भेट्रान्स टेबुलटेनिस प्रतियोगिता: विकेन थापालाई स्वर्ण पदक

मोरङ- विराटनगरमा सम्पन्न दुइ दिने अन्तरविद्यालय, खुल्ला तथा भेट्रान्स टेबुलटेनिस प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फको एकल स्पर्धामा विकेन थापाले स्वर्ण पदक हात पारेका छन्।

आइतबार शहिद रङशालास्थित टेबलटेनिस हलमा सम्पन्न उपाधि भीडन्तमा विराटनगरका थापाले राजेश भट्टराईलाई ३ शुन्यको सिधा सेटम पराजित गरेका थिए। एकपक्षीय खेलमा थापाले भट्टराईलाई स्तब्ध बनाएका हुन्। एकलतर्फ अनुज बानिया र विशाल केडिया क्रमश तेश्रो भए।

त्यसैगरि, भेट्रान्सतर्फको डबल्सस्पर्धामा विकेन थापा र राजेश भट्टराईको जोडीले अनुज बानिया र सत्यनारायण राजभण्डारीलाई पराजित गर्दै स्वर्ण पदक जितेको छ। थापा र भट्टराईको जोडीले २ एकको स्पर्धात्मक खेलमा बानिया र राजभण्डारीलाई पराजित गरेका थिए।

त्यसैगरी, जिल्ला टेबल टेनिस संघका अध्यक्ष रोशन दत्त र विपीन श्रेष्ठको जोडी तृतीय स्थानमा रह्यो । त्यसैगरि, उपकार श्रेष्ठ र विशाल केडियापनि तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भए।

आयोजक जिल्ला टेबल टेनिस संघले विजयी खेलाडीहरुलाई विहीबार कांग्रेस पार्टी कार्यालय पुरस्कार प्रदान गर्ने जनाएको छ। प्रतियोगिता कांग्रेस नेता गिरीजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा आयोजना गरिएको हो।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्