सेयर बजार घट्ने क्रम रोकिएन; नयाँ सरकार बनेपछि नै १७० अंक घट्यो परिसूचक

काठमाडौं- साताको तेश्रो कारोबार दिन पनि नेप्से परिसूचक घट्ने क्रम रोकिएन। मंगलबार १५.०५ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १२५५.४७ अंकमा पुगेको छ। दोहोरो अंकले परिसूचक ओरालो लाग्दा १ सय ५९ कम्पनीको ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ। आइतबार ७ र सोमबार ८ अंकले घटेको नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।

एक ब्रोकरले भने, ‘ बढ्दो ब्याजदर र मार्जिनकलले नै परिसूचक ओरालो लागेको हो।’ सरकारले तरलता समस्या समाधान गर्न नसके परिसूचक अझैं ओरालो लाग्ने उनको तर्क छ।

२ करोड रुपैयाँको कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।  घटेको बजारमा कारोबार भएका १ सय ५९ कम्पनी मध्ये २० कम्पनीको मूल्य मात्र उकालो लाग्यो।

४ प्रतिशत मूल्य बढेको स्वदेशी लघुवित्त वित्तीय संस्था धेरै मूल्य बढ्ने कम्पनी बन्यो। धेरै गुमाउने कम्पनीको अग्रस्थानमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रह्यो।

घटेको बजारमा क वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स २.७९ अंकले ओरालो लाग्दा होटल बाहेकका उपसूचकहरु ओरालो लागेका छन्।

तिन दिनमा करिब ३१ अंकले परिसूचक ओरालो लाग्दा बजार पुँजीकरण पनि १४ खर्ब ७० अर्ब रुपैयाँमा पुगेको छ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएका दिन नेप्से परिसूचक १४२४.९५ अंक थियो। ओली निर्वाचित भएको  १ महिनामै नेप्से परिसूचक करिब १ सय ७० अंकले ओरालो लागिसकेको छ।

 

 

 

चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्