नागरिकता बनाइदिने बहानामा कर्मचारीसहितले करणी प्रयास

सांकेतिक तस्बिर।

नेपालगञ्ज – विवाहित एक सुनार थरकी महिला नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय, बाँकेमा केही दिनदेखि धाइरहिन्।

उनले आफूले पहिला नागरिकता बनाइसकेको बताएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले ‘रेकर्ड’ खोज्ने धेरै प्रयास गरे। फेला परेन। न त उनले यतिसालमा यहाँबाट लगेको भन्ने केही आधार नै दिन सकिन्।

महिला सधैंजसो आउने गर्न थालिन्। कर्मचारीहरु पनि न उनले केही आधार दिन सक्छिन् न त रेकर्डमा भेटिन्छ, उनलाई वास्ता गर्न छोडे। यही बीचमा जिल्ला प्रशासन कार्यालयमै काम गर्ने एकजना कार्यालय सहयोगीले ती महिलाप्रति ‘स्नेह’ देखाए।

‘म त केही गर्न सक्दिन, मेरो एउटा साथी छ। उसको धेरै पहुँच छ। उसले तपाईको काम गरिदिन्छ’, भनेर प्रशासन कार्यालयका सहयोगीले महिलासँग मोबाइल नम्बर लिए। झण्डै महिना दिनदेखि नागरिकताका लागि प्रशासन धाइरहेकी महिलालाई ‘नागरिकता बनाइदिने मान्छे’ पाउनु ठूला सफलता पाएझै भयो। उनले नम्बर दिइन्।

प्रशासनका कर्मचारी (हाल गाउँपालिकामा सरुवा भएका) ले अर्का व्यक्तिलाई महिलाको नम्बर दिए। उनले महिलालाई फोन गरेर नागरिकता बनाइदिने आश्वासन दिन थाले। भेटघाट गर्ने कुरा भयो। शुरुमा पचास हजार रुपैयाँ लाग्ने बताए। पछि पैसा भन्दा पनि ‘हामीसँग केही दिन सुत्नुपर्ने’ माग राखियो। साथीको पनि साथी गरी तीन जनाका लागि यस्तो माग गरियो।

फूल्टेक्रामा भेट्न बोलाइयो। नागरिकताको आशामा रहेकी महिला पुगिन्। तीन जनाले जबरजस्तीको प्रयास गरे । महिला भागेर जिल्ला प्रशासन कार्यालयमा आइपुगिन्। प्रमुख जिल्ला अधिकारीसमक्ष कुरा पुग्यो। प्रमुख जिल्ला अधिकारी रमेश केसीले घटना विवरण सुनेपछि आरोपीलाई थुन्न र वास्तविकता अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए।

महिलाले शनिबार तीन जनाको नाममा जबरजस्ती करणी उद्योगमा उजुरी दिइन्। दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ। एकजनालाई महिलाले चिन्दिनन्। उनीहरुकै चिनजानका हुन्।

प्रहरीले प्रशासनका कर्मचारी र उनका साथीलाई थुनामा राखेर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरु गनापुर र फूल्टेक्राका हुन्। भारतीयसँग विवाह गरेकी महिलाको श्रीमानबाट नागरिकता नबन्ने भएपछि माइतीतिरबाट नागरिकता बनाउन चाहेको कर्मचारीहरु बताउँछन्।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्