देउवाविरुद्ध आक्रामक बन्दै पौडेल र सिटौला समूह

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला।

काठमाडौं- नेपाली कांग्रेसको चैत ९ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरी वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले तयारी तीव्र बनाएका छन्।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पार्टीले पराजय भोग्नु सभापतिको कार्यशैलीका मुख्य कारण रहेको बताउँदै आएका पौडेल र सिटौला समूहले केन्द्रीय समितिको बैठकमा कडाइका साथ प्रस्तुत हुने तयारी गरेका हुन्। आफ्नै नेतृत्वमा तीनै तहको चुनाव गराउँदा पनि पार्टीको निकै कमजोर भएको निष्कर्ष निकाल्दै सभापतिको कार्यशैलीप्रति असन्तुष्टि राख्ने गरी दुवै समूहले दैनिक जसो अनौपचारिक भेला गरिरहेका छन्।

मंसिरमै चुनाव सकिए पनि सभपाति देउवाले हारको समीक्षा तीन महिनापछि गर्ने गरी चैत ९ गतेदेखि केन्द्रीय कार्य समितिको बैठक बोलाएका हुन्। एक नेताका अनुसार आसन्न केन्द्रीय कार्य समिति बैठकको एक मात्र एजेण्डा चुनावमा समीक्षा मात्र हुनेछ।

पौडेल निकट मानिने केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसलाई मुलभुत परिवर्नत गर्ने विषय उठ्ने बताउँछन्। देश सञ्चारसँग जोशीले भने, ‘अब कांग्रेस परिवर्नत हुनुपर्छ। विचारको प्रष्टता हुनुपर्छ। कांग्रेस कस्तो बनाउने भन्ने विषयमा आवाज उठाउँछौं। चुनावको वास्ताविक समीक्षा हुन्छ।’ स्थानीय तहको चुनावदेखि नै कमजोर परिणाम ल्याएको कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको चुनावमा झन कमजोर हुनुले नेतृत्वमाथि प्रश्न उठेको पौडेल पक्षीय नेताहरुको बुझाइ छ।

सभापति देउवालाई समर्थन गर्दै आएका सिटौलाले पनि केही दिनअघि आफूले गरेको सहयोगको मूल्यांकन नभएको भन्दै देउवाको विपक्षमा उभिने प्रष्ट पारिसकेका छन्। युवा नेताहरु गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतले पुनर्जागरण अभियानको घोषणा गर्दै अप्रत्यक्ष रुपमा सभपाति देउवालाई सुध्रिन दबाब दिँदै आएका छन्।

सिटौँलाले यसअघि देउवालाई ब्ल्यांक चेक दिएको तर अहिले त्यो फिर्ता लिएको उल्लेख गर्दै उनीमाथि तीव्र दबाब दिएका छन्।

सभापतिले पार्टीलाई उपयुक्त तरिकाले चलाउन नसकेको भन्दै प्रकाशमान सिंहले संसदीय दलको नेतामा पराजित हुने निश्चित हुँदाहुँदै उम्मेदवारी दिएर देउवालाई चुनौती दिएका थिए। १९ मतका विरुद्ध ४४ मत पाएर देउवा दलको नेतामा विजय भए पनि यसले देउवाको विकल्प आवश्यक छ भन्ने सन्देश दिएको पौडेल पक्षीय नेताहरुको दाबी छ।

चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्