काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार बिहान सुन्धारास्थित केन्द्रीय कारागार र डिल्लीबजार सदर खोरको अवलोकन गरेका छन् ।

गृहमन्त्री भए पनि पहिलोपटक जेलको अवस्थाबारे बुझ्न निस्केका थापाले सेन्ट्रल जेल र सदर खोरको वस्तुस्थितबारे जानकारी लिँदै सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

केन्द्रीय कारागारको निरीक्षणमा गृहमन्त्री रामबहादुर थापा बादल । तस्बिर : प्रकाश ढकाल/देश सञ्चार

जेल प्रशासनले भौतिक संरचना धेरै पुरानो भएको, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेको, खुला ठाउँको अभाव रहेको भन्दै सुधारका लागि ध्यानाकर्षण गराएको छ ।

एक सय चार वर्ष पहिलो बनेको सेन्ट्रल जेलमा क्षमता भन्दा चार गुणा बढी राखिएको छ । जेलर गणेश प्रसाद भट्टराईका अनुसार सात सय ५० जना क्षमताको जेलमा अहिले दुई हजार ६ सय ९६ जना कैदीबन्दी रहेका छन् ।

सेन्ट्रल जेलमा गोलघरसहित चारवटै कारागारको अवलोकनपछि गृहमन्त्री थापाले सरकारले तीन चार महिनाभित्र देशैभरका जेल सुधारका लागि ठोस कार्यक्रम ल्याउने बताए । उनले सुन्धारामा जेल राख्ने किन नराख्ने भन्नेबारेमै सरकारले पुनविर्चार गर्ने बताए ।

‘यो जेलकै बारेमा नयाँ ढंले सोच्छौ, यो ठाउँमा राख्न उपयुक्त छ कि छैन भन्नेबारे सरकारले तीन चार महिनाभित्र अध्ययन गरेर निर्णय गर्छ’, थापाले भने ।

केन्द्रीय कारागारको निरीक्षणमा गृहमन्त्री रामबहादुर थापा बादल । तस्बिर : प्रकाश ढकाल/देश सञ्चार

सेन्ट्रल जेलको वरिपरि रहेका अग्ला भवनका कारण सुरक्षामा देखिएको थ्रेटलाई सरकारले गम्भीरता पूर्वक लिएको उनले बताए । कैदीहरुले गृहमन्त्रीलाई छिटो मुद्दा फर्छोट हुनुपर्ने, दैनिक गुजाराका लागि सरकारले दिँदै आएको ४५ रुपैयाँ वृद्धि गरेर समय सापेक्ष बनाउनु पर्ने, बिरामी र अरुलाई छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

जवाफमा आफूले सुधारका लागि ठोस पहल गर्ने बताएको गृहमन्त्री थापाले जानकारी दिए । गृहमन्त्री थापाले काठमाडौंका जेलको विकल्पमा नुवाकोटमा बन्दै गरेको जेल चार वर्षभित्र पूरा गरेर कैदलाई स्थान्तरण गर्ने बताए ।

सुस्त गतिमा बनिरहेको जेल निर्माणलाई तीव्रता दिने उनको प्रतिबद्धता छ । नुवाकोटमा सात हजार पाँच सय क्षमताको आधुनिक जेल बनिरहेको छ ।