खोला, गल्छेँडा र भिरको बाटो हुँदै तीन घन्टामा विद्यालय

फाइल तस्बिर।

बागलुङ- बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ।

खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा विद्यालय पुग्छन्। शारीरिक र मानसिक थकान बोकेर विद्यालय छिर्ने छन्त्याल घर फर्कदा साँझ छिप्पिसकेको हुन्छ। कक्षाकोठाको भन्दा दोब्बर समय उनको विद्यालय जाँदाआउँदा खर्च हुन्छ।

सदरमुकामदेखि ३६ कोश टाढा तमानखोला गाउँपालिका–६ भित्रीवनका १६ वर्षीय छन्त्यालको दैैनिकी दुई वर्षदेखि यसरी नै चलेको छ।

गाउँमै मावि तहको विद्यालय नभएपछि उनी तीन घण्टाको दूरीमा रहेको शान्ति मावि, खुङ्खानी जान बाध्य छन्। उनीमात्र होइन भित्रीवन, नर्जाखानी र पात्ले गाउँका विद्यार्थी कक्षा ९ र १० पढ्न खुङ्खानी पुग्नुपर्छ। जिल्लाकै अतिविकट मानिने ६ नं वडाका तीनै गाउँमा विद्यालय नै नभएको भने होइन।

नर्जाखानीमा विष्णु आधारभूत विद्यालय, भित्रीवनमा दिल्ली प्रावि र पात्लेमा मालिका प्रावि छ। अर्को विडम्बना, दिल्ली र मालिका प्राविका विद्यार्थी आधारभूत तह पढ्न डेढ घण्टा हिँडेर विष्णु आधारभूत विद्यालय आउनुपर्ने बाध्यता छ। दिल्ली प्राविमा कक्षा ५ सम्म र मालिका प्राविमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ। तिनै विद्यार्थीले जब आधारभूत तह पार गर्छन् अनि शुरु हुन्छ उनीहरुको कष्टसाध्य दैनिकी। वर्षेनी ती विकट गाउँबाट १२/१५ जना विद्यार्थी मावि पढ्न खुङ्खानीको शान्ति मावि पुग्छन्।

तर, पाँच/सात जनाले विद्यालय टाढा भएकै कारण बीचैमा पढाइ छोड्छन्। पात्ले गाउँका जगत सिरपालीको विद्यालय हाजिरी ७५ प्रतिशत पनि नपुगेपछि यो वर्षको ‘एसईई’ परीक्षा दिनबाट वञ्चित भएका छन्।

शुरुमा उनी पनि पात्लेबाट तीन घण्टा हिँडेर वडा नं ५ खुङ्खानीको शान्ति मावि आउने गर्थे। शान्ति माविका प्रअ सत्यनारायण सिंहका अनुसार वडा नं ६ बाट वर्षेनी भर्ना भएकामध्ये १० प्रतिशत विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेका छन्। विद्यालय छोड्नुमा भौगोलिक विकटता प्रमुख कारण रहेको उनको भनाइ छ।

‘विकट भूगोल छ, विद्यालय पुग्न घण्टौँ लाग्छ,’ उनले भने, ‘गरिबी र अशिक्षाका कारण पनि विद्यालय छोड्छन्।’

वडा नं ६ नर्जाखानीका महेन्द्र विक पनि दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छन्। शान्ति माविमा कक्षा ९ मा अध्ययनरत विकको अहिले परीक्षा चलिरहेको छ। विद्यालय आउजाउमै घण्टौँ लागेपछि परीक्षाको तयारी राम्रोसँग गर्न नपाएको विकले दुःखेसो गरे।

गाउँपालिकाले भने छात्राबास बनाएर भए पनि टाढाका विद्यार्थीलाई नियमित विद्यालय ल्याउने योजना बनाएको छ। ‘खुङ्खानीमा आवासीय सुविधासहित छात्राबास बनाउने योजना छ,’ गाउँपालिका अध्यक्ष जोकलाल बूढाले भने।

नर्जाखानीमा तत्काल मावि तह सञ्चालनको सम्भावना नरहेको उनको भनाइ छ।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्