
काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा बढ्दो चाप कम गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हव विमानस्थल विस्तारमा तीव्रता दिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विमान थपिरहेको सन्दर्भमा विमानस्थलको चाप व्यवस्थापन गर्न क्षेत्रीय हव विमानस्थल क्यानको उच्च प्राथमिकतामा परेको हो । नागरिक उड्डयनलाई सहज र प्रभावकारी तुल्याउन क्यानले टिआइएको क्षमता विस्तार तथा भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विशेष महत्वका साथ काम गर्दै आएको छ।
विराटनगर, जनकपुर र नेपालगन्जलाई पनि क्षेत्रीय हवका रुपमा अघि बढाइने क्यानको योजना छ। अहिले पनि यी विमानस्थललाई टिआइएको वैकल्पिक विमानस्थलका रुपमा लिइन्छ।
क्यानका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले मुख्य प्राथमिकतामा रहेको क्षेत्रीय हव विमानस्थल विस्तारको काम शीघ्र रुपमा अघि बढेको बताए। उनका अनुसार अहिले विराटनगरको धावनमार्ग विस्तार भई टर्मिलन भवनको निर्माण कार्य भइरहेको छ भने नेपालगन्ज विमानस्थलको पनि स्तरोन्नति हुँदैछ।
अहिले नयाँ ठूला विमान थपिरहेको अवस्थामा विराटनगर विमानस्थल पनि साँघुरो भएको छ। पहिला साना विमानलाई लक्षित गरेर ‘पार्किङ वे’ बनाइएको थियो । आन्तरिक उडानका ठूला विमान (एटिआर ७२) जस्ता विमानलाई पार्किङ गर्न धावनमार्ग बढाउने काम भइरहेको पनि प्रवक्ता श्रेष्ठले बताए।
टिआइएको आन्तरिकतर्फ अहिले करीव ३० वटा विमान पार्किङ गर्न सकिन्छ। अन्तर्राष्ट्रियमा भने नौ वटा विमान मात्रै पार्किङ गर्न मिल्छ।
विमानस्थलबाट हाल दुई नेपालीसहित ३० वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ हेलिकोप्टरसहित १८ वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन्। सेवाग्राहीको आकर्षण र व्यावसायिक सम्भावना देखेरै व्यवसायीले पनि यस क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । हाल सञ्चालनमा रहेका विमानस्थललाई उडान व्यवस्थापन गर्न निकै हम्मे परेको छ।
हवाई नीति २०६३ अनुसार क्षेत्रीय सन्तुलन तथा हवाई यातायात विकासमा दूरगामी महत्व राख्ने विमानस्थलको निर्माण एवं विकासका लागि (कूल निर्माण लागतको ७० प्रतिशत नेपाल सरकार (वैदेशिक सहयोगसमेत), १५ प्रतिशत प्राधिकरण र बाँकी १५ प्रतिशत स्थानीय निकाय तथा निजी क्षेत्रको सहभागिता जुटाइने उल्लेछ छ।
क्षेत्रीय हव विमानस्थल बनेको खण्डामा टिआइएमा भइरहेको चाप व्यवस्थापन गर्न सहज हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। क्षेत्रीय हव विमानस्थलले उडान व्यस्थापन मात्र नभई त्यस क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ थियो।
प्रवक्ता ठाकुरले पर्यटक बढाउन नयाँ जहाज जरुरी रहेको भए पनि विमानस्थलको क्षमताका कारण थप जहाज धान्न गाह्रो पर्ने र अब थपिने जहाज अन्य स्थानमा पार्किङ गर्नुपर्ने अवस्था आएको बताउनुभयो । भौगोलिक अनुकूलताका कारण महँगो भए पनि नेपालको हवाई यातायात निकै उपयोगी मानिन्छ। विभिन्न गन्तव्यमा पुग्न सुलभ र छिटो हुने भएकाले पनि हवाई यातायात अधिकांशको रोजाइमा पर्ने गरेको छ।
मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेका बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा छन्। अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान संख्या पनि वृद्धि भएको छ।
नेपाल वायुयान सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्की एकपछि अर्को गर्दै वायु सेवा प्रदायक कम्पनीले जहाज थप्दै गएको अवस्थामा विमानस्थल साँघुरो भएको र व्यवसाय प्रवद्र्धन गर्न कठिनाई भइरहेको गुनासो गरे। क्यानले नयाँ विमान ल्याउने वायु सेवा प्रदायकलाई काठमाडौँ उपत्यकाबाहिर पार्किङ गर्न निर्देशन दिइसकेको छ। नेपालगन्ज, भैरहवा, विराटनगर र पोखरामा जहाज पार्किङ गर्न प्राधिकरणले निजी सेवा प्रदायकलाई भनेको छ।
क्यानका अनुसार हाल ४९ वटा विमानस्थल छन् जसमध्ये ३२ वटा विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै निर्माणाधीन सातवटा विमानस्थलमा कालीकोट, ओखलढुंगाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकिलुम्बा, अक्षामको कमलबजार, अर्घाखाँची र लमजुङ रहेका छन्।
सञ्चालनमा रहेकामध्ये २९ वटा विमानस्थल कालोपत्रे छन् । लामीडाँडा, थामखर्क, राजविराज, डोटी, दीपायल, बैतडी र साँफेबगर विमानस्थल कालोपत्र गर्ने क्रम जारी छ। सिवी अधिकारी