दाङ – लमही नगरपालिका वडा नं. ७ निवासी नारायण चौधरीलाई दमको समस्या छ । तर उपचारका लागि अस्पताल भने गएका छैनन् । गाउँमै स्वास्थ्य शिविर चलेपछि भने उपचारका लागि उनलाई सजिलो भयो ।

‘दम बढेर सास फेर्न पनि समस्या पर्छ, हात खुट्टा करकरी खान्छ’ गाउँमै आएका डाक्टर समक्ष आफ्ना समस्या सुनाउँदै भने ‘निको हुन चाहन्छु ।’

मानबहादुर चौधरीको शरीरमा फोका उठेको छ । पिठ्युँमा घाउ पनि छ । उपचारका लागि अनेत्र पुगे पनि निको भने भएन । उनी पनि गाउँमा विशेषज्ञ चिकित्सक आएको खबर पाएपछि पुगे ।

‘हत्केलामा घाउ जस्तै वनेको छ, पछाडि पिठ्युँमा पनि घाउ छ, शरीर चिलाउँछ । उपचारका लागि काठमाडौंसम्म पुगेँ तर निको भएन्’ उनले भने ‘छालाको डाक्टर पनि आउनु भएको छ भनेर थाहा पाएर आएको हुँ ।’

लमही नगरपालिका वडा नं. ७ ले विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेपछि उपचारका बिरामीको लाइन नै लाग्यो । नाक, कान, घाँटी, छाला, दाँत, जनरल मेडिसिन, स्त्री रोगको निःशुल्क उपचार गरिएको हो ।

‘शिविरमा आएका बिरामीमा धेरै जसोमा छाला सम्बन्धी समस्या देखिएको छ, महिलाहरुमा पाठेघर सम्बन्धी समस्या छ’ नेपालगञ्ज मेडिकल कलेजका कन्सल्टेन्ट फिजिसियन डाक्टर मधु अर्यालले भने ‘हामीले बिरामीलाई निःशुल्क औषधि, परामर्श र सुगरको जाँच गरेका छौं ।’ घरदैलोमै विशेषज्ञ सेवा लिन पाउँदा स्थानीय बासिन्दा खुशी भएका छन् ।

लमहीमा रहेको अस्पतालमा विशेषज्ञ सेवा सुरु नहुदा बिरामी अनेत्र जानुपर्ने बाध्यता रहेको हो । वडा कार्यालयले बासिन्दालाई विशेषज्ञ सेवा लिन अनेत्र जानु नपरोस भन्ने उद्देश्य राखेर गाउँमै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वडा अध्यक्ष मोहन गिरीले बताए ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्