प्रदेश नं. ४ का उपसचिव पोख्रेलको हृदयघातका कारण मृत्यु

पोखरा – शनिबार बेगनास तालमा डुंगा सयर गरेर बाहिर आएका प्रदेश नं. ४ प्रदेशसभा सचिवालयका उपसचिव परशुराम पोख्रेलको हृदयघातबाट मृत्यु भएको छ ।

शनिबार दिउँसो १ बजे तिर काठमाडौबाट आएको सभामुखको गाडि बुझ्न गएका उपसचिवसहित ४ जना प्रदेशसभाका कर्मचारी बेगनास तालमा डुंगा चढ्न पुगेका थिए ।

झण्डै ४५ मिनेट डुंगा सयरपछि गाडीसम्म पुगेका पोख्रेल एक्कासी रिङ्गटा लागेर पल्टिएको उनीसँगै रहेका प्रदेशसभाका कम्प्युटर अधिकृत लेखनाथ भण्डारीले जानकारी दिए ।

‘एक्कासी रिङ्गटा लाग्यो भनेर ढल्नु भयो, चिट चिट पसिना आएको थियो जीउ तनन्क तन्काउनु भयो, हामीले लेखनाथ सामुदायिक लायन्स हस्पिटलमा लग्यौँ’ उनले भने । डाक्टरले झण्डै ४५ मिनेटपछि पोख्रेलको निधन भएको जानकारी दिएको भण्डारीले बताए ।

पोख्रेलको शव अहिले पश्चिमाञ्चल क्षत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । पोष्टमार्टम पछि आफन्तलाई शब बुझाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानाकारी दिए ।

पोख्रेल माघदेखि प्रदेशको सचिवालयमा कार्यरत थिए । ५६ वर्षका पोख्रेल लमजुङका स्थायी बासिन्दा हुन् । प्रदेशसभामा उनले कर्मचारी व्यवस्थापनको काम गर्दै आएका थिए ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्