भन्सार अवैज्ञानिक भन्दै व्यवसायी आक्रोशित; चिनी र मरिचका कन्टेनर सीमामै रोकिए

विराटनगर- अर्थमन्त्री युवराज खतिवडाले राजस्व बृद्धि गराउन र खरिद मुल्य घटाएर भन्सार तिर्ने  व्यवसायीलाई निरुत्साहित गर्न भन्सार प्रमुखलाई रिफरेन्स मूल्यसूचीका आधारमा कर सङ्कलन गर्न अनौपचारिक निर्देशन दिए पछि उद्योगी व्यवसायीहरुको असन्तुष्टि चुलिएको छ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयलाई रिफरेन्स मूल्यसूचीका आधारमा बस्तु आयातनिर्यात कर लगाउन निर्देशन दिँदा व्यसायीहरु विरोध गरेका छन्।

उद्योगी व्यवसायीहरु सरकारले  रिफरेन्स मूल्यसूचीका आधारमा कर उठाउन खोजेको प्रक्रिया वैज्ञानिक नभएको दाबी गरेका छन्। उद्योग संगठन मोरंगका कार्यसमिति सदस्य सुबोध कोइराला अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई रिफरेन्स मूल्यसुचीको आधारमा कर लगाउन निर्देशन दिनु दुरगामी सोच नभएको  बताउँछन्।

‘रिफरेन्स मूल्यसूचीका आधारमा कर उठाउने हो भने  उद्योग र व्यवसाय धरापमा पर्छ। मुल्यमा समेत एकरुपता हुँदैन,’ कोइरालाले भने।

भन्सारमा मूल्यसूची राख्ने कार्य वैज्ञानिक नभएको बताउने उद्योग संगठनका कार्यसमिति सदस्य कोइराला भन्छन्, ‘प्रतिस्पर्धात्मक बजारमा आउने समानको मूल्य खरिद गरिएको मूल्यबाट भन्सारसम्म आइपुग्दासमेत तलमाथि हुन्छ। त्यसैको प्रत्यक्ष असर उद्योगलाई पर्छ।’

हाल उद्योगीहरुले अति आवश्यक बाहेकका मालसमान भारतीय क्षेत्र तथा सीमा नाकामा लामबद्ध बनाइराखेका छन्। उनीहरुले अर्थमन्त्रालयले रिफरेन्स मूल्यसूचीको अवधारणा नहटाउञ्जेल आफूहरु समान आयात गर्ने अवस्थामा नरहेको बताएका छन्।

यस्तै मोरंग ब्यापार संघका अध्यक्ष पवन सारडा भने राजस्व बृद्धि गर्ने नाममा सरकारले आतंक फैलाइएको दाबी गर्छन। सरकारको कदमको उद्योगीहरुले विरोध गरेको उनले बताए। उनी भन्छन्, हामी राजस्वको दायरा बढाउन सहमत छौँ तर, रिफरेन्स मूल्यसूची राखेर काम गर्दा आफूहरु उद्योग चलाउन नसक्ने अवस्थामा पुगेका छौँ।’

रिफरेन्स मूल्यसुचीलाई गलत परिपाटी भएको उल्लेख गर्दै अध्यक्ष सारडाले भने, ‘मरिच आयातकर्ताहरुको सात वटा निवेदन संघमा परेको छ जसको जानकारी समेत भन्सार कार्यालयलाई गराइसकेका छौँ।’

मरिच र चिनीको विषयमा भन्सार कार्यालयले केहि दिन देखि सामान निकासी नभएको जनाएको छ। चालु आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयले मरिचबाट १२ करोड ५१ लाख ७३ हजार रुपैया भन्सार संकलन भएको जानकारी दिएको छ। यद्यपि पछिल्लो १५ दिनयता रिफरेन्स मूल्यसुचीका कारण मरिच गोदाममा अलपत्र अवस्थामा रहेको ब्यापार संघको भनाइ छ।

यस्तै विभिन्न ६ मुलुकबाट भित्रिने गरेको चिनी पनि रिफरेन्स मुल्यसूचीका कारण गोदाममै थन्किएको छ। हाल विराटनगरमा युएइ, ब्राजिल, इजिप्ट, भारत, पाकिस्तान, तथा थाइल्याण्डबाट चिनी आयात हुन्छ।

