एउटी आमाको बिलौना

‘सम्पत्ति चाहिँदैन, नागरिकता बनाइदेउ, भत्ता पाउँछु’

नागरिकताको पर्खाईमा रहेकी सिरहाको मझौराकी श्रीबाती यादव । तस्बिर : इमान सुनार

‘केही चाहिँदैन । जिउनी पनि माग्दिन । तर नागरिकता भने बनाइदेउ । सम्पत्ति चाहिँदैन । नागरिकता भए भत्ता पाउथेँ । गुजारा त्यसैले चलाउँ छु ।’


७० वर्ष कटे जस्तो लाग्छ तर ठ्याक्कै कति हिउँद काटियो भन्ने ख्याल छैन श्रीबाती यादवलाई । जन्म घर नेपाल होइन तर कर्म घर बन्यो ।

सन्तान यहिँ जन्मिए, किनकी ‘रोटी–बेटी’ को सम्बन्ध छ भन्छन् नेपाल र भारतबिच । श्रीबाती पनि भारतकी छोरी थिइन् तर बुहारी र आमा हुँदा नेपाली भइन् ।

सानै थियो उमेर भर्खर खेल्ने कुद्ने बेला । हुर्किँदै गरेकी श्रीबातीको बिहे भयो सिरहाको नवरापुर गाउँपालिका–३ मझौराका बद्री यादवसँग । जन्मभूमि छोडेर ससुराल, कर्मथलो अनि कालान्तरमा आफ्नै बन्ने भनिएको घर आइन् ।

सुरुमा न उनलाई घरले चिन्यो न खेत बारीले नै चिने जस्तो लाग्यो । तर श्रीबातीले आफ्नो कर्मले सिन्चन गर्दै गइन् । आफ्नो बनाइन् । अब लाग्यो जीवन त यस्तो पो हुन पर्छ । लोग्ने छन् । छोरा छन् । अनि छ आफ्नो घर खेत पनि ।

छोरा छोरी जन्मिए । हुर्काउँदै गइन् । छोरी आफ्नो कर्म थलो तिर लागे । छोराहरुले बिहे गेर । जीवनको फेर यति चाँडै बितेको श्रीबातीलाई ख्यालै भएन ।

उनलाई लागेको थियो वा भनौ आश थियो, कुर्कुच्चा फुटाएर घाम–पसिना अनि ओत–पानी नभनी हुर्काएका सन्तानको भर बुढेसकालमा हुनेछ ।

सपनाको विघटन


तर न सोचे जस्तो भयो न हुर्काएका सन्तानले सम्झिए । बद्री यादवसँग बिहे हुँदा अनि त्यसपछि बिताएका वर्षहरुमा उनलाई खाँचो परेन वा बनाउ पनि भनेन् र आवश्यक पनि लागेन सायद, श्रीबाती नागरिकता बिहीन रहिन् ।

श्रीबातीका श्रीमान बद्रीको पाँच वर्षअघि निधन भएपछि उनलाई छोराले वास्ता नगर्दा समस्यामा परेकी छन् । तस्बिर : इमान सुनार

तर पाँच वर्षअघि श्रीमान बद्रीको निधन भएपछि मात्रै उनलाई नागरिकताको खाँचो पर्‍यो । त्यो पनि आफूले रहरले हुर्काएका, बुढेसकालका भर भनिएका दुई छोरा रामसेवक यादव (४५) र रामपृत यादव (५०) ले भरकाटे पछि ।

लोग्ने हुन्जेल अप्ठ्यारै होस् जीवन चलेको थियो । बुढाबुढीको साथले असजिलो पनि सजिलो लागेको थियो । तर बद्रीको हात श्रीबातीबाट छुटेपछि भर दिनु पर्ने दुई छोराले भर दिएनन् ।

अनि बल्ल चाहियो नागरिकता


बुवाको निधनपछि रामसेवक र रामपृतले भएको घर खेत भाग लागए । आफ्ना लागि साँध सिमान अलिकति यताउती नहुने गरी मिलाएका रामसेवक र रामपृतले आमालाई बिर्सिए । जिउनी भाग लगानु पर्छ भन्ने भुले वा सम्झिन चाहेनन् ।

