मोहमद सालह चम्किए, गरे पहिलो ह्याट्रिक, लिभरपुलको शानदार जित

मोहमद सालहले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो ह्याट्रिक गरेका छन् भने लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५–० ले हरायो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई शानदार जित दिलाउने क्रममा सालहले प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक मात्रै गरेनन् चार गोल गरे । एक गोल रोबर्टो फिरमिनोले गरेका हुन् ।

सालहले चौथो मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ४३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २–० को अग्रता दिलाए । फिरमिनोले ४९ औँ मिनेटमा गोल गरेपछि अग्रता ३–० मा पुग्यो ।

त्यसपछि फेरि सालहको पालो आयो । उनले ७७ औँ मिनेटमा गोल गर्दै प्रिमियर लिगमा पहिलो ह्याट्रिक पूरा गरे । उनी त्यतिमै रोकिएनन् । ८५ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेपछि लिभरपुल ५–० ले विजयी भयो ।

सालहले प्रिमियर लिगमा यो सिजन अहिलेसम्म २५ गोल गरिसकेका छन् । जितपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको ३१ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६५ तथा चौथो स्थानमा झरेको टोटनह्यामको ६१ अंक रहेको छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा एभर्टनले स्टोक सिटी तथा बोर्नमाउथले वेष्ट ब्रोमलाई समान २–१ त्था क्रिष्टल प्यालेसले हडर्ल्डफिल्डलाई २–० ले हरायो ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्