नाममा त्यस्तो के छ र हजुर?

हामी सबैको नाम छ। यो कुनै नौलो विषय होइन। कहिलेकाहिँ यही नामले अनौठो अवस्था भने ल्याइदिन सक्छ।

पद्मकन्या नामकी एक छात्रा एसएलसी सकेर काठमाडौँको महिलामात्र पढ्ने पद्मकन्या क्याम्पसमा भर्ना भइन्। संयोगवश, उनको गाउँको नाम पनि पद्मकन्या रहेछ।

नाम: पद्मकन्या

क्याम्पस: पद्मकन्या

गाउँ: पद्मकन्या

परीक्षाको तयारीमा जुटिरहेकी उनलाई भरिसकेको परीक्षा फारमको नाम, ठेगाना र क्याम्पस सबै एकै भएको भनेर पुनः चेक गर्नुपर्ने खबर आयो।

विद्यार्थीले परीक्षा फारमजस्तो संवेदनशील विषयलाई खेलाँची गरेको आशंंकामा पुनः रुजु गर्नुपर्ने भयो।

छात्राले नागरिकताको प्रमाणपत्र तेर्स्याइदिएपछि कर्मचारीहरु फिस्स हाँसे।

हिन्दू संस्कारअनुसार न्वारानमा घडी–पलाको हिसाब गरेर नक्षत्रअनुसार राशीको नाम जुराइन्छ। बौद्ध धर्ममा वर्गअनुसार। नाम र थर त सबैका हुन्छन्। नाम र थरको अतिरिक्त बीचको नाम (मिडिल नेम) पनि हुन्छन्।

हामीकहाँ पहिला–पहिला भगवानको नाम राख्ने प्रचलन अत्याधिक थियो, जस्तै कृष्ण, गोविन्द, राम, हरि, महादेव, परशुराम, राधेश्याम, गीता, सीता, भगवती, पार्वती, गोमा आदि। तर, हिजोआज यस्ता ‘कमन’ नामहरु राख्ने चलन विस्तारै हट्दैछ।

आजकाल स्कुले केटाकेटी र क्याम्पसका किशोरकिशोरी तथा युवाका यस्ता नाम राखिएका फेला पर्‍यो भने ती हाँसोको पात्र बन्न सक्छन्।

हिजोआज मान्छेले देउताको नाम राख्दा पुरातनवादी पाखे, थोत्रा र पुरानो जमनाका भनेर छ्या पनि भन्छन्। कतिपय प्रौढले समेत आफ्नो नाम पुरानो वा छ्यास्छयास्ती भएको भनी नाम फेरेका पनि पाइन्छन्।

आजकालका ससाना केटाकेटीलाई तिम्रो नाम के हो भनी सोधे झट्ट नबुझिने वा कहिल्यै नसुनिएका विदेशबाट आयातीत नाम हुन्छन्।

कति नाम त सुन्दै अचम्म लाग्ने खालका पनि हुन्छन्।

साथीको घरमा छोरोको नाम के राख्ने भन्ने विषयमा चर्को बहस भएछ। बाउ अलि आधुनिक, आमा परिछन् धार्मिक।

जन्मेको दुई दिनपछि बिरामीे शिशुलाई अस्पताल पुर्‍याउँदा बाबुले उसको नाम निर्भिक भनी दर्ता गराएछन्। उता आमाचाहिँलाई कमल नाम राखौँला भन्ने लागेको रहेछ। पछि आमाले कमल नै राख्नुपर्ने अड्डी लिइन्। बाबुआमाबीच भएको केही दिनको बहसपछि गज्जबको उपाय निस्किएछ। दुवैले रोजेको नामलाई एकीकृत गरी निर्भीक कमल जुराएछन्।

हिजोआज परिवारमै उनो नाम एउटै भए पनि हुनेजस्तो लाग्छ रे।

आखिर, नाममा के छ? एउटा चर्चित जापानी उखान छ, ‘द रोज इज अ रोज इज अ रोज इज अ रोज।’ त्यसो त नाममा केही छैन। उसो भए केमा छ त महत्ता? प्रश्न उठ्न सक्छ।

कुमार साब्गाकारा श्रीलंकाका क्रिकेटरको नाम हो भने अक्षयकुमार हिन्दी सिनेमाका चर्चित नायक। हाम्रा छिमेकीहरूका यी थर र नाममा रहेका कुमार विशुद्ध नाम हुन पनि सक्छन् तर नेपालको विशिष्ट परिवेशमा भने कुमारको अर्थ अविवाहित पुरुष भन्ने पनि बुझिन्छ।

उसो त भगवान शिवका दुई छोरामध्ये एकको नाम कुमार हो। नेपालमा कुमार बोलाउने नाम र बीचको नाम (मिडिल नेम) दुवैमा प्रयोग हुन सक्छ।

आखिर, नाममा के छ? एउटा चर्चित जापानी उखान छ, ‘द रोज इज अ रोज इज अ रोज इज अ रोज।’ त्यसो त नाममा केही छैन। उसो भए केमा छ त महत्ता? प्रश्न उठ्न सक्छ।

मान्छेको कामले, विचारले र क्रियाकलापले उसलाई फरक पार्दछ। व्यक्तिलाई उसको कुकर्म वा सत्कर्मले कुख्यात वा प्रख्यात बनाउँछ र नाम गौण हुन जान्छ। चर्चित स्वामी प्रपन्नचार्य सुरुमा भात धेरै खाने भएर तीनमाने, काले, भोटे जस्ता नामले परिचितथिए रे। यो कुरो उनी आफैँले एक टिभी अन्तर्वार्तामा भनेका हुन्।

