सन्दर्भ : अन्तर्राष्ट्रिय खुशी दिवस

खुशीको आकार आफ्नै प्रयासमा, भारत भन्दा नेपाल धेरै खुशी

प्रशन्न मुद्रामा कपिलवस्तुको सौराहकी एक महिला । तस्बिर : टंक ढकाल/देश सञ्चार

काठमाडौं – आकार आँकलन गर्न सकिँदैन । अनि ठ्याक्कै नाप्न पनि मिल्दैन । तर आफ्नो भागमा परेको खुशी जहिले साँघुरो अनि दुःखको आकार जहिले फराकिलो लाग्ने मानवीय स्वभाव ।

न खुशीको आकार भए भन्दा सानो हुन्छ न दुःखको आकार परे भन्दा भयानक नै । तर बल्झिरहने दुःख र बिर्सिने खुशीमा जहिले पीडा नै आफ्नो भागमा परे जस्तो लाग्छ अधिकांशलाई ।

नाप्न वा सीमाले बाँध्न नमिले पनि खुशीको आयतन फैलाउन सकिन्छ चाहे जति । त्यसैगरी खुम्च्याउन मिल्छ अप्ठ्यारोको घेरा पनि । प्रयास के मा लगाउने भन्ने कुराले निर्धारण गर्ने हो, आफ्नो भागमा पर्ने खुशी र असजिलोको मात्रा ।

प्रयास यस्तो हुन पर्छ कि खुशीको सीमा असीमित बनोस् । असजिलोको पहुँच पर बन्दै जाओस् । तर अधिकांशको प्रयास खुशीलाई चाँडो बिर्सने अनि दुःखलाई सम्झिरहने बनाउनमा लागेको जस्तो देखिन्छ ।

पर धकेल्ने र ओर ल्याउने केलाई भन्ने व्यक्तिगत लगन र प्रयासले निर्धारण गर्ने हो । यसमा बस्दै आएको परिवार, समाज अनि राष्ट्रको भूमिका पनि उत्तिकै रहन्छ ।

सन्दर्भ : अन्तर्राष्ट्रिय खुशी वा प्रशन्नता दिवस


नाप्न वा घेरामा राख्न नमिल्ने भए पनि खुशीलाई फैलाउन भने पक्कै मिल्छ । यहि बुझेर सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१२ को जुलाई १२ मा गरेको निर्णय अनुसार मार्च २० लाई खुशीलाई उत्सवको रुपमा मनाउने र फैलाउने दिनको रुपमा मनाउन सुरु भएको हो । यसको श्रेय भुटानलाई जान्छ । जसले सन् १९७० को दशकदेखि नै राष्ट्रिय आयको आधारमा राष्ट्रिय खुशीको निर्धारण गर्दै आएको थियो ।

बाँडेर नघट्ने बरु बढ्दै जाने चिज हो खुशी । यसैले दिवसको अवसरमा यो वर्षको नारा खुशी बाँडौँ तय गरिएको छ । आफूसँग भएको खुशी अरुसँग बाँडे आफूसँगै अरुको अनुहार पनि उज्यालो हुन्छ ।

यसले व्यक्तिगतमा सम्बन्धलाई माया गर्न, सम्मान गर्न, अरुप्रति दयालु बन्न अनि सहयोगी हुन उर्जा दिने भएकाले नारा तय गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मानिसको जीवनमा खुशीको प्रभाव समेट्न नसकिने हुन्छ । यहि कुरालाई सम्मान गर्नका लागि दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा ल्याएको दीगो विकासका १७ लक्ष्यमा मानवीय खुशीका विभिन्न आधारलाई समेटिएको छ । यसमा गरिबी अन्त्य गर्ने, असमानता कम गर्ने अनि हामी बस्दै आएको पृथ्वीको सुरक्षा गर्ने प्रमुख हुन् ।

संयुक्त राष्ट्रसंघले हरेक उमेर समूहका प्रत्यक व्यक्तिलाई खुशी बाँड्दै त्यसलाई फैलने ठाउँ दिन आह्वान गरेको छ । यसैगरी सबै वर्ग, क्षेत्र, व्यवसाय अनि सरकारले पनि खुशीको रक्षा तथा फैलावटका लागि काम गर्नु पर्नेमा जोड दिएको छ ।

हामी कति खुशी छौँ ?


