मन्त्री बिना मगरको जीवनयात्रा

भैरवनाथ गणको यातनादेखि सिंहदरबारको कुर्सीसम्म

भैरवनाथ गणको यातनादेखि सिंहदरबारको कुर्सीसम्म

खानेपानी तथा सरसफाइमन्त्री बिना मगर आइतबार आफ्नै कार्यकक्षमा। सबै तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- विकटमा जन्मिएकी मात्रै होइन, त्यसलाई आफ्नो कार्यथलो बनाउँदै राजनीतिक यात्राको सुरुवात गरेकी बिना मगरका जीवनमा अनेकौँ व्यवधान र अड्चन आइपरे।

राजनीति गर्ने क्रममा पाएको चरम यातना मात्र होइन, आफ्नो प्रेरणाको स्रोत बनिरहेका पतिसँग वियोगको शोकलाई पनि उनले शक्तिमा बदलिन्। त्यसले उनको जीवनको परिभाषासमेत बदलेको छ।

यतिबेला नयाँ सरकारका मन्त्रीमध्ये सबैभन्दा कान्छी मन्त्रीका रुपमा खानेपानी तथा सरसफाइ मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गरेकी छन् उनले।

त्योसँगै बालकलाकारबाट सुरु भएको उनको राजनीतिक यात्रा अर्थपूर्ण बनेको छ। अब पनि कठिनाइको सामना गर्ने तागत राख्ने बिनाले राम्रो काम गरेर अघि बढ्नुको विकल्प देखेकी छैनन्। अठोट र निरन्तरता उनका सारथी बन्दैछन्।

मन्त्री बनेपछि पहिलो पटक देशसञ्चारकी पत्रकार दीपा दाहालसँग आफ्नो राजनीतिक यात्रा र जीवन भोगाइको अनुभव साट्दा उनी पटकपटक रोइन् र सम्हालिइन पनि।  प्रस्तुत छ थप कुराकानी संक्षेपमा:

 बिना मगरका जीवनमा
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर देशसञ्‍चारसँग कुरा गर्दै। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

राम्रो काम गर्नुको विकल्प छैन
मैले शुक्रबार औपचारिक रुपमा पदग्रहण गरेँ। त्यसपछि पछिल्ला दुई दिनका क्षणले अझै राम्रो काम गर्नु पर्छ भन्ने अनुभूति भइरहेको छ। मेरो जीवनको नयाँ चरण या यात्रा यहाँबाट नै सुरुवात गर्नुपर्छ भन्नेमा म पुगेको छु। कसरी हुन्छ सबैभन्दा राम्रो काम गर्नुपर्छ भन्ने जिम्मेवारी वोध भएको छ। त्यसमा कौतुहल पनि बढेको छ, उत्साह पनि सँगै छ। नराम्रो काम गर्ने छुट छैन, मसँग अर्थात राम्रो काम गर्नुको विकल्प छैन।

भैरवनाथदेखि सिंहदरबारसम्मको यात्रा

जीवन मेरो सहजरुपमा अघि बढेन। निकै उतारचढाव, कठिनाइ र संघर्षबाट अघि बढेको छ। र, त्यो जारी छ। राजनीतिक यात्रा पनि निकै जोखिमपूर्ण थियो। त्यसैको एउटा कहालीलाग्दो घटना थियो, भैरवनाथ गणभित्रको यातना। त्यसलाई सम्झँदा जतिबेला पनि कहाली नै लाग्छ। समग्र १० वर्षे जनयुद्धमा सर्वहारा वर्गका लागि लड्ने क्रममा मैले त्यहाँ चरम यातना र कठिनाइ भोगेको थिएँ। २७ महिना बेपत्ता जीवन, सायद सेनाका हिरासतमा लामो समय बेपत्ता हुने महिलामा म नै पर्छु होला, हुन त मसँग पुरुष साथीहरु पनि थिए।

भैरवनाथ गण छिर्ने जोकोही पनि बाँचेर निस्कदैन भन्ने डर थियो बाहिर। त्यो समयमा म बाँच्ने छु भन्ने कुनै पनि पल सोच्न सकिनँ। अहिले समाज र देश निर्माणमा मेरो पनि योगदान रहने छ भन्ने मैले सोच्नै सकिनँ त्यतिबेला। २७ महिना शून्य मानसिकतामा बस्दा हतकडीमुक्त जीवन, पेटभरी खान पाउँदाको जीवन समेत कल्पना गर्न सक्दिन थिएँ त्यतिबेला जुन अहिले शब्दमा पनि व्यक्त गर्न कठिन हुन्छ मलाई।

