मन्त्री घिमिरेले भने, खोप लगाउन अझै धेरै छुटेका छन्

मन्त्री जीवन घिमिरे।

विराटनगर- प्रदेश नम्बर एकमा सामाजिक मन्त्रीको जिम्मेवारी वहन गरेसँगै विभिन्न कार्यमा संलग्नता बढाउदै आएका मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा सबैको ध्यान गम्भीरतापूर्वक जानुपर्नेमा जोड दिएका छन्।

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा मन्त्री घिमिरेले प्रभावकारी रुपमा तोकिएका समयभित्र खोपको मात्रा पुरा गर्न सबैको ध्यान जान आवश्यक रहेको बताएका हुन्।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय विराटनगरद्धारा आयोजित कार्यक्रममा मन्त्री घिमिरेले प्रदेश नम्बर एकमा ९० प्रतिशत भन्दा कम बालबालिकाले खोपको मात्रा पुरा गरेको तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए।

उनले भने, यसबीच आउँदो असार मसान्तभित्र स्वास्थ्य ऐन नियम बनाउने काम भएकाले सो समयसम्म केही असहज वातावरण हुनसक्ने छ।

नागरिकको स्वास्थ्यप्रति सचेत मन्त्री घिमिरेले मन्त्रीपदको जिम्मेवारी लिएलगत्तै प्रदेश नम्बर एकको अस्थायी राजधानी विराटनगर तथा पूर्वी शहर झापाको सार्वजनिक शौचालयको अनुगमन गरेको थिए। उनले फोहर र अव्यवस्थित शौचालयलाई तत्काल सफासुग्घर राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

त्यसैगरी कार्यक्रममा बाल स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले खोप कार्यक्रमले लक्ष्यअनुरुप प्रगति गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे।

उनले भने, वार्षिक ३ करोड३० रुपैया खर्च गरिए पनि सो अनुरुप प्रगति हुनसकेको छैन।

कार्यक्रममा प्रदेश नम्बर एकको १४ जिल्ला प्रदेश नम्बर २ को सिरहा र सप्तरीमा अझै पनि १० प्रतिशत बालबालिका खोप लगाउनबाट बन्चित रहेको उनको भनाइ छ।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्