बर्खास्त एफबिआई अधिकारीले सार्वजनिक गरे जानकारी, अप्ठ्यारो पर्ला ट्रम्पलाई ?

एन्ड्रयू म्याककाबे । तस्बिर : गेट्टी इमेज

बर्खास्त भएका अमेरिकी संघीय जाँच आयोग (एफबिआई) का पूर्व उप–निर्देशक तथा एफबिआईका अधिकारी एण्ड्रियु म्याककाबेले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसी दखलका बारेमा भएको अनुसन्धानबारे विशेष जानकारी सर्वाजनिक गरेका छन् ।

उनले अनुसन्धानको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ताको अंश सार्वजनिक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सार्वजनिक भएको जानकारीले राष्ट्रपति ट्रम्पले अनुसन्धान प्रक्रिया रोक्न माग गरेको र न्याय प्रक्रियामा अवरोध गरेको कुरा पुष्टि हुन सक्ने देखिएको दाबी छ ।

ट्रम्पमाथि राष्ट्रपति चुनावमा रुसी दखलबारेको अनुसन्धानलाई प्रभावित पार्न खोजेको आरोप लाग्ने गरेको छ ।

बर्खास्त भएका एफबिआईका अधिकारी म्याककाबेले रुसी दखलसम्बन्धी अनुसन्धानको क्रममा आफूले ट्रम्पसँग गरेको वार्ताको रेकर्ड सार्वजनिक गरेको र त्यसमा ट्रम्पले अनुसन्धान प्रक्रिया रोक्न भनेको उल्लेख गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यो कुराकानी भएका बेला एफबिआईका निर्देशक जेम्स कोमी थिए । यसले कोमीलाई गएको मे मा किन बर्खास्त गरिएको थियो भन्ने कुरा पनि स्पष्ट हुने दाबी छ ।

अमेरिकाका महान्यायाधीवक्ता जेफ सेसन्सले एफबिआईका अधिकारी एण्ड्रियु म्याककाबेलाई स्थानीय समय अनुसार शुक्रबार बर्खास्त गरेका थिए ।

आरोप
एन्ड्रयू म्याककाबे । तस्बिर : रोयटर्स

राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक रुपमा पक्षपाति भएको आरोप लागाएका म्याककाबेलाई सेसन्सले बर्खास्त गरेका हुन् । म्याककाबेले गएको जनवरीमा एफबिआइएको उप निर्देशक पदबाट राजीनामा दिएर बिदामा बसेका थिए ।

म्याककाबे सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसी दखल तथा हिलारी क्लिन्टनको इमेल सम्बन्धी अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् । पेन्सनको अधिकारसहित आफ्नो कामबाट अवकास हुन दुई दिन बाँकी हुँदा सेसन्सले उनलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त भएका म्याककाबेले महत्वपूर्ण भूमिका खेलेको अमेरिकी चुनावमा रुसी दखल सम्बन्धी अनुसन्धानलाई ट्रम्पले ‘विच हन्ट’ भन्दै आएका थिए ।

पछि यसमा विशेष काउन्सिल रोबर्ट म्युलरको नेतृत्वमा अनुसन्धान भयो । त्यसमा १९ व्यक्तिलाई संलग्न भएको संकेत गरियो तर ट्रम्पको अभियानसहित अमेरिकी नागरिक भने कोही पनि परेका थिएनन् ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्