एक जोगीको आँखामा स्टेफन हकिङको त्यो अदभूत मस्तिष्क

हकिङ्ग युनिभर्सिटी अफ बर्लिनमा एक कार्यक्रमको क्रममा । तस्बिर : अलामी स्टक फोटो

१४ मार्च सन् २०४१ मानव सभ्यताकै अपूर्व दिन।

पहिलो पटक पृथ्वीवासीले आफ्नो सौर्यमण्डल बाहिरस्थित अर्को सौर्यमण्डल ‘प्रोक्सिमा सेन्टुरी’ तर्फ ‘नैनो’ अन्तरिक्ष यान पठाउन गइरहेका छन्।

पृथ्वीबाट झण्डै ४.२५ प्रकाश वर्ष टाढा ‘प्रोक्सिमा सेन्टुरी’ पुग्‍न यस यानले ४०२०८००००००००० किमिको यात्रा गर्नु पर्ने हुन्छ।

यस उडानभन्दा पहिला मानवले सबै ग्रह, उपग्रह र त्यो भन्दा पारिको ‘कुपियर क्षेत्र’ र ‘कुपियर क्षेत्र’ पारीको ‘उर्ट बादल क्षेत्र’ सम्म यान पठाइसकेका थिए। यहाँसम्म पठाइएका यानको अधिकतम गति ३० किमि/सेकेण्ड अथवा १०८००० किमि/घण्टा रहेको थियो।

तर, यो ‘नैनो’ अन्तरिक्षयानले गतिमा अभूतपूर्व फड्को हासिल गरेको थियो। यसको गति ६०००० किमि/सेकेण्ड अथवा २१६०००००० किमि/घण्टा हुन गइरहेको थियो। अथवा भनौँ प्रकाशको गतिको १/५ गतिले यो यान ४.२५ प्रकाश वर्ष टाढा ‘प्रोक्सिमा सेन्दुरीमा’ २१.२५ वर्षमा पुग्ने लक्ष्य राखेर प्रक्षेपित गरियो।

यस यानमा एउटा ‘डिस्कमा प्लेटेनियम अक्षरमा’ लेखिएको थियो- यानका परिकल्पनाकार पृथ्वी निवासी फ्रेंक र इसावेलका छोरा, जेन वाइल्ड र इलेने मसुनका पति, लुसी, रोवर्ट र टिमोथीका पिता, कैम्व्रिजका प्रोफेसर एक शिक्षक, वैज्ञानिक र एक अति आत्मविश्वासी व्यक्ति स्टिफन हकिङ ८ जनवरी १९४२–१४ मार्च २०१८।

पाठकगण! यस अनियमित, अल्पवुद्धि लेखनदासले स्टिफन हकिङको सम्मानमा कल्पना गरिएको प्रसंङ्ग हो माथि उल्लेखित ‘भविष्य घटना’।

२०१७
लेखक: ज्ञान मित्र

स्टिफन योभन्दा पनि बढी सम्मानका हकदार हुन्, तर मेरो मस्तिष्कको कल्पना क्षमता यतिमै सीमित छ।

हामीले धेरै महान व्यक्तित्वबारे पढ्दा थाहा हुन्छ, उनीहरु बाल्यकालमा मन्दवुद्धि अथवा साधारण हुन्छन्। तर, स्टिफन हकिङबारे यस्तो छैन। उनी बाल्यकालदेखि नै प्रखर बुद्धि सम्पन्न थिए। उनका सहपाठीहरु उनलाई आइन्सटिनकै उपमा दिने गर्थे।

४ जनवरी १९४२ मा इंग्लैण्डको अक्सफोर्ड सिटीमा स्टिफन हकिङ जन्मेका थिए। प्रारम्भिक विद्यार्थी कालदेखि नै यिनलाई गणितप्रति अत्यन्त लगाव थियो। १९५९ मा ‘नेचुरल साइन्स’को अध्ययन पश्चात् यिनले अक्सफोर्ड यूनिभर्सिटीमा भर्ना लिए। हकिङले आफ्नो पीचडीका लागि कैम्ब्रिज युनिभर्सिटीलाई रोजे। उनले त्यसबेलाका प्रख्यात ‘कस्मोलोजिस्ट’ डेनिस स्काइमाको निर्देशनमा पीएचडी हासिल गरे।

