उपसचिव परशुराम पोखरेल मृत्यु प्रकरण

‘पौडी खेलेको केहीबेरमै हार्ट अट्याकबाट ज्यान गयो’

मृत्युको केहीबेरअघि बेगनास तालमा रमाउँदै उपसचिव परशुराम पोखरेल।

एकछिन अघिसम्म सँगै रमाइलो गरेर आफैँ प्याडलले डुंगा चलाइरहनु भएको थियो। एकछिन ताल छेऊ सँगै पौडियौँ। तालबाहिर आएपछि रिङ्गटा लाग्यो भनेर एक्कासी थुचुक्क बस्नु भयो। चिटचिट पसिना आएको थियो। जीउ तनक्क तन्काउनु भयो। छिटोछिटो अस्पताल पुर्‍यायौँ। उहाँलाई ‘हर्ट एट्याक्ट’ भएको रहेछ। यसैका कारण उहाँको मृत्यु भएको खबर डाक्टरले बताए।

क्षणभरमै एक अप्रत्याशित घटनाको प्रत्यक्षदर्शी बन्यौँ। एकछिन अघिसम्म रमाइलो कुराकानी र हाँसीमजाक गरिरहनुभएको साथी केही बेरमै सदाका लागि विदा हुनुभयो।

शनिबार हार्टअट्याकबाट मृत्यु भएका प्रदेश ४ का उपसचिव परशुराम पोखरेल सँगै रहेका प्रदेश ४ कै कर्मचारी तथा साथी लेखनाथ भण्डारीले घटनाको बारेमा बताए।

घटना हुनु अघिका बारेमा भण्डारी भन्दै गए:

काठमाडौँबाट सभामुखको गाडी आएको छ, बुझ्न जानु पर्‍यो भनेर पर्शुराम पोखरेल सरले भन्नु भयो। म र कम्प्यूटर अपरेटर विनित राना र अर्को साथी नासु विष्णु पोखरेलसहित पर्यटन बोर्डको कार्यालय पुग्यौँ। गाडीसहित कागजपत्र बुझेपछि बेगनास घुम्न जाऊँ भन्ने कुरा निस्कियो। हामी पनि पोखरा बाहिरका भएकाले बेगनास ताल घुम्ने रहर थियो। हुन्छ भनेर त्यतातिर लाग्यौँ। बेगनास पुग्दा १ बजेको थियो।

क्यान्टिनमै खाना खाएर गएकाले बाहिर कहिँ कतै केही खाएनौँ। एक घण्टा डुङ्गा रिजर्ब गरेर बोटिङ गर्‍यौँ। परशुराम सरले पनि कति कति बेला रमाइरमाइ डुंगाको प्याडल चलाइरहनु भएको थियो। करीब ४५ मिनेटपछि हामी ताल छेऊ आयौँ। एकछिन सबै ताल छेऊमा पौडी खेल्यौँ। त्यतिबेला सम्ममा उहाँमा कुनै त्यस्तो लक्षण देखिएको थिएन। ‘पौडी खेल्दा बाल्यकालमा खुब पौडी खेलिन्थ्यो भनेर भनिराख्नु भएको थियो।’

त्यसको केही बेर पछि सास फेर्न असजिलो भएको कुरा सुनाउनु भयो। हामीले अस्पताल जाऊँ सर गाह्रो भएको छ भने भन्दै समातेर सँगै गाडी भएतिर लाग्यौँ। बोलिराख्नु भएको थियो। पानी पनि खानु भयो। १ सय मिटर जति हिँडेपछि रिङ्गटा लाग्यो भन्दै थुचुक्क बस्नु भयो।

वरिपरि मान्छेहरुले छारेरोग हो कि भनेर अनेक शंका गर्दै थिए। शरीरमा चिटचिट पसिना देखेपछि हल्का पानीले छम्कियौँ, उहाँले जिउ तन्काउनु भयो। हामीले जतिसक्दो चाँडो बेगनास ताल नजिकै रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा पुर्‍यायौँ।

सँगै रहेका अर्का साथी प्रदेश सभाका कम्प्युटर अपरेटर विनित राना मगरले थपे:

उहाँको बारेमा डाक्टरलाई बतायौँ। आकस्मिक कक्षमा रहनुभएका डा.नविन रेग्मीले उहाँको उपचार प्रक्रिया थाल्नुभयो। हामी बाहिर कुरेर बस्यौँ झण्डै आधा घण्टापछि उहाँलाई बचाउन नसकिएको डाक्टरले बताउनुभयो। केही क्षण अघिसम्म निकै हाँसीखुसीसँग रहनुभएको साथी एकछिन पछि सदाका लागि विदा हुनु भयो।

लेखनाथ सामुदायिक लायन्स अस्पतालका मेडिकल सुपरिडेण्ट डा. प्रकाश भट्टराई उहाँमा रक्तचाप, सुगर वा अन्य कुनै समस्या हुन सक्ने बताउँछन्। ‘उहाँ पानीमा पौडिएपछि जुन लक्षण देखिएको छ, त्यो रक्तचाप वा सुगर बढी वा कम भएमा हुन सक्छ।’ आन्तरिक रुपमा अन्य कुनै समस्या भए नभएको पोष्टपार्टम नगरी यही हो भन्न नसकिने उनले बताए।

‘अस्पतालमा आकस्मिक कक्षमा डाक्टर नवीन रेग्मी हुनुहुन्थ्यो, उहाँले फोन गरेको १० मिनेटमा म पनि आइपुगेँ। उहाँको पल्स नभएपछि सिपिआर मार्फत कृत्रिम स्वासप्रश्वास र अन्य विधि अपनायौँ तर सफल भएन। उहाँलाई ‘मेजर हर्टअक्ट्याक’ भएको देखियो। ’

हार्ट अट्याकबाट ज्यान गुमाएका परशुराम पोखरेल प्रदेश नं. ४ का उपसचिव हुन्। ५६ बर्षीय उनले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका थिए।

उनी माघदेखि प्रदेश सचिवालयमा कार्यरत थिए। प्रदेशसभामा उनले कर्मचारी ब्यवस्थापनको काम गर्दै आएका थिए। लमजुङका स्थायी बासिन्दा पोखरेल हाल सपरिवार सहित चितवन भरतपुर बस्दै आएका थिए। उनका दुई छोरा छन्। जेठो छोरा अष्ट्रेलिया र सानो छोरा जिल्लाविकास समिति गोर्खामा इन्जियर पदमा कार्यरत रहेको भण्डारीले जानकारी दिए। आइतबार नै उनका श्रीमती र कान्छो छोरा आएर पोष्टमार्टमका लागि निवेदन दिई शवको जिम्मा लिएका छन्।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्