वर्गीय युद्धमा होमिँदा मृत्यु या मुक्ति दुईमध्ये एक रोज्ने प्रण गरेकी थिएँ मैले।

 बिना मगरका जीवनमा
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर । तस्बिर- बर्षा शाह/देश सञ्‍चार

महिलालाई दिने यातना पनि फरक

समग्र जनताको हकहितको पक्षमा बलिदान दिन तयार भएरै नै युद्धमा होमिएको थिएँ। तर पनि एउटा पुरुषलाई दिने यातना र महिलालाई दिने यातनामा विभेद हुँदो रहेछ। एउटै अभियोगमा पक्राउ परेपनि पुरुष भन्दा महिलालाई धेरै शारीरिक र मानसिक यातना दिइँदो रहेछ।

बलात्कारको डर दिने, सयौं सिपाहीहरु लगाइदिन्छु भन्नेजस्ता धम्कीको सामना गरेँ। मेरो पूरै कपडा फालेर पेन्टी र ब्रामा समेत यातना दिइएको थियो। तर, त्यो पीडालाई शक्तिमा बदल्ने मौका पाएँ। त्यस्तो यातनाबाट उन्मुक्ति पाएर आज यो स्थानमा म आउन सक्नुमा मेरो आफ्नो खुवीसँगै मेरो परिवार, आफन्त र शुभचिन्तकको समर्थनले पनि भूमिका खेलेको छ।  मन्त्रीको पदमा आइपुग्दा, पहिले लडिरहँदा र त्यो बेला सिपाहीहरुको घेरामा रहँदा पनि मेरो एउटै सोचाइ थियो कि हामी समग्र राज्य सत्तासँग लडिरहेका छौँ, न कि कुनै एउटा पात्र या व्यक्तिसँग।

सेनाको विकासमा कदम

त्यो बेला कतिपय सिपाहीहरु तिमीहरु यहाँबाट छुटेको खण्डमा त हामीलाई पनि मार्छाैं होला नि भन्थे। मेरो जवाफ हुन्थ्यो- हाम्रो लडाइँ राज्य, प्रणाली, सिद्धात र विचारसँग हो, तपाईहरुसँग हैन, तपाईहरुसँग कुनै रिसइवी हुने छैन। जुन सोचाइ या धारणा परिवर्तन भएको छैन आजसम्म पनि। यद्यपि मृत्युको मुखमा पलपल बाँचेर यहाँसम्म आएँ।

कञ्चनपुर जिल्ला कमिटीले म सहिद भएको घोषणासमेत गरेको थियो। त्यसैले अब हामी सेनासँग रिसइवी हैन, उनीहरुको वृद्धि विकासमा लाग्ने छु, कहिल्यै फरक व्यवहार गर्ने छैन भन्ने अपेक्षा गर्छु। हुन त अहिले पनि ब्यारेकमा जहानियाँ शासन यथावत छ, देशबाट त्यो हटे पनि। सिपाही वा सुरक्षाकर्मीलाई अझ वफादार र जिम्मेवार बनाउन आवश्यक छ। र, उनीहरुमा पनि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको महसुस गराउनु छ।

जनयुद्धको तयारीमा पहिलोपटक नाच्दा
मेरो परिवार पनि राजनीतिमै भएकाले मलाई यस क्षेत्रमा आउन छिट्टै बल पुगेको थियो। जनयुद्धका विषयमा बुझ्ने मौका पाएपछि म त्यतिकै बस्न सकिनँ। यसैमा लाग्ने अठोट गरेँ। बाल्यकालमै मेरो अन्तस्करणमा समाजमा व्याप्त विभेदले घोचिसकेको थियो।

त्यसैले पढाइसँगै जनयुद्धको तयारी चरणको अभियान सुरु भएको थियो र त्यो अभियानमा नाच्न थालेँ। तर, त्यहाँ जनयुद्धको आवश्यकताबारे बुझ्ने मौका पनि सँगसँगै पाएँ। त्यसबारे बुझ्न जाँदा बुवाले खर्च समेत दिएर पठाउनु हुन्थ्यो मलाई।  ‘सार‌ंगी बजाउँदै गाउँदै गीत सुनाउँदै आइपुगे बह बिसाउँदै’ भन्ने गीतमा म पहिलो पटक सार्वजनिक स्थलमा नाचेको थिएँ।  राजनीतिक चेतना बढेसँगै मैले अखिल क्रान्तिकारी हुँदै महिला संगठनको नेतृत्व पनि गरेँ।