स्वर सम्राट भन्नासाथ हामी प्रसिद्ध गायक नारायणगोपाल सम्झन्छौँ। महाकवि देवकोटा भनेपछि लक्ष्मीप्रसादको नाम लिइरहनु पर्दैन।

नेपालमा र विश्वका विभिन्न मुलुकमा व्यक्तिको नाम र थरका बीचमा अर्को नाम राख्ने चलन छ। नेपालमा पहिला जुराइएको नाम र पछि थर राख्ने प्रचलन छ। तर, चीनमा थर पहिला र जुराइएको नाम पछि राख्ने चलन छ।

हु जीनतावो चीनका भुतपूर्व राष्ट्रपतिको नाम हो भने रामवरण यादव नेपालका भुतपूर्व राष्ट्रपतिको। हु जीनतावोको हु थर हो भने जीन र तावो जुराइएको नाम हो। रामवरण यादवको यादव थर हो भने रामवरण जुराइएको नाम।

जीनले चम्किलो, आकर्षक र तावोले हावाको भब्यलहर तथा छाल भन्ने जनाउँछ। यता रामले एक मर्यादा र आदर्श पुरुष भन्ने जनाउँछ। तर, नेपालमै यदाकदा भिन्न उदाहरण पनि पाइन्छ। एक जमानाका मीठो स्वर भनी नाम कहलिएका जदौ नामले साहित्यिक कार्यक्रम चलाउने यज्ञनिधि दाहाल आफ्नो थरलाई अगाडि राखेर दाहाल यज्ञनिधि भनी परिचय दिन्थे।

यसो गर्नुमा उनको तर्क छ- उनी जन्मेको ११औँ दिनको बिहानसम्म दाहालमात्रै थिए रे र दिउँसोबाट उनलाई यज्ञनिधि थपिदिए रे… । सुरुमा दाहाल हो, पछि मात्र यज्ञनिधि। सायद यज्ञनिधि नभएको भए म विमलेन्द्र निधि पनि हुन सक्थेँ, वा फलानो निधि वा ढिस्कानो निधि, उनको तर्क छ। त्यसैले दाहाल पहिला अनि…।

नेपालमा व्यक्तिको बहुनाम (मल्टिपल नेम) राख्ने चलन पनि निकै छ। अनन्तमान सिँह प्रधान, रामचन्द्र पौडेल, उमाकान्त राय यादव, कृष्णविक्रम ज्ञावाली, रामबहादुर गुरुङ, कृष्णप्रसाद भट्टराई, हरिकला माया परियार केही उदाहरणीय नाम हुन्।

अचेल सिंह, मान, नाथ, बहादुर, चन्द्र, कान्त, प्रयोग घट्दै गएको छ। तर जनसंख्या बढ्दै जाँदा एउटै नाम भएका व्यक्ति धेरै हुने क्रम बढ्दो छ।

अतः स्कुल, अफिस र लामोे लगत राख्नुपर्ने संघसंस्था मा नाम जुधेर समस्या आउने गरेको पनि । तर, कम्पुटर तथ्यांक र अन्य व्यक्तिगत रेकर्डका लागि आजकल छोटो नामभन्दा लामो नाम सहज हुने गरेको देखिएको छ।

नेपालको राष्ट्रिय राजनीतिमा थरले चर्चा पाएको देखिन्छ, जस्तै भट्टराई सरकार। तर भट्टराई थर हुनेले मख्ख नपरे हुन्छ। सरकार— सबैै नेपालीको हो। माधवकुमार नेपाल सरकारमा हुँदा नेपाल सरकार लेख्न पत्रकारलाई असजिलो पर्थ्यो… देशको नाम पनि नेपाल, प्रधानमन्त्रीको नाम पनि नेपाल।

प्रसंगवश, अखबारमा ओलीले यसो भने भनी छापिएको रहेछ भने केपी ओली भनी बुझ्नुपर्ने हुन्छ।

अस्पतालमा जन्मेकी एक बहिनीको नाम यसरी स्वेच्छा रहन गयो। नवजात शिशुको नाम दर्ता गर्ने बेला नर्सले शिशुको नाम के राखौँ भनी आमालाई सोधिन्। तपाईँको स्वेच्छाले जे राखिदिए पनि हुन्छ, आमाले भनिन्। ती नर्सले के राखौँ के राखौँ भएर स्वेच्छा नाम राखिदिइन्। अन्ततः उनको नाम स्वेच्छा नै रह्यो।

चियागफ— बाबुले उनका दुई छोराको नाम एटम र रेडियस राखेछन्। यस्तो नाम किन राखेको भनी जिज्ञासा राख्दा आफू पटकपटक आईएस्सीमा फेल भएको झोंकमा छोराको विज्ञानसँग सम्बन्धित नाम राखेको रे। आजकल उनका दुवै छोरा आइएस्सी पढ्छन्। यो प्रसंग कोट्याउँदा उनी गलल्ल हाँस्छन्।

भारतीय अभिनेता साहरुख खानलाई खान थर भएकै कारण अमेरिकी अध्यागमन विभागले दु–दुई पटक नियन्त्रणमा राख्यो। कतिपय स्थान–विशेषमा नामले ध्यानआकर्षण गराउँदछ। कहिले राम्रै गर्छ त कहिले नराम्रो पनि गर्न सक्छ, कहिले सम्मान दिन्छ त कहिले बदनाम पनि। त्यसैले विलियम सेक्सपियरले उठाएको प्रश्नः ‘ह्वाटस इन अ नेम’ नामभित्र के छ? को जवाफ अनुत्तरित छ… !

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्