हुन त नाप्न मिल्दैन । तर पनि त्यसको छेउछाउमा पुग्न भने सकिन्छ, केही आधारलाई लिएर । संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्वका विभिन्न देशमा राष्ट्रिय खुशीको अवस्था कस्तो छ ? भनेर जानकारी दिनका लागि वर्ल्ड ह्याप्पिनेस रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।

यो वर्ष पनि नेपालसहित विश्वका १५६ देश समेटिएको रिपोर्ट सार्वजनिक भएको छ । यसैगरी यो वर्षको रिपोर्टमा बढ्दै गएको आप्रवासी समस्या र आप्रवासीको खुशीमा सबैको ध्यान खिच्नका लागि ११७ देशमा आप्रवासीको खुशीको अवस्थाको पनि विश्लेषण गरिएको छ ।

आय, स्वस्थ जीवन, जीवनप्रत्यासा, सामाजिक सुरक्षा, स्वतन्त्रता, विश्वास र उदारतालाई आधार मानेर देशहरुलाई खुशीको सूचिमा सूचिकृत गरिएको छ ।

सबैभन्दा खुशी देशको रुपमा युरोपेली देश फिनल्याण्ड उदायको छ । तर विश्वका १० खुशी देशको सूचिमा भने यसअघिका दुई वर्षदेखि जुन देश रहँदै आएको थिए तिनिहरु नै छन् ।

तोकिएका सुचकांकमा प्राप्त अंकलाई ० देखि १० सम्म निर्धारण गरी प्राप्त भएको अंकको आधारमा देशलाई सूचिकृत गरिएको छ ।

सबैभन्दा खुशी देशको रुपमा उदायको फिनल्याण्डले ७.६३२ अंक पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नर्वेले ७.५९४, तेस्रो स्थानको डेनमार्कले ७.५५५, चौथो स्थानको आइसल्याण्डले ७.४९५ तथा पाँचौँ स्थानको स्वीट्जरल्याण्डले ७.४८७ अंक पाएको छ ।

नेदरल्याण्डस् छैटौँ, क्यानडा सातौँ, न्युजिल्याण्ड आठौँ, स्वीडेन नवौँ तथा अस्ट्रिेलिया दशौँ स्थानमा रहेका छन् । खुशी देशको सूचिमा अमेरिका १८ औँ, बेलायत १९ औँ तथा युएई २० औँ स्थानमा परेका छन् ।

नेपाल अनि दक्षिण एसिया


१५६ देश रहेको सूचिमा नेपाल १०१ औँ स्थानमा परेको छ । नेपालले १० मा ४.८८० अंक पाएको छ । पाँच वा त्यो भन्दा बढी अंक पाउने देशको संख्या ९७ रहेको छ ।
दक्षिण एसियामा सबैभन्दा खुशी देशको रुपमा पाकिस्तान रहेको छ । ७५ औँ स्थानमा रहेको पाकिस्तानले ५.४७२ अंक पाएको छ । त्यसपछि ९७ औँ स्थानमा रहेको भुटानले ५.०८२ अंक पाएको छ ।

४.५०० अंक पाएको बंगलादेश ११५ औँ, ४.४७१ अंक पाएको श्रीलंका ११६ औँ, ४.१९० अंक पाएको भारत १३३ औँ तथा ३.६३२ अंक पाएको अफगानिस्तान १४५ औँ स्थानमा छ । माल्दिभ्सलाई समावेस नगरिएको सूचिमा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा देखिएको छ ।

विश्वमा सबैभन्दा खुशी कम भएको देशमा बुरुण्डी रहेको छ । यस्तै पुछारबाट दोस्रो स्थानमा मध्य अफ्रिकी गणराज्य छ । त्यसपछि क्रमशः दक्षिण सुडान, तान्जिनिया, यमन, रुवाण्डा, सिरिया, लाइबेरिया, हाइटी, मालवी र बोस्टवाना रहेका छन् ।

चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्