राजनीतिमा लाग्न मिलेका ५ प्रेरणा

म मन्त्री हुनुको पछाडि झण्डै दुई दशकको सघर्षपूर्ण राजनीतिक यात्रा लुकेको छ। मलाई राजनीतिमा धकेल्न प्रेरित गर्ने चार वटा पक्ष छन्। पहिलो, तराई भए पनि विकट ठाउँ, रोग, भोग , सेवा सुविधाको अभाव मात्रै होइन विभेद भरिएको ठाउँमा म जन्मिएँ जहाँ राष्ट्रियताका लडाइँ भइरहन्थे, सहिद गोविन्द गौतमसम्म पनि आयो त्यो।

सीमा अतिक्रमणको विषय अहिले पनि गम्भीर छ। त्यो माटोमा हुर्किएका कुनै बालबालिकाको मनमा राष्ट्रभाव आउँदो रहेछ। त्यहाँबाट म अछुतो रहन सकिनँ अर्थात त्यो सामाजिक र भौगोलिक अवस्थाले मलाई राजनीतिमा लाग्न प्रेरित गर्‍यो। त्यस्तै मेरो परिवारले पनि मलाई युद्धमा होमिन सहयोग गरे, वर्गीय विभेद अन्त्यका लागि।

तेस्रो म आफैँमा पनि अरुका लागि काम गर्नु पर्छ या बाँच्नु पर्छ भन्ने मानसिकता उत्पन्न भयो। चौथो, भैरवनाथ गणले पनि मलाई अझै बलियो बनायो, राजनीतिक यात्रालाई निरन्तरता दिन। त्यो यातनाले अझै पनि पूर्णरुपमा स्वस्थ छैन, देख्दा फरक देखिए पनि। मन भारी भइरहन्छ, शरीर दुखिरहन्छ। तर पनि त्यसले जनताका निम्ति कसरी परिपक्व हुने भन्ने ठूलो पाठ सिकायो। पाँचौ, प्रकाशजी (स्वर्गीय प्रकाश दाहाल) को र मेरो एउटै सपना बन्यो राजनीतिमा सफल हुने।

प्रतिकूल परिस्थितिमा पनि जिम्मेवारी बिर्सन हुन्न
भैरवनाथको यातनापछि पनि अनेकौँ आरोहअवरोहबाट गुज्रियो मेरो जीवन। आज मन्त्री हुँदा मसँगै बेपत्ता भएका साथीलाई सम्झिएको छु। उनीहरुका अवशेष शिवपुरीको जंगलमा छ भन्ने लाग्छ। मेरै काखबाट खोसिएका साथी आँखामा आइरहेका छन्। थुर्पे घाइते साथीहरु हुनुहुन्छ जसको जीवन जनतामा सर्मपित थियो।  मेरो पछिल्लो राजनीतिक यात्रालाई अघि बढाउन, जुनसुकै आरोह अवरोधबाट बचाउन, जनताका निम्ति काम गर्न प्रेरित गर्ने प्रकाशजी जो मेरो सामुन्ने हुनु हुन्न उहाँलाई धेरै नै सम्झिएको छु। जुन ठाउँमा म उभिएको छु, त्यसमा उहाँको पनि योगदान छ। तर जीवनको महत्व थाहा पाइसकेका हामी त्यति कमजोर पनि हुनुहुन्न, आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नै पर्ने हुन्छ, परिस्थिति आफ्नो अनकूलतामा नभए पनि।

उमेरले सानो भए पनि ठूलो काम गर्छु
नयाँ सरकारमा अरु मन्त्रीहरु भन्दा उमेरले सानो भएपनि ठूलो काम गर्ने छु र त्यो धोको छ मलाई।

मैले नयाँ पुस्ताको नेतृत्व गर्दै छु र त्यो सशक्तरुपमा निर्वाह गर्ने छु भन्ने विश्वास ममाथि नै छ। मैले यो नेतृत्व सही ढंगबाट गर्न सकेँ भने मात्रै म जस्ता युवाहरुलाई त्यसले प्रेरणा दिने छ। त्यसैले तीव्र गतिमा, संवेदनशील र पारदर्शी भएर काम गर्ने छु जहाँ म महिला भएको फाइदा पनि लिने छैन, पुरुष सरह काम गर्नुको मसँग विकल्प छैन।

कञ्चनपुरले जोडेको काठमाडौं
युद्ध अभियानबाट एसएलसी दिनका लागि घर फर्किएको थिएँ। पढाइ पनि महत्वपूर्ण हुन्छ भन्ने प्रेरणा युद्धका अग्रजहरुबाट पाएपछि म घर फर्किएँ। एसएलसीपछि बुवा आमाले छोरीलाई बचाउनुपर्छ भन्ने हिसाबमा चलाखी गरेर पढाइका लागि काठमाडौं पठाउनु भएको थियो।

