पूर्वराजा रामनवमीमा विराटनगर जाँदै

विराटनगर- झापामा आराम गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह शक्तिपीठ दर्शनको लागि विराटनगर आउने भएका छन्।

पूर्वराजा शाह आउँदो आइतबार रामनवमीका अवसरमा विराटनगर आउने पक्का भएको हो।

उनको स्वागतका लागि विराटनगरमा २ सय २५ सदस्य समितिको समेत गठन भइसकेको छ।

उक्त समितिका संयोजक बल्लभ दाहालका अनुसार, पूर्वराजा शाह झापाबाट विराटचौक हुँदै विराटनगर आउने कार्यक्रम तय भएको छ।

दिउँसो करिब २ बजे शाह विराटनगरको ठाकुरबाडी रोडमा अवस्थित रामजानकी मन्दिरमा दर्शनका लागि पुग्ने कार्यक्रम रहेको दाहालको भनाइ छ।

त्यसैगरी पूर्वराजाले रामजानकीसँगै मेनरोडमा रहेको कालीमन्दिरको पनि दर्शन गर्ने बताइएको छ।

साँझ करिब ५ बजे पुनः झापा फर्कने कार्यक्रम तय भएको पूर्वराजा शाहको शक्तिपीठ दर्शनसँगै केहीसमय आरामका लागि तीनपैनीस्थित होटल ह्यारिसनमा बस्न सक्ने बताइएको छ।

सोही क्रममा उनले आफ्ना निकटस्थहरुलाई भेट गर्ने समिति संयोजक दाहालले जानकारी दिए।

यसअघि पूर्वराजा शाह तीनवर्षअघि मोरङको कटहरीस्थित एक कार्यक्रममा सरिक भएका थिए। सो क्रममा रंगेलीस्थित सन्सारीमाइस्थानमा पनि उनी दर्शनका लागि पुगेका थिए।

चैत ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्