अमेरिका र दक्षिण कोरियाले बृहत सैन्य अभ्यास गर्ने

अमेरिका र दक्षिण कारियाले आउँदो अप्रिलमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । दुई देशले अप्रिल १ देखि संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेका हुन् ।

कोरियाली प्रायद्विपको महत्वपूर्ण स्थानमा दुई देशका सैनिकले बृहत स्तरको सैन्य अभ्यास गर्ने भएका हुन् । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम विस्तार गरी आक्रमणको तयारी दुई देशले बताउने गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाले यसअघि नै संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेका थिए । तर गएको फेब्रुअरीमा भएको विन्टर (शितकालीन) ओलम्पिकको क्रममा विकास भएको कुटनीतिक परिवेशका कारण रोकिएको थियो ।

अभ्यासमा स्थल, जल तथा हवाई सेना सहभागी हुने छन् ।

अभ्यासमा तीन लाख भन्दा बढी सैनिक सहभागी हुने छन् भने ठूलो मात्रामा सैन्य सामग्री प्रयोग हुनेछ । उत्तर कोरिया र दक्षिण कोरियाबिचको सम्बन्ध सुधार भइरहेको तथा उत्तर कोरियाले अमेरिकालाई वार्ताका लागि प्रस्ताव गरेका बेला सैन्य अभ्यास हुन लागेको हो ।

पछिल्लो पटक विकास भएको परिवेश तथा कुटनीतिक प्रयासले कोरियाली प्रायद्विपको तनाव अन्त्य हुने आश भइरहेका बेला सैन्य अभ्यास हुन लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो महिनाको सुरुमा उत्तर कोरियाले दक्षिण कोरियाका प्रतिनिधि मार्फत गरेको वार्ताको प्रस्ताव स्वीकार गरेका थिए । यसले उत्तर कोरियाका नेता किम जोङ–उनबिच पहिलो पटक प्रत्यक्ष वार्ता हुने आधार बनाए जस्तो देखिएको छ ।

तर उत्तर कोरियाले अहिलेसम्म केही बताएको छैन । यहि बिचमा अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गर्नुलाई विवाद फेरि उत्कर्षमा पुग्ने आशंका गरिएको छ ।

चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्