बुवाआमालाई युद्धमा सकेसम्म छोरी नमरे हुन्थ्यो भन्ने चाहना हुँदो रहेछ। त्योसँगै समयै विवाह गर्दिनु पर्छ भन्ने सोच पनि उहाँहरुको थियो, त्यो स्वभाविक पनि थियो तर त्यतिञ्जेलसम्म म राजनीतिमा चुर्लुम्म डुबिसकेको थिएँ, जिल्लाको महिला नेतृत्वमा अघि आइसकेको थिएँ। राजनीतिमा लाग्न काठमाडौं झनै उपयुक्त थलो बन्यो मेरो निम्ति। परिवारिक दबाब पनि कम र एक्लो बसाइ, म झनै सक्रिय भएँ र समय खर्चिएँ अरुको दुखमा आवाज उठाउन। विबाह लगायत व्यक्तिगत चाहनालाई कुनामा राखेर म झनै राजनीतिमा होमिएको थिएँ। आन्दोलनमा होमिने विषय मेरा लागि अवसर पनि थियो। तर, त्यसले मलाई भैरवनाथ सम्म पनि पुर्‍यायो।

२०७० सालमा चुनाव हार्दा
काठमाडौंमा आएपछि म यहाँको राजनीति र आन्दोलनमा धेरै केन्द्रित भएँ। दुवै संकटकाल मैले यहाँ नै व्यहोरेँ। केन्द्रीय पार्टी कमिटीमा मेरो जिम्मेवारी पनि थपियो। त्यो बेला कञ्चनपुर मेरो गाउँ सम्मको लिंक टुटिसकेको थियो। तर मेरो योगदान सम्झिएर जिल्लाको पार्टी कमिटिले मलाई बोलाउनु भयो र चुनाव लड्न प्रेरणा दिनु भयो, म गएँ पनि। तर, नतिजा सुखद भएन। आफ्ना साथीभाइ कोही थिएननन्, गाउँमा सबै विदेशिएका थिए, सबै नयाँ थिए। छोटो समय भएकाले मैले त्यो बेला जनतासँग सम्बन्ध बढाउने काम गर्न सकिन।

चुनाव जित्दाको पल
मेरो हार नै सफलता हो भन्ने बुझेको थिएँ। पहिलो पटक म चुनावमा हारिसकेपछि हार्नुको कारण र समस्या पहिचान गरेँ। र, तत्कालै त्यसको समाधानमा कदम चालेँ अनि त्यसलाई निरन्तरता दिएँ। कमाण्डर हुने कुरा महत्वपूर्ण विषय रहेछ। जनताको मन जित्ने र उनीहरुबाट सम्मान लिने कुरा चुनौतीपूर्ण हुन्छन्। बाहिर ठूलाठूला कुरा गरेर जनतासँग नपुग्ने हो भने उनीहरुले हामीलाई सम्मान गर्दैनन्।

उनीहरुको समस्या समाधानमा निरन्तर लाग्न पर्दौ रहेछ, जुन मैले प्रयास गरेँ। त्यसमाथि म महिला पनि हुँ मैले महिला सशक्तीकरण र नेतृत्वको पक्षमा पनि काम गर्नु पर्ने थियो। त्यसमा कुनै कसुर बाँकी राखिनँ। तीन वर्ष पनि नपुगेको बच्चालाई च्यापेर म सिंहदरबार र कञ्चनपुर धाएको छु। प्रकाशजीको ठूलो ज्याकेटभित्र आफू र बच्चा राखेर स्कुटरमा सिंहदरबारका हरेक मन्त्रालय पुग्दै कञ्चनपुरको दुरीलाई छोट्याएँ। चुनाव प्रचारप्रसारका बेला म जीवनकै ठूलो शोकमा परेँ। प्रकाशजीको निधन भयो। त्यसलाई पनि मैले शक्तिमा बदलेँ र गाउँमा पुगेँ भोट माग्दै र अठोट गरेँ जनताका लागि केही राम्रो काम गर्ने।

महिला नेतृत्वको विकासमा चुनौती
मुलुकमा परिवर्तनका संकेत देखा परिसके र त्यसले आम मानिसको भोगाइमा भिन्नता ल्याइसकेको छ। तर पनि महिलाको विकास र उनीहरुको राज्यका हरेक निकायमा समान पहुँचको विषय अझै पनि चुनौतीपूर्ण छ। मजस्ता अन्य महिला पनि हुनुहुन्छ जसले अवसर प्राप्त गर्न सक्नुभएको छैन। अब उहाँहरुका पक्षमा पनि आवाज उठाउन जरुरी छ। कञ्चनपुर मात्रै होइन, सबै जिल्लालाई अब सिंहदरबारसँग जोड्नुपर्छ।

