाइल- उपेन्द्रमान सिंह

जो नेपाली फुटबलको तस्बिर बदल्न लागिपरेका छन्

उपेन्द्रमान सिंह। तस्बिर: लोकेन्द्र प्रसाई

उनलाई परिवारका सदस्यले धेरैपटक भनेका छन्- अब फुटबल पुग्यो, छाडिदेऊ। बिजनेस गर।

तर, फुटबलमा करिब तीन दशक बिताउन लागेका उपेन्द्रमान सिंह फुटबलबाहिरको दुनियाँ कल्पना गर्न सक्दैनन्।

‘मेरो पढाइ राम्रै थियो। इन्जिनियरिङ पढिरहेको थिएँ। परिवारको आर्थिक स्थिति र व्यापार पनि राम्रै थियो। तर मैले फुटबल रोजेँ। यत्तिका वर्षपछि अब कसरी फुटबल छाड्न सक्छु र ’, मुसुक्क हाँस्दै ४५ वर्षे उपेन्द्रले आफ्नो जवानी देखाए।

भक्तपुर ठिमीका उपेन्द्रले करिब १४ वर्ष सिनियर राष्ट्रिय टोलीका लागि खेले। पाँच वर्ष टोलीको कप्तानी गरे। सिनियर टोलीमा डेब्यु गरेको दुई वर्षपछि आयोजित छैटौं साफ गेम्समा नेपालले एकमात्र स्वर्ण पदक जित्दा उनै गोलकिपर उपेन्द्र नायक बनेका थिए। भारतविरुद्धको फाइनल टाइब्रेकरसम्म पुग्दा उपेन्द्रले गरेको प्रदर्शन ती युवाको सुन्दर भविष्य परिभाषित गर्न पर्याप्त थियो।

६ वर्ष भारत, बंगलादेश र थाइल्यान्डका ब्यावसायिक क्लबबाट खेले। भारतीय क्लबलाई उनले पहिलो श्रेणीको घरेलु लिग च्याम्पियन नै बनाए।

पछि स्वदेश फर्किएपछि उनकै प्रदर्शनमा थ्रिस्टार घरेलु लिग विजेता बन्यो। थ्रिस्टार प्रेसिडेन्ट्स कपको सेमिफाइनलसम्म पुग्यो।

सन् २००५ मा उनले राष्ट्रिय टोलीबाट सन्यास लिए। तर उनी फुटबलबाट टाढा जान सकेनन्। ‘फुटबलको विकासका लागि आफ्नो क्षेत्रबाट केही न केही गर्नुपर्छ भन्ने थियो। तर त्यो कसरी’, ठूलो अलमल र चुनौती उनी सामुन्ने थियो।

मध्यपुरमा गएर मध्यपुर युथ एसोसिएन क्लब खोले, आफ्नै अध्यक्षतामा। स्थापना भएको करिब आधा दशकमै मध्यपुर ए डिभिजनमा पुग्यो। यस अर्थमा उनी नेपाली खेलकुदकै दुर्लभ खेलाडी हुन् जो खेलाडी जीवनपछि त्यही खेलमा लाग्यो– प्रशिक्षक बन्यो, व्यवसायिक क्लब स्थापना गरी ब्यवस्थापक भयो।

‘नेपालमा क्लबहरुले महिनाको दुई तीन हजार दिईरहेको समयमा म मासिक पाँच सय डलरमा विदेशी क्लबसँग अनुबन्ध भएको थिएँ’, उपेन्द्र भन्छन्, ‘तर मैले क्लब खोल्ने बेला नेपालमै खेलाडीले राम्रै पैसा कमाउन थालेका थिए। भक्तपुरमा ए डिभिजन क्लब पनि थिएन। हामीले सयौंबाट छनोट गरी एकेडेमी सुरु गर्‍यौँ। त्यसैको उत्पादनले हाम्रो क्लबले प्रगति गर्दै गयो, ठिमीलाई चिनायो। भक्तपुरका जनतालाई एक बनायो।’

