इन्धन ढुवानी अझै भएन, सिलिगुडीमा लगाएको ताल्चा पम्पसम्मै पुग्नुपर्ने चालकको माग

आयल निगमको चारआली कार्यालयमा लामबद्ध ताल्चा लागेका इन्धन बोकेका ट्यांकर । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

विर्तामोड –पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरका चालकले भारतको सिलिगुडीमा ट्यांकरमा लागेका ताल्चा पेट्रोल पम्पसम्मै पुग्नुपर्ने माग राखेका कारण पेट्रोलियम पदार्थ ढुवानी अझै हुन सकेको छैन ।

इन्धन ढुवानी नहुँदा सडकमा सवारी साधन कम गुडेका छन् । इन्धन बोकेका ट्यांकर नेपाल आयल निगमको चारआली शाखा कार्यालय परिसरमा छन् । तर ताल्चा विवाद फेरि बल्झिएपछि इन्धन ढुवानी हुन सकेको छैन । सिलिगुडीबाट ताल्चा लागेर आएका ट्यांकर आयल निगम परिसरमा छन् ।

ट्यांकर चालक संघका अध्यक्ष तोपप्रसाद दुलालले आफूहरुले चोरको संज्ञा पाएकाले निगमबाट पम्पसम्म पुग्दा पनि सोही ताल्चा लाग्नुपर्ने बताए । उनले भने ‘ुहामी तेल चोर भनियो । निगमबाट पम्पसम्म पुग्दा पनि हामीले तेल चोर्ने संभावना भएकाले सोही ताल्चा लागोस् । होइन भने पम्पसम्म पुग्दा पम्पका प्रतिनिधि पनि ट्यांकरमा हुनुपर्छ ।’

मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले ताल्चा विवाद भएकाले निगम कार्यालयबाट इन्धन ढुवानी नभएको बताए । उनले सोमबार बिहान विवाद टुंग्याएर ढुवानी सहज बनाउने बताए ।

आयल निगमको चारआली कार्यालयमा लामबद्ध ताल्चा लागेका इन्धन बोकेका ट्यांकर । तस्बिर उमाकान्त खनाल देश सञ्चार

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्