१० वर्षमा पहिलो उपाधिको खोजी, टोटनह्याम पुग्यो सेमिफाइनलमा

टोटनह्याम लगातार दोस्रो सिजन एफए कप फुटबलको सेमफाइनलमा प्रवेश गरेको छ ।

छैटौँ चरण अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब स्वान्सी सिटीलाई ३–० ले हराउँदै माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले अन्तिम ४मा स्थान पक्का गरेको हो ।

टोटनह्यामको जितमा क्रिष्टियन एरिक्सनले दुई तथा एरिक लामेलाले गोल गरे । एरिक्सनले ११ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा लामेलाले गोल गरेपछि टिमको अग्रता दोब्बर भयो । पहिलो हाफमा २–० को अग्रता लिएको टोटनह्यामका लागि एरिक्सनले ६२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर ३–० को जित दिलाए ।

एफए कपमा लगातार नवौँ जित दर्ता गरेको टोटनह्याम उपाधि जित्ने आशको यात्रा कायम राखेको छ । टोटनह्यामले पछिल्लो १० वर्षमा पहिलो उपाधिको खोजी गरिरहेको छ । उसले सन् २००८ मा लिग कपको उपाधि जिते यता कुनै पनि उपाधि जितेको छैन ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्