रुपन्देहीकी संचारकर्मीलाई पोखरामा स्वतन्त्र पत्रकारको सम्मान

पोखरा – रुपन्देहीकी संचारकर्मी सीता दर्नाललाई पोखरामा स्वतन्त्र पत्रकार संघले सम्मान गरेको छ । संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार रुपन्देहीको रेडियो रिपब्लिक ८८.२ मा कार्यरत पत्रकार दर्नाललाई नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

संघले संस्था सम्मान अन्तर्गत पोखरा–८, सिमलचौर स्थित महिला सीप विकास संस्थालाई पनि सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत पोखराका उच्च न्यायाधीश कुमार चुडालले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।

न्यायाधीश चुडालले पत्रकार राजनीतिक आस्थामा विभाजित हुँदा स्वतन्त्र र निष्पक्ष समाचारमा खलल पुग्ने बताए । नागरिक उत्तरदायी पत्रकारिताले समाजलाई विकासमा टेवा पुग्ने उनको भनाई छ ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रदेश तहमा निर्माण गरिने कानुनलाई महिलामैत्री बनाउन पहल गर्ने प्रतिबद्घता जाहेर गरे । अर्का प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले नेपालमा अधिकाशं महिला साक्षर मात्र भएकाले उनीहरुलाई साक्षरताको तहबाट माथि उठाई शिक्षित बनाउन पहल गर्ने बताइन् ।

सम्मानित संचारकर्मीले पोखरामा आएर सम्मान हुन पाउँदा पत्रकारिताबाट समाजमा केही योगदान गरेकी रहिछु भन्ने अनुभुति भएको बताइन् । न्यून दृष्टिबिहीन समेत रहेकी दर्नाल भनिन् ‘सम्मानले अझै बढी जिम्मेवार बनाएरको छ । निरन्तर पेशामा लागिरहने छु ।’

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघ स्वाभिमानी पत्रकारहरुको संस्था भएको दाबी गर्दै स्वतन्त्र पत्रकारले पत्रकारिता गर्दा आफ्नो दलीय आस्था प्रकट नगर्ने बताए ।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्