नेपालगञ्ज कारागार।

नेपालगञ्ज– लागू पदार्थ खैरो हिरोइनसहित पक्राउ परेका पाकिस्तानी नागरिक नासिर अलि दुई पटक नेपालगञ्ज कारागार आइपुगे।

कारागार कार्यालय, काठमाडौंबाट शुरुमा मस्जिदको सुविधा छ भनेर नेपालगञ्ज कारागार पठाइएको थियो। २०६६ तिर एक वर्ष नासिर नेपालगञ्ज बसे। जेलभित्र ‘अनावश्यक चलखेल’ गर्न थालेपछि उनलाई फेरि काठमाडौं पठाइयो। २०७३ मा पुनः नेपालगञ्ज नै ल्याइयो। माघमा नेपालगञ्ज ल्याइएका नासिरलाई असोजमा फेरि यहाँबाट सरुवा गरियो।

नेपालगञ्जबाट दाङको तुलसीपुर कारागार हुँदै नासिर अहिले धनगढी कारागार पुगेको नेपालगञ्ज कारागार स्रोतहरु बताउँछन्। नेपालका सीमावर्ती जिल्लाका कारागारमा पठाइरहने भएकाले कतिपयले नासिर कतै पाकिस्तानी जासुस त होइन भन्ने शंका गरेका छन्। भारतसँग सीमा जोडिएका कारागारमा ऊ पटक–पटक पुगेको छ।

‘केही दिन चुप बस्छ। अनि, फेरि विवाद र अनावश्यक चेलखेल गर्न थाल्छ। भित्रबाट कम्प्लेन आएपछि हामीले विभागमा भनेर उसको सरुवा गर्‍यौँ,’ जेलर श्याम लामिछानेले भने, ‘ठूला कुरा गर्ने र अरु कैदीलाई भड्काउन खोजेको जानकारी आएको थियो।’

नासिर लागू पदार्थ खैरो हिरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन्।

उसलाई अदालतले १५ वर्ष कैद र पाँच लाख जरिवाना तोकेको छ। पाँच लाख जरिवाना बुझाउन नसके ऊ थप चार वर्ष जेल बस्नुपर्छ।

यो अवधिमा उसले नेपालका कारागारको अवस्था भोग गरिसक्छ। नयाँ नयाँ ठाउँका कारागारमा जान उसले जेलभित्र अनावश्यक विवाद गरिरहने कारागारको अनुगमन गरिरहने अधिकारकर्मीहरु बताउँछन्। ‘हामीलाई त त्यो पाकिस्तानी जासुस नै हो जस्तो लाग्छ। भारतीय सीमावर्ती धेरै कारागारमा बसेर उसले अध्ययन गरिरहेको छ,’ नाम नबताउने शर्तमा एक अधिकारकर्मी भन्छन्, ‘यस्तामाथि सरकार सचेत हुनुपर्छ।’

यी पाकिस्तानीको कारागार विभागमै पहुँच रहेको स्रोतले बतायो। ऊ चाहेको ठाउँमा जान सक्छ।

हुन त खतरनाक कैदीहरुलाई कारागार विभागले जेल परिवर्तन गरिरहन्छ। बाँकेकै मेराज साईलाई नै आधा दर्जनबढी जिल्लाको कारागार पठाइसकिएको छ। नेपालगञ्जका दुई किशोरलाई अपहरण, फिरौती र हत्या काण्डमा ७८ वर्षको जेल सजाय सुनाइएका साईलाई नेपालगञ्ज कारागार हुँदै पाल्पा, कपिलबस्तु, बर्दिया, दैलेख, जुम्ला, रामेछापका कारागारमा सरुवा गरिसकिएको छ। ‘अहिले फोनको सुविधा छ। मान्छेहरु भेट्न पनि आउँछन्, जेलभित्रै बसेर बाहिर चलखेल गरेको सुन्नमा आउँछ अनि सरुवा गरिन्छ,’ कारागार प्रशासन भन्छ।

साईले दुई किशोरलाई अपहरण गरी दश लाख लिई केही दिनमा इन्द्रपुर र कारकादोमा हत्या गरेर फालेका थिए। उनलाई बाँके अदालतले अपहरणमा १९/१९ र हत्यामा २०/२० वर्ष सजाय सुनाएको थियो।

नेपालगञ्ज कारागारमा रहँदा भित्रबाट नै पुरानो धन्दा चलाएको गुनासो आएपछि शुरुमा पाल्पा पठाइएको थियो। त्यहाँबाट अन्यत्र जिल्ला पठाइयो।

जिल्लामा समातिएका ‘डन’हरुले पनि कारागारमा चलखेल गर्न सक्नेतर्फ सचेत हुँदै कारागार प्रशासनले अन्यत्र पठाउने गरेको स्रोतले बताएको छ। नेपालगञ्ज कारागारमा लागु औषध, जजक, कर्तब्य ज्यानका धेरै कैदी बन्दी रहेका छन्। लागु औषधमा धेरै भारतीय नागरिकसमेत छन्।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्