युवा पनि मसँगै छन्
पक्कै पनि म युवा हुँ र मैले युवाको प्रतिनिधित्व गर्दै छु र उनीहरुको विकासका लागि गर्नु पर्ने काममा मेरो पनि भूमिका रहने छ। मेरो तर्फबाट जति सक्छु र जति मिल्छ त्यो गर्ने छु सँधैभरि। त्यसमा मैले सम्हालेको मन्त्रालय कम महत्वको छैन। खानेपानी तथा सरसफाइ मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको छ। त्यसैले म पनि खुसी छु।

जब म यो मन्त्रालय छिरेँ, तब जनताका लागि महत्वपूर्ण काम यहाँबाट पनि गर्न सकिन्छ भन्ने बोध भएको छ। काम सफल गर्‍यो भने  ¥यो भने आर्शिवाद पाउने छु । अन्य मन्त्रालयमा काम गर्दा स्याबासी मात्रै मिल्छ । त्यसैले यो मन्त्रालयमा म काम गर्न निकै उत्साहित छु, जतिबेला युवा, वुद्धिजीवी सबैको अनुभव सुन्ने छु र चुस्त प्रणालीबाट काम गर्ने छु सबैका निम्ति। मेरो निम्ति होइन।

शोकलाई शक्तिमा बदल्दा
भैरव नाथगणबाट बाँचिसकेपछि मेले सोचेको थिएँ, मेरा जीवनका सारा कठिनाइ सकिए। अब त कहिल्यै दुःखका दिन आउने छैनन्। तर, जीवन त्यसो हैन रहेछ। त्योभन्दा पनि निकै भयावह दुःखको सामना गर्नु पर्‍यो जब मंसिर २ मा प्रकाशजीले मलाई छोडेर जानुभयो।

त्यसपछि मैले जीवनको परिभाषा नै फेर्न बाध्य भएको छु। सायद् अझै ठूला घटनाको सामना पनि गर्नु पर्ला, त्यसका लागि आफूलाई तयार पार्ने छु पनि।

अभागी जोडी भयौं हामी
राम्रो गर्ने अभिलाषा बोकेर हिँडे पनि कतिपय जोडी अभागी हुन्छन्। त्यसमा हामी पनि पर्न गयौं। खुसी हुने क्षण हुँदाहुँदै पनि हामी सँधै दुःखी भयौं। खासगरी अहिले त्यो अवस्थामा म छु। उहाँले हरेक कठिनाइबीच पनि अघि बढ्नु पर्छ भन्ने प्रेरणा दिनुभएको थियो। हिजोको दिनको माओवादी युद्धमा होमिएको मेरो यात्रालाई अर्थपूर्ण बनाउन उहाँले ठूलो भूमिका खेल्नु भएको छ। कमीकमजोरी भए पनि त्यसलाई आत्मसात गरेर म अघि बढेँ। त्यो जीवन रहेसम्म रहिरहने छ। मेरो जीवन अब उहाँकै सम्झनामा जनताको पीडा कम गर्ने काममा समर्पित हुनेछ।

मेरो नजर शक्तिसँग नभई जनतामा छ

ममाथि विभिन्न आरोप पनि लगाइन्छ। यो समाजमा विभेद विरुद्ध कदम चाल्न म मात्र होइन जो कसैलाई पनि आरोप लागिरहन्छ। त्यसैले ममाथि लाग्ने सबै आरोपको खण्डन गर्नैपर्छ भन्ने छैन। मेरो खण्डन कामबाट हुने छ। मेरो क्षमता प्रदर्शन गरेर त्यसको खण्डन गर्ने छु। त्यसका लागि धैर्यताका खाँचो छ। र, जतिबेला स्थानबाट जोखिमपूर्ण राजनीतिक यात्राको थालनी गरे त्यतिबेला म सरकारमा जाउँला या मन्त्री बनौंला भन्ने सोचेको थिएन। एउटै अठोट थियो कि हामी युवा पनि देश र जनताका लागि बलिदान दिनुपर्छ। त्यसैले सबै विषयको खण्डन गर्न आवश्यक छैन। सफल मन्त्री मात्र होइन, सक्षम नेता बन्ने कोशिश मेरो रहने छ।

 बिना मगरका जीवनमा
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर । तस्बिर- बर्षा शाह/देश सञ्‍चार

सबै तस्बिरहरु र भिडियो: बर्षा शाह

चैत्र ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू