क्रिकेट सफलताको खुसीमा पोखरामा मैत्रीपूर्ण खेल, लड्डु पनि बाँडियो

पोखरा- नेपालले एक दिवसीय क्रिकेट खेलमा मान्यता पाएको खुसियालीमा पोखरामा मैत्रीपूर्ण क्रिकेट खेल खेलिएको छ।

नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार मंच कास्की र पर्यटन परिषद पोखराले सोमबार २०–२० क्रिकेट खेल आयोजना गरी खुशियाली मनाएका हुन्।

उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मंच कास्की र कास्की जिल्ला क्रिकेट संघबीच मैत्रीपूर्ण प्रतियोगिता भएको थियो। पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा खुसियाली मनाउन उपस्थित भएकाहरुले लड्डु समेत बाँडेर एक आपसमा बधाई साटासाट गरेका थिए।

पोखरा लेखनाथ महानगरपलिकाका मेयर मानबहादुर जिसीले क्रिकेटमा नेपालले पाएको ऐतिहासिक सफलताले सबैलाई गौरवको अनुभूति गराएको बताए।

उनले पोखरालाई खेलकुद शहरको रुपमा बिकास गर्न पनि क्रिकेट खेलको बिकास अपरिहार्य रहेको समेत बताए।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रमुख सूर्य थपलियाले खेल पर्यटनका माध्यम बाट पनि पोखरा शहरलाई विश्वमा परिचित गराउन सकिने बताए । बोर्डले खेलकुद पर्यटनको बिकासका लागि विशेष कार्यक्रमका साथ अघि बढ्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले नेपाली क्रिकेट टिमले खेलको माध्यम द्वारा विश्वमा देशलाई चिनाउन खेलेको भूमिका प्रशंसनिय रहेको बताउँदै उनीहरुको सम्मान यस्ता मैत्रीपुर्ण खेलहरुको आयोजनाले थप उत्साह जाग्ने बताए।

कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष दिपक गोदार, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगायतले बोलेका थिए।

चैत ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्