गगनले भने, अब तरुण जाग्नुपर्छ

विराटनगर- आउँदो पाँच वर्षसम्म सरकारबाहिर रहेर कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेस नेता गगन थापाले बताएका छन्।

मोरङ झोराहाटमा शनिबार आयोजित नेपाली कांग्रेसको पुनर्जागरणमा तरुणहरुको भूमिका विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले पाँच वर्षपछिको भविष्य हेरेर जनताका लागि नेताहरुले काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, पाँच वर्ष सरकार बाहिर छौँ, तर त्यसपछि कांग्रेसलाई जिताउने हो भने सबैले आ आफ्नो स्थानबाट काम गर्नुपर्नेछ। अहिले नै हतास हुने आवश्यकता कांग्रेसीलाई छैन।

तरुण दलको कार्यक्रमका लागि दिउँसो विराटनगर हुँदै झोराहाट पुगेका थापाले निर्वाचनमा कांग्रेसको आन्तरिक कमीकमजोरीका कारण पछि परेको बताए। यसैलाई नयाँ अध्यायको रुपमा लिएर अघि बढ्नुपर्नेमा थापाले जोड दिए।

उनले भने, मुलुकलाई सम्बृद्ध बनाउने जिम्मेवारी कांग्रेसको पनि हो, त्यसैले संघीयता कार्यान्वयन, राजनीतिक स्थायित्वका लागि आफ्नो पार्टी संसदमा कडा रुपमा प्रस्तुत हुनेछ।

निर्वाचनका क्रममा तरुण दलको भूमिका कमजोर देखिएको भन्ने आलोचनालाई चिर्दै नेता थापाले भने, तरुणले अब सशक्त भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ। पार्टीलाई समेत सही मार्ग पहिल्याउन तरुणहरु अझ सक्रिय हुनुपर्ने थापाको भनाइ छ।

कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे समग्र पार्टीलाई बेथितिले धरापमा पार्दै लगेको उल्लेख गरे।

उनले भने, अदृष्यरुपमा रहेको गुटउपगुटलाई चिर्न सबै एक हुनुपर्ने आवश्यक्ता छ।

कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्याल, पूर्व सांसद अशोक कोइराला, दिलीप गच्छदार, तरुण दलका जिल्ला सभापति सञ्जयसिंह थापा लगायत सहभागि थिए।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्