यसैबीच सन् १९६३ मा उनी २१ वर्षको हुँदा कहिल्यै निको नहुने रोग ‘एमायोट्राँफिक लैटरल स्केलेरोसिस’ बाट ग्रसित हुन पुगे। यो रोगमा मस्तिष्क र मेरुदण्डका ‘मोटर तन्त्रिका’ नष्ट हुन्छन्। ‘न्यूरोलोजिष्ट’ हरुले यस रोगलाई ‘मोटर–न्यूरोन डिजिज’ वर्गमा राख्छन्।

उनी विस्तारै शारीरिक रुपमा पूर्णतया असमर्थ हुँदै गए। डाक्टरहरुले उनको आयु २–३ वर्षमात्रै हुने घोषणा नै गरिदिए। तर, उनको संकल्प थियो, ‘म बाँच्छु, आफ्नो पूरा आयु बाँच्छु।’

गएको १४ मार्चमा उनको ७६ वर्षको उमेरमा देहान्त भयो। उनी आफ्नो संकल्पले शारीरिक रुपमा झण्डै झण्डै पूर्णतया असमर्थ हुँदाहुँदै पनि ‘व्हील चेयर’ मै रोग लागेपछि पनि ५० वर्षभन्दा बढी बाँचे।

रोग लागेपछि वा भनौँ उनको शरीर ‘व्हील चेयर’मै सीमित भए पछि उनले सैद्धान्तिक भौतिक विज्ञानको क्षेत्रमा जुन कार्य गरे, त्यो अतुलनीय छ।

‘सैद्धान्तिक भौतिक’ को क्षेत्रमा आइन्सटिनपछि हकिङको नाम गणना गर्नुमा अत्युक्ति हुने छैन।

कम्प्युटर र अन्य संवेदनशील उपकरणका माध्यमले ‘व्हील चेयर’मा बसेको (अग्रिम क्षमायाचना सहित) त्यो झण्डै झण्डै ज्युँदो लाश जबजब र जेजे बोल्थ्यो, सारा विज्ञान जगतमा सुनामी आउने गर्थ्यो।

स्टीफन हकिङ्गको

हकिङले भने, ‘पृथ्वीका मानिसले ‘एलियन’को खोजी नगरे हुन्छ,  ‘एलियन’ले सम्पर्क गर्न खोजे भने पनि हामीले आफूलाई जोगाउनु पर्छ। कारण ‘एलियन’ पत्ता लागेको खण्डमा हाम्रो अवस्था कोलम्बसले अमेरिका पत्ता लगाएपछि जे हविगत त्यहाँका मूल निवासीको भयो, त्यही हुनेछ। ‘एलियन’ हामी भन्दा उन्नत भएको खण्डमा पृथ्वीकै जीवनमा संकट आउन सक्छ।

दुईतीन वर्ष पहिलाको कुरा हो। उनले एउटा अन्तर्वार्तामा भने, ‘हामी पृथ्वीवासीले आफ्नो बसोबासका लागि ब्रहमाण्डमा कुनै अर्को उपयुक्त स्थानको खोजी गरेनौं भने मनुष्य जातिको समूल अन्त हुन सक्छ।’

प्रसंग ‘ग्लोबल वार्मिङ’ सँगै सम्बन्धित थियो, तर उनको निगाह ‘ग्लोबल वार्मिङ’ले बढी रहेको समुद्रको जलस्तरमा केन्द्रित थिएन। उनको दृष्टि ‘ग्लोबल वार्मिङ’ को त्यसपछिको चरणमा केन्द्रित थियो।

स्टिफन हकिङले विज्ञानको क्षेत्रमा के योगदान दिए? शायद विज्ञानमा सामान्य रुचि वा जानकारी नभएको व्यक्तिले बुझ्न गाह्रो होला। न्यूटनको गुरुत्वाकर्षण, मैंक्सवेल र नील बोरको ‘क्वान्टम थ्योरी’, आइन्सटिनको सापेक्षता सिद्धान्त, ब्राह्रमाण्ड विज्ञान, ‘थर्मोडायनमिक्स’ सिद्धान्तलाई एक साथ ल्याउने महत्वपूर्ण काम गरे हकिङले।

