सामूहिक बलात्कारपछि महिलाको हत्या भएको स्थानीय बासिन्दाको आरोप

दाङ – राप्ती गाउँपालिका–१ भालुवाङ्गकी एक महिलाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

प्रहरीले घटनालाई गम्भीरता पूर्वक नरहेको आरोप स्थानीय बासिन्दाको छ । महिलाको शव शितगंगा नगरपालिका–८ को सामुदायीक वनमा फेला परेको थियो ।

घटनाको अनुसन्धान अर्घाखाँची प्रहरीले गरिरहेको छ । ‘भालुवाङ्गका होटलमा भाँडा माझेर गुजारा चलाउने महिलाको शव अर्धनग्न अवस्थामा फेला पर्‍यो । तर यस घटनालाई प्रहरीले गम्भीरताका साथ हेरेन’ भालुवाङ्गका एक बासिन्दाले भने ‘प्रहरीले कर्तव्य मुद्दा मात्रै दर्ता गरेको भन्ने सुनेका छौं, वास्तविकता के हो छ्टिै सार्वजनिक गरिनुपर्छ ।’

गढवा गाउँपालिका–१ कालाकाटेका विक्रम राणा र राप्ती गाउँपालिका–१ का दिवश शाहीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । यी दुवै युवा राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको भालुवाङ्ग काउन्टरमा कार्यरत कर्मचारी हुन् ।

घटना विवरण


गएको फागुन २१ गते दाङ र अर्घाखाँची जिल्लाको सिमानामा पर्ने सामुदायीक वन क्षेत्रमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण भालुवाङ्गमा रहेका दुई होटलमा भाँडा माझ्ने काम गर्थिन् ती महिलाले । बाँकी समय मकै पोलेर बिक्री गर्थिन् । उनका एक छोरा र एक छोरी छन् । अहिले छोराछोरी उनका श्रीमान सँगै छन् ।

श्रीमानले मजदुरीको काम गर्छन् । महिलाको शव पुल्चोकबाट पर शितगंगा नगरपालिका–८ अर्घाखाँचीमा फागुन २१ गते भेटिएको थियो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरे । त्यस पश्चात ईलाका प्रहरी कार्यालय भालुवाङ्गको प्रहरी टोली घटनास्थलमा पुग्यो ।

प्रहरीले मुचुल्का उठायो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल लग्यो । प्रहरीले उपलब्ध गराएको मुचुल्काको आधारमा अर्काेदिन पोष्टमार्टम भयो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गर्‍यो । घटना भएको चार दिनपछि स्थानीय बासिन्दाको भनाई र फोन कल डिटेलको आधारमा दुईजनालाई अनुसन्धानका लागि दुईजनालाई पक्राउ गरिएको हो ।

घटनाको थप अनुसन्धान गर्न पक्राउ परेका दुईजनालाई भालुवाङ्ग प्रहरीले अर्घाखाँची प्रहरीलाई बुझाएको छ । अहिले गढवा राणा र शाही ठाडा ईलाका प्रहरी कार्यालय अर्घाखाँचीको नियन्त्रणमा छन् ।

कर्तव्य मुद्दा दर्ता गरेर अनुसन्धान


घटनाका आरोपीलाई आइतबार जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान जारी राखेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख कमल परियारले जानकारी दिए ।

‘घटनाको गहिरो अनुसन्धानमा छौं, अहिले केही भन्न मिल्दैन्, अनुसन्धानका लागि म्याद थप गरेका छौं’ प्रहरी प्रमुख परियारले भने ‘केही दिनमा पत्रकार सम्मेलन नै गरेर घटनाका बारेमा जानकारी हुन्छ, सबै कुरा अहिले भन्न मिल्दैन् ।’

पोष्ट मार्टम वाहेक अन्य जाँच गर्न भनिएन


ईलाका प्रहरी कार्यालयले महिलाको शव पोष्टमार्टम गर्न मात्रै भनेको खुल्न आएको छ । तर प्रहरीले महिलाको अन्य जाँचका लागि आग्रह नगरेको लमही अस्पतालका डा. विमलेस गुप्ताले जानकारी दिए ।

‘शव सड्न थालेको अवस्थामा थियो, प्रहरीले शवको पोष्ट मार्टम गर्न मात्रै भनेको थियो, प्रहरीले उठाएको मुचुल्कामा करणी सम्बन्धी विवरण खुलाइएको थिएन्, र हामीलाई अन्य जाँचका लागि रिक्वेष्ट लेटर आएको थिएन’ उनले भने ।

अस्पतालले प्रहरीलाई पोष्ट मार्टमको रिपोर्ट बुझाईसकेको छ । यता ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख रवीन्द्रबहादुर खड्काले पोष्टमार्टम गर्दा डाक्टरले शवको प्रकृति हेरेर उसको परीक्षण गर्नुपर्ने, प्रहरीले यो जाँच गर्नुस भनेर तोक्ने नगरेको बताए ।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्