एयरपोर्टमा लाग्यो नारा: टुडिखेलमा खेलेर वर्ल्डकप खेल्न सकिन्न

काठमाडौं- एयरपोर्ट भित्र बिमान ल्याण्ड हुँदै थियो, बाहिर भने नेपालि क्रिकेटका फ्यानहरु चर्को नारा लगाई रहेका थिए। खेलाडीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री नै आएको खबर पाए पछि भने नारा लगाउनेको स्वर झनै चर्को भएको थियो।

  • वान डे स्ट्याटस पाइयो, क्रिकेट स्टेडियम चाइयो
  • टुडिखेलमा खेलेर वर्ल्ड कप खेल्न सकिन्न
  • अघि बढ टिम नेपाल नेपाली जनता साथमा छ
  • क्यानको विवाद समाधान गर समाधान गर

लगायतका नारा लगाउँदै क्रिकेट फ्यानहरु खेलाडीको प्रतिक्षामा थिए। विमानस्थलमा देखिएको क्रिकेटको क्रेज र समर्थकको माग कुनै नयाँ होइन तर पनि सरकारको प्राथमिकता क्रिकेट पुर्वाधान बन्ने बिषय परेको छैन।

खेलकुद मन्त्रीनै विमानस्थल पुगी खेलाडीलाई माला लगाउँदै अंकमाल गरको दृश्यले सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेको भान हुँदै थियो।

क्रिकेट टिमको स्वागतका लागि एयरपोर्ट पुगेका झापा घर भएका रिसब खनालले भने, ‘स्थिर सरकार बनेको छ, नेपालले क्रिकेटमा अहिले सम्मकै ठुलो उपलब्धि पाएको छ, कम्तीमा एउटा अन्तराष्ट्रिय स्तरको स्टेडियम बनाउनुनै पर्छ।‘ नेपालमा क्रिकेटको क्रेज देखाउन पनि साथीहरु सँग एयरपोर्ट पुगेको उनि बताउँदै थिए।

त्रिभुवन बिमानस्थलमा युवा युवती देखि बृद्ध सम्म खेलाडीको स्वागतको लागि पुगेका थिए। प्रहरीको सुरक्षा बीच पनि खेलाडीलाई एयरपोर्ट भित्रबाट गाडीमा चढ्न हम्मे हम्मे पर्दै थियो।

बिभिन्न देशबाट नेपाल आएका विदेशीहरु पनि एयरपोर्टको उल्लास देखेर उत्सुक हुँदै के भएको भनेर सोध्दै थिए। के नारा लगाइरहेका छन् भन्ने जान्न खोज्दै थिए। अमेरिकाबाट आएकी एक पर्यटकलाई मैले नेपालमा क्रिकेटको अन्तराष्ट्रिय मैदान बनाउन फ्यानहरु माग गर्दैछन् भन्दा उनले अचम्म मान्दै भनिन्, खेल मैदाननै नभएको देशले ‘वान डे स्ट्याटस पाएको?

संसारले यसरी नै अचम्म मान्दा पनि नेपालले एक दिवसीय मान्यता पाएको सत्य हो तर राष्ट्रिय टिमका प्रशिक्षक टमटाले भने जसरी ४ वर्ष पछि पनि एक दिवसीय मान्यता जोगाउनु पर्ने चुनौती छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मी सँग प्रतिक्रिया दिदैँ सम्पूर्ण खेलाडीले क्रिकेटमा घरेलु संरचनाको विकास गर्नु पर्न बताएका छन्।

खेलाडी खेल खेल्न आतुर छन्, फ्यान हेर्न आतुर अब सरकार पनि काम गर्न आतुर हुनु पर्नेबेला आएको छ। विमानस्थल दर्शकले माग गरेको पूर्वाधार निर्माण र त्योभन्दा अगाडि क्यान विवादको अन्त्यको लागि सरकार आतुर हुनुपर्ने छ।

सायद त्यो हुन् सक्यो भने आगामी दिनमा खेलाडीलाई स्वागत गर्न बिमानस्थलमा पुग्दा खेल मैदान चाहियो भन्ने नारा लाग्ने छैन, र बिदेशीहरु पनि खेल मैदाननै नभएको देश एक दिवसीय खेल्ने भनेर आश्चर्यमा पर्ने छैनन्।

चैत्र ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्