यस सफलताको पछाडि उनी दुई वटा कारण देख्छन्– योजना र कार्यान्वयन। उपेन्द्रले क्लबलाई संस्थासरह ब्यवहार गरे र लिडर बन्ने प्रयाश गरे, उनकै शब्दमा ‘बोस’ होइन।

भन्छन्– संस्थामा लिडर हुनुपर्छ, बोस होइन। बोस त कम्पनीमा हुन्छ जसले आफ्नो स्वार्थ हेर्छ। लिडरले तर कार्यकर्तालाई एक बनाएर सामूहिक निर्णय र स्वार्थमा काम गर्छ। मध्यपुरमा पनि सबैले क्लबलाई आफ्नोजस्तो महसुस गरे। हामीले योजना मात्र बनाएनौं, त्यसको ससक्त कार्यान्वयन पनि गर्‍यौँ।

हाल बी डिभिजनमा रहेको उनको क्लबले नियमितरुपमा प्रशिक्षण र ग्रास रुट्स कार्यक्रमहरु सन्चालन गर्ने गरेको छ।

सन् १९९० को दशकमा नेपाली खेलाडीहरु औसत आफ्नो र देशको नामका लागि खेल्थे। खेलेरै बाँच्न सक्ने अवस्था नभए पनि खेलप्रति आकर्षण थियो। यस्तै अवस्थाबीच पनि नेपाली फुटबल दक्षिण एसियामा पावर हाउस मानिन्थ्योे।

नेपाली फुटबलरले दक्षिण एसियाका घरेलु लिगमा सम्मानजनक पारिश्रमिकसहित खेल्ने अवसर पाउँथे। ‘तर फुटबल जसरी परिवर्तन भयो त्यसको लयलाई हाम्रो ब्यवस्थापनले समात्न सकेन। फुटबलको प्राविधिक प्रगतिलाई नेपालमा लागू गर्ने प्रयास नै भएन’, उपेन्द्र भन्छन्।

उनी यसको प्रमुख कारण प्राविधिक कमिटी नहुनुलाई मान्छन्। उनका अनुसार फुटबल विकास प्राविधिक कमिटीले गर्ने र त्यसैले फुटबलका प्राविधिक चेन्जलाई हेर्ने गर्छ।

भन्छन्– राम्रो प्रशिक्षकले मात्र राम्रो खेलाडी तयार गर्न सक्छ। राम्रो खेलाडीले नै फुटबललाई अगाडि बढाउने हो। राजुकाजी शाक्य र बालगोपाल महर्जनले नेपाली टोलीलाई दिलाएका सफलताको कारण यही हो।

नेपालमा घरेलु लिग नभएको वर्षौ भईसक्यो। खेलाडीहरु दिनदिनै पलायन भइरहेका छन्। एन्फाको प्रशासनिक विवादको असर सयौं खेलाडीको जीवनमा परिरहेको छ। क्लबहरु खेलाडीको अभावमा टिमै ने तयार नहुने हो कि भन्ने चिन्तामा छन्।

एन्फा नेतृत्वका लागि भने ठुलो लुछाचुँडी छ। ‘फुटबल बिग्रियो भने त्यसको सबैभन्दा ठूलो असर खेलाडीलाई हुन्छ। आफ्नो उमेर नै फुटबलका लागि खर्चिएका खेलाडीहरु कहाँ जाने? हामीले के गर्ने? अब हामीले नगरे कसले गर्छ,’ उपेन्द्र भन्छन्।

एन्फा चेन्ज अभियान र उपेन्द्रको दौड

गणेश थापाको बहिगर्मनपछि एन्फा नेतृत्वको चुनाव आगामी चैत १४ गते हुँदै छ। चुनावमा दुईवटा प्यानल देखिएका छन् भ्रष्टाचारको आरोपमा प्रतिबन्धमा परेका गणेश थापा समर्थित र एन्फामा विद्रोही मानिने कर्मा छिरिङ शेर्पा समर्थित।