‘बिग बैंग’ सिद्धान्त र ‘व्लैक होल’को वैज्ञानिक अवधारणालाई पुष्टि गराउनेमा यिनको महत्वपूर्ण योगदान छ। सन् १९५० को दशका मध्यतिर धेरै जना वैज्ञानिकले ‘ब्लैक होल’ को अध्ययन थालिसकेका थिए। न्यूजर्सीको प्रिन्सटन यूनिभसिर्टीमा जान व्हिलर, इंग्लैडका रोजर पेनरोज र रुसका याकोफ जेल्दोबिच ‘ब्लैक होल’ माथि शोध गरिरहेका थिए।

हकिङले पेनरोजका साथ संयुक्त रुपमा शोध गरेर प्रमाणित गरे, ‘सापेक्षताको अर्थ हो, ब्राहमांडको प्रारम्भ ‘ब्लैक होल’को केन्द्र (सिंगुलरिटी) बाट भएको हो।’

यसका अतिरिक्त ब्रहमाण्ड, परग्रही सभ्यता, समय र समययात्रा जस्ता विज्ञानका जटिलतम विषयका साथै ‘क्वान्टम थ्योरी’ र ‘जनरल रिलेटीभिटी’ को मिलन बिन्दु पहिल्याउने महत्वपूर्ण उपलब्धिको श्रेय हकिङलाई जान्छ।

मूल रुपमा ‘क्वान्टंम थ्योरी’ र ‘जनरल रिलेटीभिटी थ्योरी’ एक अर्कासँग विपरीत र असंगत लाग्छन्। ‘क्वान्टम’ अन्तर्गत अत्यन्त सूक्ष्म वस्तु जस्तो कि अणु क्वांटा फोटानको ज्ञान हुन्छ भने ‘जनरल रिलेटीभिटी थ्योरी’ ब्रहामाण्डको ‘स्केलमा’ तारा, आकाशगंगा जस्ता वृहदतर पिण्डबारे अध्ययन गर्न प्रयुक्त हुन्छ। ‘जनरल रिलेटीभिटी’ भन्छ, ‘अन्तरिक्ष कुनै कागजको पानाझैँ ‘स्मुथ’ र ‘कंटिन्यु’ छ।’ तर ‘क्वाण्टम थ्योरी’ भन्छ, ‘अन्तरिक्षको प्रत्येक पिण्ड सबैभन्दा सानो स्केलमा एकएक दानादाना ले बनेको छ।’

हकिङ कुशल एवम् प्रख्यात लेखक पनि थिए। १९८८ मा प्रकाशित उनको पुस्तक ‘ब्रिफ हिस्ट्री अफ टाइम’ले संसारमा तहल्का नै मच्चायो। एक वर्षभित्रै यस पुस्तकका करोडभन्दा बढी प्रति बिक्री भए। अहिले पनि विज्ञान प्रेमी पाठकमाझ ‘ब्रिफ हिष्ट्री अफ टाइम’ पुस्तक उत्तिकै लोकप्रिय छ। ‘बेस्ट सेलिङ’ नै छ यो।

यसका अतिरिक्त ‘द ग्राण्ड डिजाइन’ भन्ने पुस्तकमा उनले ब्रह्माण्ड उत्पत्तिका रहस्य बारे बृहद विवेचना गरेका छन्।

‘एम थ्योरी’ बारे उनी भन्छन्, ‘एम थ्योरीले ब्रहमाण्ड उत्पत्तिका पेचिलो रहस्य उघार्न सक्छ।’ ‘एम थ्योरी’ कुनै बेग्लै सिद्धान्त होइन, बरु यो सबै सिद्धान्तको सम्मिश्रित रुप हो। आजको वर्तमानसम्म कसैलाई पनि थाहा छैन यो ‘एम’ के हो? ‘एम’ को अर्थ ‘मास्टर’, ‘मिरेकल’, वा ‘मिस्ट्री’ हुन सक्छ। वा, यी तिनै वटाको संयुक्त रुप हुन सक्छ।

‘एम थ्योरी’ ‘पार्टिकल फिजिक्स’को एउटा सिद्धान्त हो। यसले ब्रह्माण्डमा ११ वटा आयाम हुन सक्ने परिकल्पना गर्छ।

यसका अतिरिक्त ‘द युनिभर्स इन अ नटसेल’, ‘जार्ज सीक्रेट को टु यूनिभर्स’, ‘ब्लैक होल एण्ड बेवी यूनिभर्स’, ‘माइ ब्रीफ हिस्ट्री’, ‘द फ्यूचर अफ स्पेस टाइम’, ‘अन द शोल्डर अफ गेन्टस’, ‘द लार्ज स्केल स्ट्रक्चर अफ स्पेश टाइम’ आदि छन्, उनका किताब।

