का‌ंग्रेसभित्र कमजोर कोइराला परिवार

काठमाडौैं-राणाशासनका बेला तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई देशको वस्तुस्थितिबारे जानकारी गराउँदा देश निकालामा परेका विराटनगरका कृष्णप्रसाद कोइराला र उनका सन्तान नेपालको राजनीतिमा झण्डै एक शताब्दीसम्म केन्द्रमा रहे।

उनका पाँचैजना छोरा मातृका, विपी, केशव, तारिणी र गिरिजा राजनीतिमै लागे। २००७ सालको आन्दोलन र त्यसपछिका सबैजसो राजनीतिक घटनाक्रमको कुनै न कुनै रुपमा नेतृत्व कोइराला परिवारले नै गर्‍यो।

बिपी कोइरालाले एक सय चार वर्ष लामो राणा शासनको अन्त्यका लागि नेपाली कांग्रेसको गठन गरेर शसस्त्र आन्दोलनको नेतृत्वदेखि संविधानसभाबाट संविधान बनाउने कार्यको अगुवाइसम्म गरे गिरिजाप्रसाद कोइरालाले। गिरिजा बहुदलीय नेपाली राजनीतिको केन्द्रमा रहे निधनको अघिसम्म।

प्रजातान्त्रिक आन्दोलनको पर्याय मानिन्थ्यो कुनै समय कोइराला परिवारलाई। राजनीतिक पार्टी भनेकै कांग्रेस, कांग्रेस भनेकै कोइरालासम्म भन्थे कुनै समय।

तर, यतिबेला कोइराला परिवारसँग विगतको विरासत मात्र बाँकी छ। राजनीतिमा कोइराला परिवारको उपस्थिति र प्रभाव शून्य: प्राय अवस्थामा पुगेको छ। कोइराला परिवारबाट यतिबेला तीन जना सक्रिय राजनीतिमा छन्। बिपीपुत्र सशांक, केशवपुत्र शेखर र गिरिजा पुत्री सुजाता कांग्रेसका नेताका रुपमा स्थापित छन्।

सशांक कांग्रेसको निर्वाचित शक्तिशाली महामन्त्री हुन्, तर उनले आफ्नो हैसियतअनुसार पार्टीभित्र र बाहिर प्रभाव देखाउन सकेका छैनन्। सभापति शेरबहादुर देउवाका कदमलाई मौन समर्थनबाहेक सशांकबाट अरु केही हुन सकेको छैन। पार्टी संगठनलाई सक्रिय गराउने, राजनीतिक रणनीति बनाउने, समसामयिक घटनाक्रमबारे आफ्नो र पार्टीको धारणा राख्ने जस्ता गतिविधिबाट कोइराला टाढा छन् । सशांकले नगरेका यी काम शेखर कोइराला गरे पनि आसन्न चुनावमा पराजित हुनु र पार्टीभित्र कुनै भूमिकामा नरहँदा सञ्चारमाध्यमबाट पार्टी नेतृत्वको विरोधमै शेखरका दिन बितिरहेका छन्। उनले सभापति देउवाको विकल्पका रुपमा आफूलाई प्रस्तुत गर्दै आए पनि पार्टीभित्र स्थापित भइसकेका छैनन्।

अस्वस्थताका कारण सुजाता कोइराला पछिल्लो सयम राजनीतिबाट गुमनाम जस्तै छिन्। पिता गिरिजाप्रसाद कोइरालको छत्रछायामा केही समय राजनीतिक ‘रजगज’ गरे पनि त्यसपछि उनी कांग्रेसको एक सामान्य नेताका रुपमा मात्र देखिँदै आएकी छिन्।

बिपीका जेठा पुत्र प्रकाश कोइराला कांग्रेस र देशले २०६२/६३ पछि लिएको नीति नै ठीक नभएको फरक मान्यताका साथ घरमै दिन बिताइरहेका छन्। उनी आफ्नो पिता विपी कोइरालाले अघि सारेको राजासहितको प्रजातान्त्रमा अझै दृढ छन्।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कांग्रेस र कोइराला परिवार यतिबेला इतिहासकै कमजोर अवस्थामा पुगेको बताउँछन्। संघर्षबाट आएको पुस्ताको समाप्तिका कारण कोइराला परिवार राजनीतिमा कमजोर देखिएको दाहालको मूल्यांकन छ। ‘यति बेला कोइरालाबाट राजनीतिमा देखिएका कोही पनि संघर्ष गरेर आएका होइनन्। विरासतका कारण २०४६ सालको आन्दोलनपछि राजनीतिमा प्रवेश गरेका हुन्,’ दाहाल अगाडि भन्छन्, ‘कोइराला परिवारबाट अहिले राजनीतिमा रहेका सशांक, शेखर र सुजाता तीनै जनासँग राजनीतिक परिपक्वता देखिँदैन।’

राजनीतिमा कोइराला परिवार पुनः स्थापित हुन अब निकै मेहनत गर्नुपर्ने दाहाल बताउँछन्।

तर, संशाक भने राजनीतिमा आफूहरु कमजोर नभएको दाबी गर्छन्। राजनीतिक निर्णयहरुमा निर्णायक नभए पनि अझै पनि सिद्धान्त बलियो भएको उनको तर्क छ। उनी भन्छन्, ‘हामी कमजोर भएका छैनौं। सिद्धान्तमा हामी बलियो अवस्थामा छौं। बिपी कोइरालाले अघि सार्नुभएको समाजवाद संविधानमै लेखिएको छ‍। चुनाव चाहिँ हारेका हौं, त्यसलाई स्वीकार गर्नुपर्छ।’ सशांक आगामी महाधिवेशनमा पार्टी सभापतिमा दाजु शेखर र आफूमध्ये एक जना अघि सर्ने बताउँछन्। देश सञ्चारसँग उनले भने, ‘सुजाता दिदी स्वास्थ्यका कारण सक्रिय हुन सक्ने अवस्थामा हुनुहुन्न । शेखर दाइ र म सल्लाह गरेर एक जना नेतृत्वका लागि अघि सर्छौ।’

चैत ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्