अमेरिकामा सेल्फ ड्राइभिङ कारको ठक्करबाट एकजनाको मृत्यु

अमेरिकाको एरिजोनामा सेल्फ ड्राइभिङ कारको ठक्करबाट एकजनाको ज्यान गएको छ । एरिजोनाको टेम्पेमा उबरले सञ्चालनमा ल्याएको सेल्फ ड्राइभिङ कारको ठक्करबाट पैदल यात्री ४९ वर्षकी महिलाको ज्यान गएको हो ।
उबरले उत्तर अमेरिकाका विभिन्न शहरमा सेल्फ ड्राइभिङ कार परीक्षणको रुपमा सञ्चालनमा ल्याएको थियो । तर यो दुर्घटनापछि सबै सेल्फ ड्राइभिङ कार चलाउन बन्द गरिने उबरले जनाएको छ ।
सेल्फ ड्राइभिङ कारले बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएका हो । यसअघि सेल्फ ड्राइभिङ कारबाट धेरै दुर्घटना भएका थिए । तर मानिसको ज्यानै जाने गरी भएको यो पहिलो दुर्घटना मानिएको छ ।
उबरका प्रमुख डारा खोस्रोवशाहीले महिलाको मृत्यु निकै दुःखद खबर रहेको बताएका छन् । कार अटोनोमस मोडमा रहेका बेला आइतबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पैदल यात्रीका लागि बनाइएको क्रसबार प्रयोग नगरी बाटो काट्दै गरेकी एलेन हर्जबर्गको स्थानीय अस्पतालमा उपचारको क्रममा ज्यान गउको हो ।
फोर्ड, जेनरल मोटर्स, टेस्ला र वेमोसहितका कम्पनी सेल्फ ड्राइभिङ कार निर्माणका लागि इच्छुक रहेका छन् । तर यो दुर्घटनाले उनीहरुलाई हच्काएको छ ।