हकिङले आफ्नो जीवनकाल जति मान सम्मान माया, प्रेम, स्नेह, र विश्वभरीको ‘अटेन्सन’ पाए, सायदै कसैले आफ्नो जीवनकालमा  प्राप्त गर्‍यो होला।

हकिङ र विज्ञानको क्षेत्रमा उनले गरेको कार्यलाई बुझ्न हामीलाई अझै कम्तीमा पचास वर्षको समय लाग्छ। वास्तवमा ‘मोटर–न्युरन डिजिज’को चपेटामा आएपछि हकिङ बाँचेका हुन् कि उनको मस्तिष्क बाँचेको हो, ‘मेडिकल साइन्स’ले कुनै न कुनै दिन यसबारे बुझ्ने चरणमा प्रवेश निश्चय नै गर्नेछ।

२०१४ मा हकिङ जीवनमा आधारित ‘द थ्योरी अफ एभ्रिथिङ्ग’ नामक फिल्म बनेको थियो। यो फिल्म हकिङकी पूर्वपत्नीले लेखेको पुस्तक ‘ट्राभलिङ टू इन्फाइनिटी: माइ लाइफ विद् स्टिफन’ मा आधारित रहेको थियो।

एउटा अर्को लघु फिल्मको चर्चा प्रासङ्गिक नै होला। ‘स्टिफन हकिङ्स फेवरेट प्लेसेज’- यस फिल्ममा एउटा काल्पनिक अतंरिक्ष यानबाट विशाल ब्रह्माण्डको यात्रामा जान्छन् हकिङ, आफूलाई मन परेको पाँचवटा ग्रहको यात्रामा।

पृथ्वीबाट १६ प्रकाश वर्ष टाढा रहेको ‘ग्लीसे ८३२ सी’ नामक ग्रहको परिक्रमा गर्दै उनी भन्छन्- कुनै दिन ‘ग्लिसे’ जस्ता ग्रहबाट हामीलाई संवाद– संचार– संकेत प्राप्त हुन सक्छन्, तर यस्ता संकेतको जवाफ दिनु पूर्व हामीले सचेत हुनपर्छ। ती हामी भन्दा धेरै उन्नत हुन सक्छन्, उनका सामू हाम्रो सभ्यता घस्रिने प्राणीकै स्तरको हुनसक्छ।

जीवनका अन्तिम वर्षमा स्टिफन हकिङ ‘द ब्रैक थ्रू लिसनिङ प्रोजेक्ट’ मा आवद्ध भए। यस अन्तर्गत पृथ्वीका निकटका सौर्यमण्डलभित्र रहेका ग्रहमा जीवन हुर्किन सक्ने उपयुक्त स्थलको खोजी गर्नु हो। यसका लागि सलाईको बट्टा आकारको कैयन ‘नैनो स्पेश क्राफ्ट’ प्रक्षेपण गर्ने कार्यक्रम तय गरिएको छ।

सय बिलियन डलर भन्दा बढी खर्च हुने यस परियोजनामा फेसबुकका संस्थापक मार्क जुकरवर्ग एवम् रशियन धनाढय युरी मिलनरले लगानी गरेका छन्। लेखको प्रारम्भमा चर्चा गरिएका हकिङ परिचय अंकित डिस्क पठाउने प्रसङ्ग यसै सन्दर्भमा लेखिएको हो। जीवनभरि ईश्वरको अस्तित्व स्वीकार नगरेका स्टिफन हकिङलाई श्रद्धाञ्जली अथवा ‘रेस्ट इन पिस’ वा स्वर्गबास होस् भन्ने कामना व्यक्त गरेर यो लेखक उनको जीवन संघर्षलाई किमार्थ पनि अवहेलित गर्न चाहँदैन।

प्रिय हकिङ! म अरुको बारेमा विश्वास एवम् निष्ठापूर्वक केही पनि भन्ने हैसियत राख्दिन तर तिम्रो र मेरो विषय भन्न सक्छु– ‘वी बोथ आर स्टार डस्ट हु केम इन सेप आफ्टर विग बैंग,चेन्ज्ड विलियन्स विलियन्स टाइम एण्ड विल बी कन्टिन्यू चेन्चिङ अवर फार्मस टिल बिग क्रन्च’।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्