२५ ‌‌ओभरमा नेदरल्यान्ड्सको ७४ रन, नेपाली बलर हावी

काठमाडौं- आईसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि   नेपालसँग भिडिरहेको नेदरल्यान्ड्सले २५  ओभरमा ४  विकेट गुमाएर  ७४ रन जोडेको छ। सोमपाल कामीले  तीन र सन्दीप लामिछानेले एक विकेट लिए।

सन्दीपले चौथो विकेटका रुपमा म्याट ओडुडलाई २८ रनमा आउट गरे। सन्दीपको यो दोस्रो ओभर थियो। उनले जारी प्रतियोगिताका हरेक खेलमा विकेट लिएका छन्। अघिल्लाे खेलमा चार विकेट लिएका सन्दीपले जारी प्रतियोगितामा लिएका विकेटको संख्या १२ पुगेको छ। उनले लिस्ट ए क्रिकेटमा २१ खेल खेल्दै ४१ विकेट लिएका छन्।

टस जितेर पहिला ब्याटिङ  गर्ने निर्णय गरेको नेदरल्यान्ड्सको सुरुवात राम्राे सरहन सकेन। उसले पहिलो ओभरमा रन नजोडी एक विकेट गुमायो। सोमपाल कामीले दोस्रो बलमा वेस्ली वारेस्सीलाई आउट गरे। सोमपालले तेस्रो ओभरमा पनि विकेट लिए। उनले बेन कुपरलाई आउट गरे । दुवै ब्याट्सम्यान शुन्यमा आउट भए।

दुवै विकेटमा आरिफ शेखले क्याच आउट गराएका थिए। नेदरल्यान्ड्सले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो। सोमपालले पिटर बोरेनलाई सात रनमा आउट गरे।   सोमपालले ७ ओभरमा दुई मेडन राख्दै केवल १३ रन दिएका छन्। सन्दीप लामिछानेले ५ ओभरमा १६ रन खर्चिएर एक विकेट लिएका  छन्।

सोमपाल कामी लिस्ट ए क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। उनले ३७ खेलमा यो सफलता हात पारेका हुन्। एसोसिएट टोलीको हकमा डिभिजन दुई, वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप र विश्वकप छनोटका खेलले लिस्ट एको मान्यता पाउने गरेका छन्।

नेदरल्यान्ड्सका रोलेफ भान डर मार्वे १९ र बास डे लिडे १३ रनमा खेल्दैछन्।

यस खेलमा बसन्त रेग्मीको स्थानमा शक्ति गौचनलाई उतारिएको छ। गौचनले गत वर्ल्ड क्रिकेट लिग डिभिजन दुई यता लगातार बेन्चमा बिताउनु परेको थियो। नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पक्का गरिसकेको छ।

सातौं स्थानका लागि भएको प्ले अफमा पपुआन्युगिनीलाई हराएर नेपालले उक्त सफलता हात पारेको थियो। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको हो।

समूहगत चरणका सुरुका तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा हङकङलाई हराएर एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउने सम्भावना कायम राखेको थियो।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्