पर्यटक आफैं घुम्‍न जाने कि गाइड लैजाने?

पोखरा- पोखराबाट ट्रेकिङमा जाने अधिकांश पर्यटकले ट्रेकिङ गाइड नलगी जाँदा समयसमयमा बिभिन्न दुर्घटनाहरु हुने गरेका छन्।

अन्नपूर्ण सर्किट बाहेकका क्षेत्रमा पनि ट्रेकिङ गाइड बिनै घुम्न जाने बिदेशी पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ।

गत वर्ष ट्रेकिङ गाइड नलगी लाङटाङ क्षेत्रको ट्रेकिङमा गएका ताइवानी पर्यटकको जोडी हराएको थियो। खोज्ने क्रममा ५५ दिनपछि भेटिएको उनीहरूमध्ये एक जनाको मृत्यु नै भएको थियो।

यस्तै विदेशी पर्यटकले एभरेष्ट क्याम्प र तिलिचो तालमा खिचेका ‘नग्न तस्बिर’ सामाजिक संजालमा भाइरल भयो। मार्दी हिमालमा ट्रेकिङमा गएका इजरायल नागरिक हराएका थिए।

सरकारको नेपाल घुम्न आउने विदेशी पर्यटकप्रति लचिलो नीति हुँदा आफूखुसी हिड्ने पर्यटकले अवाञ्छित गतिविधि गर्ने गरेका छन्। विदेशी पर्यटकको नाङ्गो तस्विर खिच्दै नेपालमा जे पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको जस्तो देखिन्छ। एक्लै ट्रेकिङमा जाने पर्यटकहरु नियम पालन नगरी विभिन्न ठाउँमा पुग्ने गरेको गुनासो छ।

पर्यटक सँग पथप्रर्दशक भएको भए समाजमा पाच्य नहुने गतिविधि गर्न सक्ने थिएनन्।

यस्तै पर्यटक ट्रेकिङ ट्रेल भन्दा बाहिर नजाने, कुनै जोखिम भए समयमै उद्दार गर्न सकिने र स्थानीय संस्कृतिका बारेमा पनि पर्यटकलाई जानकारी गराउन सकिने भएकाले पथ प्रदर्शकलाई अनिवार्य बनाउनु पर्ने पर्यटन व्यवसायीहरु बताउँछन्।

‘पर्यटक दृश्यावलोकनका लागि मात्र नभई नेपालको रहन सहन र संस्कृतिको अध्ययन अवलोकन पनि गर्न आउँछन्, तालिम प्राप्त पथप्रर्दशकले यस्ता विषयमा जानकारी दिँदा नेपालका पर्यटकीय पूर्वाधारको प्रचारप्रसार हुने सम्भावना छ।

पथ प्रदर्शक र पोटरलाई अनिवार्य गर्दा गाइड र भरीयालाई रोजगारी अवसर पनि वृद्धि गर्न सकिने छ।

प्रर्दशक लिएर जानु पर्ने अनिवार्य नियम नहुँदा पर्यटक आफु खुशी हिड्ने गरेको टानका कार्यबाहक अध्यक्ष हरि भुजेल बताउँछन्।

नेपालको भौगोलिक अवस्थिति र मौसमको अवस्थाका बारेमा विदेशी  पर्यटक जानकार हुँदैन जसले गर्दा विभिन्न समस्याहरु आउने गरेको भुजेलको तर्क छ।

‘तीन वर्ष अघिको ‘अन्नपूर्ण सर्किटमा आएको हुदहुद आँधीमा ज्यान गुमाएका ४० भन्दा बढि पर्यटकमा अधिकांश गाइड÷पोर्टर विनै  गएका थिए।’

पोखरामा हाल २ सय ५० लाइसेन्स प्राप्त पथप्रर्दशक रहेका छन्।

टेकिङ्गमा जाने सबै पर्यटकले पदप्रर्दशक लिएर जाने हो भने पथ प्रर्दशकको अभाव हुने टान पश्चिमाञ्चलका महासचिव सुसिलराज पौडेल बताउँछन्।

नेपालको संस्कृति र सौन्दर्यतालाई विश्वमा चिनाउन पर्यटकलाई पथ प्रर्दशक अनिवार्य गर्ने नीति ल्याउनु पर्ने पौडेलको धारणा छ।

यसका लागि नयाँ व्यक्तिहरुलाई गाइडको तालिम दिनु पर्ने माग व्यवसायीको छ। काठमाडौंमा मात्रै गाइडलाई तालिम दिँदै आएको नाथमको कार्यक्रम उपत्यका बाहिर पनि बिस्तार गर्नु पर्ने व्यवसायीले माग गरेका छन्।

गाइड लैजाँदा केहि रकम बढि खर्च हुने भएकाले पनि  पर्यटकहरु हिच्किचाउने गरेको पौडेल बताउँछन्।

सरकारले पटक पटक गाइड अनिवार्य गर्ने भनेर गरेको छलफल गरेको भए पनि अहिले सम्म कुनै निर्णय गरेको छैन।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय जोखिम पूर्ण ट्रेलहरुमा गाइड अनिवार्य गर्नु पर्छ कि भन्ने बिषयमा मन्त्रालयले छलफल गरिरहेको बताउँछन्।

अन्नपूर्ण सर्किटमा ट्रेकिङबाट फर्किएका अमेरिकी नागरिक फिल हुलवर्ग गाइड हुँदा यात्रा सुरक्षित हुने बताउँछन्।

पर्यटन व्यवसायीको तर्कमा सहमति हुँदै हुलवर्गले भने, ‘स्थानिय रहन सहन संस्कृतिको बारेमा जानकारी लिन पाइनेहुँदा पनि गाइडसँगको यात्रा रोमाञ्चक हुने रहेछ। उनी ‘पर्यटक गाइडबुक र गुगल सर्च गरेर हिड्दा यात्रा त्यति सहज नहुने बताउँछन्।

केहि समय अघि मात्रै अन्नपूर्ण बेश क्याम्प पुगेकी विदेशी पर्यटक लोरटा एन्ड्रोसनले गाइड विनाको यात्रा खल्लो भएको अनुभव सुनाईन्। उनी साथिसँग विना गाइड मार्दि हिमालको पदयात्रामा  गएकी थिइन्। नेपालमा तेस्रो पटक नेपाल आएकी लोरेटालाई गाइड विना पनि यात्रा गर्न सक्छु भन्ने आँट आएको थियो तर यात्रा रमाइलो भए पनि सोचे जस्तो उपलब्धि मुलक नभएको उनले प्रतिक्रिया दिइन्।  ‘पैसा त जोगियो तर धेरै कुरा गुमाएँ।

गाइड विनाको यात्रामा भोग्नु पर्ने चुनौतीमा लोरेटोको भनिन्,  ‘बेला बेला बाटो अल्मलिने, अप्ठेरा बाटाहरु पार गर्न कठिन हुने र बदलिँदो मौसमबारे अनभिज्ञका साथैं खराब आचरणका मान्छेसँग जोगिन समस्या हुन्छ।’

चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्