श्रीबातीलाई लागेको थियो जिउनी नदिए के भो त, छोरा त मेरै हुन्, अब सेवा गर्लान् । तर भयो उल्टो । सेवा त परको कुरा रामसेवकको नामसँग जोडिएको सेवक हटाउनु पर्ने भयो, रामपृतको पृत पनि । उनीहरुले आमा बिर्सिए । श्रीबातीलाई बिहान बेलुका खानकै लागि गाउँ डुल्नु पर्ने भयो ।

त्यसपछि मात्रै उनले सम्पत्ति नपाएर के भयो त ? सरकारले दिने सामाजिक सुरक्षाभत्ता त पाउँछु नि भन्दै तत्कालीन मझौरा गाविस अहिलेको नवराजपुर गाउँपालिका–३ मा गइन् । तर नागरिकता थिएन । नागरिकता नै नभएपछि सरकारले नागरिकका लागि दिने भत्ता कहाँबाट पाउनु ।

श्रीबातीले झण्डै ७० वर्षको हुने बेलासम्म नखोजेको नागरिकता खोज्नु पर्ने भयो । दुवै छोरालाई भनिन् । तर उनीहरुले वास्ता गरेनन् ।

आफूहरुले बुवाको नामबाट नागरिकता लिएका दुवै ‘राम’ ले आमालाई नागरिकता बनाइदिनु पर्दा पर सरे ।

दुई ‘राम’ को मनमा बसेको ‘हराम’ एक थियो–नागरिकता बनाए आमाले जिउनी माग्छे अनि अरुलाई नै दिन्छे ।

यहि डरले उनीहरुले नागरिकता बनाउन सनाखत गरिदिएनन्, आफ्नै आमाको । जिउनीबाट वञ्चित भएकी श्रीबाती अहिलेसम्म सरकारले जेष्ठ नागरिक र एकल महिलाका लागि दिने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित नै छिन् ।

तर आश मरेको छैन


छोराबाट नभएपछि श्रीबातीले गाउँलेको साथ खोजेकी छन् । उनले गाउँमा भएका हरेक समूह अनि आउने प्रत्येक नयाँ व्यक्तिसँग नागरिकताका लागि अनुरोध गरेकी छन् ।

श्रीबातीका बारेमा छलफल गर्दै गाउँका अगुवा । तस्बिर : इमान सुनार

गाउँमा लिंगका आधारमा हुने हिंसा विरुद्ध साथी संस्थाको आस्था कार्यक्रम र दलित जनकल्याण युवा क्लब सिरहाको प्रयासमा गठन भएको महिला तथा पुरुष सञ्जालमा उनले आफ्नो कथा सुनाएकी छन् ।

पुरुष सञ्जालका अध्यक्ष रामगोविन्द यादवसहितका अगुवाले श्रीबातीलाई नागरिकता दिलाउने प्रयास थालेका छन् । उनीहरुकै अगुवाईमा गाउँकै राममुखीदेवीले नागरिकता पाएकी थिइन् । त्यसैले श्रीबातीलाई पनि आश लागेको छ ।

यो प्रयास अहिले सफल होला जस्तो भएको छ, किनकी केही दिनअघि गाउँमा भएको भेलामा श्रीबातीको कुरा हुँदै थियो । त्यहिबाटो भएर उनका कान्छो छोरा रामसेवक जाँदै थिए । जम्मा भएका मानिसले उनलाई बोलाए । सम्झाए, नमानेपछि कानुनी कारवाहीको कुरा सुनाए ।

त्यसपछि उनी आमालाई नागरिकता दिलाउनका लागि सनाखत गरिदिन राजी भएका छन् । तर श्रीबातीले नागरिकता पाउन वा उनी नागरिक बन्न भने अझै बाँकी नै छ ।

बाँकी नै भए पनि श्रीबातीले छोराको मनमा रहेको सम्पत्ति खाइदिन्छे भन्ने डर हटाएकी छन्,

‘केही चाहिँदैन । जिउनी पनि माग्दिन । तर नागरिकता भने बनाइदेउ । सम्पत्ति चाहिँदैन । नागरिकता भए भत्ता पाउथेँ । गुजारा त्यसैले चलाउँ छु…’ भनेर ।

नागरिकताका लागि सनाखत गरिदिने बताएपछि कान्छो छोरा रामसेवकलाई आर्षिवाद दिँदै श्रीबाती । तस्बिर : इमान सुनार
चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्