गत साउनदेखि फागुनसम्म २ करोड ९१ लाख ४१ हजार मेट्रिक टन चिनी आयात भएको छ। यसबाट १ अर्ब ४० करोड ९४ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार रिफरेन्स मूल्यसुचीका कारण व्यवसायी तथा भन्सार एजेन्टहरुलाई समस्या परेको मनिष घिमिरे बताउँछन्। चीनबाट आएको मालसमान छुटाउन काठमाडैंबाट विराटनगर आएका मनिष तीन चारदिन देखि भन्सार कार्यालय धाइरहेका छन्। उनी भन्छन्, ‘विगत भन्दा यसपटक निकै गाह्रो भयो। आधा काम भएपनि अझै आधा काम बाकी नै छ। अझै कति दिन लाग्ने हो।’

राजस्व बृद्धि

यता भन्सार कार्यालयका प्रवक्ता सुशील थापा भन्सार कार्यालयले नियमानुसार काम गरिरहेको दाबी गर्छन। उनले भने, हामीले नियमानुसार काम गर्दै लक्ष्य बमोजिमको राजस्व सङ्कलन गरिरहेका छौं।

प्रवक्ता थापाले फागुन महिना पनि लक्ष्य बमोजिम शतप्रतिशत राजस्व संकलन भएको बताए।

फागुनमा कार्यालयले राखेको लक्ष्य २ अर्ब ८१ करोड २० लाख ४० हजार रुपैया मध्ये १ सय दशमलव ३९ प्रतिशत अर्थात २ अर्ब ८२ करोड २९ लाख ९९ हजार रुपैया संकलन भएको छ।

त्यसैगरी चैत एक गते ९ करोड ३९ लाख ६७ हजार रुपैयाँ राजस्व रकम संकलन भएको छ।

भन्सार कार्यालयका प्रवक्ता थापा भन्सार गोदाममा रहेका कन्टेनर तथा सडकमा रहेका मालवाहक ट्रकले खरिद मुल्य लगायतका कागजातहरु भन्सार कार्यालयमा ल्याए मात्र भन्सार किल्यरेन्स प्रकिया अगाडि बढ्ने बताउँछन्।

भन्सार कार्यालयले पछिल्लो सात महिनामध्ये साउन र भदौमा मात्र लक्ष्यभन्दा कम राजस्व संकलन भएको जनाएको छ।

त्यसपछिका पाँच महिनामा भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी छ।

गत साउन महिनामा २ अर्ब १८ करोड ७१ लाख ४१ हजार लक्ष्य रहेकामा १ अर्ब ७० करोड ६९ लाख ६९ हजार राजस्व संकलन भएको छ।

त्यसैगरी भदौ महिनामा २४ दशमलव ८७ प्रतिशत कम राजस्व संकलन भएको छ।

यद्धपि, त्यसपछिका पाँच महिनामा असोजमा २ अर्ब १८ करोड ७१ लाख ४१ हजार रुपैयाँ लक्ष्यमध्ये २ अर्ब ५२ करोड ६६ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। यो निर्धारित लक्ष्य भन्दा १५ दशमलव ५१ प्रतिशत बढी हो।

त्यसयता फागुन महिनासम्म भन्सार कार्यालयले राखेको लक्ष्यभन्दा राजस्व बढी संकलन भएको छ।

विराटनगर नाकाबाट भारत, थाइल्याण्ड, मलेशिया, बंगालदेश, चीन लगायत १५ वटा राष्ट्रबाट मालसमान आयात हुन्छ।

के हो रिफरेन्स मुल्य?

भन्सार कार्यालयले बजार मुल्यका आधारमा प्रत्येक वर्ष भन्सार अधिकृतको सजिलोको लागि रिफरेन्स मुल्य सुची तयार गर्ने गर्दछ। भन्सार मूल्यांकनका क्रममा कुनै व्यवसायीले कम मुल्यमा सामान ल्याएको शंका भएमा भन्सार अधिकृतले रिफरेन्स मुल्य सुचीको सहयोग लिने गर्दछन्।

रिफरेन्स मुल्य सुचीको कानुनी मान्यता हुँदैन, यो मुल्य सुची भन्सार अधिकृतको सजिलोको लागी मात्र तयार पारिएको हो। अर्थमन्त्री खतिवडाले रिफरेन्स मुल्य सुचीका आधारमा कर उठाउन भनेका हुन्।

भन्सार विभागका अधिकारी कुनै पनि सामनको खरिद मुल्य रिफरेन्स मुल्य भन्दा कम भयो र आयातकर्ताले कम मुल्य भएको यथेष्ट प्रमाण दिन सक्यो भने खरिद मुल्य मै भन्सार लाग्ने बताउँछन्। रिफरेन्स मुल्यले खरिद मुल्य घटाएर भन्सार पास गर्न खोज्नेलाई भने छुट नदिने उनले बताए।

चैत ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्