प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी प्रदेश ४ समृद्ध बनाउँछौँ : मुख्य मन्त्री गुरुङ

पोखरा – प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिँदै प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गरेर सुन्दर, स्वच्छ, शान्त र सभ्य प्रदेश बनाउने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद् प्रदेश नं ४ समन्वय कमिटी र नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित “प्रदेश नं. ४ मा विकासका सम्भावना” विषयक विचार गोष्ठीमा उनले भौतिक पूर्वाधारको विकास प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको सोही अनुसारको योजनमा आफू केन्द्रित रहेको बताएका हुन् ।

मुख्य मन्त्री गुरुङले पर्यटन, कृषि, उर्जा र खनिज जस्ता प्राकृतिक जन्य वस्तु प्रदेशको मुख्य आम्दानीको स्रोत भएको बताउँदै आवश्यक नीति निर्माण कार्य सुरु गरी अघि बढ्ने बताए । उनले भने ‘प्रदेशको समृद्धि तमाम मजदुर एवं श्रमजीवि वर्गसम्मले अनुभुति गर्ने गरी दीर्घकालीन योजना र विकासका लागि प्रदेश सरकार योजना आयोग बनाउने तयारीमा जुटेको छ ।’

उनले दक्ष जनशक्तिको सीप र विवेकलाई प्रयोग गर्दै कृषिलाई आधुनिकिकरण मार्फत उत्पादनमा बृद्धि गर्दै खाद्यान्न, फलफुल, मासुमा आत्मनिर्भर बनाउने अभियान जोड दिने बताए । प्रदेश ४ का अझै १४ प्रतिशत नागरिक टुकीको उज्जालोमा बसेको भन्दै आगामी दुई वर्षमा प्रदेशका सबै जनताका घरमा उज्यालो र पानीको धारा पुर्‍याइने बताए ।

नेकपा एमाले सल्लाहकार परिषदका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले कोरला देखि भैसालोटन सुस्ता सडक प्रदेश नं. ४ को समृद्धिको आधार रहेको बताउँदै त्यसका लागि प्रादेशिक र संघीय सरकारको ध्यान जान जरुरी रहेको बताए ।

कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विकास योजना निर्माणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्