रोनाल्डोलाई कसले रोक्ने !

गरे चार गोल, रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता रियल मड्रिडले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिडले जिरोनालाई ६–३ ले हराएको हो ।

रियलको जितमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने लुकास वाज्क्वेज र ग्यारेथ बेलले एक एक गोल गरे । जिरोनाका लागि स्तुएनीले दुई तथा रामिरेज लोपेजले एक गोल गरे ।

११ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । तर २९ औँ मिनेटमा जिरोनाका स्तुएनीले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो ।

दोस्रो हाफमा दुवै तर्फबाट गरी सात गोल भयो । ४७ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ५९ औँ मिनेटमा वाज्क्वेजले गोल गरे ।

६४ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले ४–१ के अग्रता लियो । रोनाल्डोको यो ह्याट्रिक उनको खेल जीवनको ५० औँ ह्याट्रिक हो ।

६७ औँ मिनेटमा जिरोनाका स्तुएनीले व्यक्तिगत दोस्रो गोल गरे । रियलका लागि ८६ औँ मिनेटमा बेलले एक गोल गर्दै अग्रता ५–२ को बनाए । त्यसको दुई मिनेटपछि जिरोनाका लागि लोपेजले गोल गरे ।

तर यसअघि नै ह्याट्रिक गरिसकेका रोनाल्डो रोकिएनन् । उनले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ६–३ को जित दिलाए ।

जितपछि रियल २९ खेलबाट ६० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा १५ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा चार अंकले पछि छ ।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्