शेर्पा समूह थापा समर्थित अध्यक्षका उमेद्वारले जित्नु पुन गणेश थापा एन्फामा हावी हुने भन्दै आफ्नो पक्षमा जनमत देखाउने प्रयासमा छ। यतिबेला शेर्पा समूहकै पक्षबाट चुनावी अभियानमा छन् उपेन्द्र पनि। उपेन्द्र उपाध्यक्षमा उठ्दैछन्। उनीहरुले ‘चेन्ज एन्फा’ अभियान नै चलाएका छन्।

उपेन्द्रमान सिंह।

‘यो एक किसिमको सोचमा परिवर्तन गर्न चलाईएको अभियान हो। एन्फा सामूहिक नेतृत्वमा चल्नुपर्छ वन म्यान सो हुनुहुँदैन भन्ने सोच हो। कार्यक्रम र शक्ति विकेन्द्रीकरण गरी क्लब र जिल्लालाई बलियो बनाउनुपर्छ अनि मात्र खेलाडी उत्पादन र फुटबल विकास हुन्छ भन्ने सोच होे। गणेश थापाले एन्फाले संस्था हैन कम्पनी सरह चलाउनु भयो। लिडर हैन बोस जस्तो बन्नु भयो’, उपेन्द्रको आरोप छ।

उपेन्द्र कम्तीमा नेपाली खेलाडीको समस्या बुझेका खेलाडी हुन्। लामो समयसम्म खेल्दा खेलाडीले भोगेका समस्याहरु उनले देखेका छन्, थोरबहुत भोगेका छन्। कति राम्रा खेलाडीहरुले भविष्य सम्झिएर खेल्न छाडेको पनि उनको अनुभव छ।

‘अरु देशमा खेलाडीले सन्यासपछि आरामदायी जीवन बिताउँछन् तर हाम्रोमा भने अब भविष्य नै सकियो भनेर चिन्ता मान्नुपर्ने अवस्था छ। जसको चाँडै अन्त्य हुनुपर्छ। यसका लागि हामीले व्यवासायिक प्रतियोगिताको आयोजना गर्ने र सरकारले खेलाडीको भविष्य सुरक्षित हुने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ताकि एउटा राम्रो खेलाडीले आफ्नो पूरा समय र ध्यान खेलमै दियोस्,’ उनी भन्छन्। त्यसबाहेक फुटबलको संरचनात्मक र प्राविधिक विकास उनका प्राथमिकता हुन्।

आफूले खेलाडी, प्रशिक्षक र क्लबको अध्यक्ष हुँदा गरेका कामको सही विश्लेषण गरी दिएमा एन्फामा आफ्नो विजय पक्का रहेको उनको दाबी छ। तर चुनावी परिणामलाई उनी यकिन गर्न सक्दैनन्।

‘मैले सजिलै जितिन्छ भन्ने आश गरेको थिएँ। वर्षौ फुटबलमा बिताएकाले सबैले जिताउँछ भन्ने आश थियो। तर जम्मा आठ भोट प्राप्त भयो’, गत वर्ष एन्फाको उपाध्यक्षमै हारेपछि उनको अनुभव,  ‘योगदान दिनु र चुनाव जित्नु फरक कुरा रहेछन्। भावनाले चुनाव नजितिने रहेछ।’ त्यसो त त्यतिबेला उनी स्वतन्त्र उमेद्वार थिए। यसपटक प्यानलबाट उठेका छन्। कोही लोभलालचमा नपरे आफू सजिलै विजयी हुने दाबी उनको छ। भन्छन्, ‘त्यो हार मेरो खेल जीवनकै सबैभन्दा नमिठो अनुभव थियो। मेरो योगदानको अवमूल्यन थियो। कामना गर्छु–यसपटक मेरो योगदान र क्षमताको मतदाताले सही मुल्यांकन गर्नु हुने छ।’

यी एक समयका स्टार फुटबलरको जित हारले एन्फामा विषेष अर्थ राख्ने छ। हुन पनि उपेन्द्रको स्तरका खेलाडीहरु खेलाडी जीवनपछि त्यही खेलमा यसरी लागेको कमै देखिन्छ।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्