दाङमा सुरु गरिएको बोक्सी विरुद्ध थालिएको सचेतना कचहरी अभियानको क्रममा नाटक प्रदर्शन गर्दै प्रहरी र नागरिक । तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

दाङ – केही दिनअघि दाङको राजपुर गाउँपालिका–७ वनकट्टीमा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भयो । चोट लागेर घाइते भएकी उनी अस्पताल नै भर्ना हुनुपर्‍यो ।

घटना सार्वजनिक भएपछि कुटपिटमा संलग्नलाई प्रहरीले पत्राउ गर्‍यो । सातजना विरुद्ध मुद्दा चलाइयो । घटनापछि विस्थापित भएकी महिला अहिले घर फर्किएकी छन् ।

दाङमा पछिल्लो समय बोक्सीको आरोप लगाउँदै महिलामाथि हुने हिंसाका घटना बढेका छन् ।

बोक्सीको आरोप लगाउँदै महिलामाथि हिंसाका घटना बढेको भन्दै सचेतना अभियान थालिएको छ । बोक्सी विरुद्धको अभियान दाङको देउखुरीबाट सुरु भएको हो । यो अभियान नागरिक र प्रहरी मिलेर संयुक्त रुपमा थालेका हुन् ।

नागरिक र प्रहरी मिलेर कचहरी नाटक गाउँमा लगेर गएका छन् । ‘महिलामाथि बोक्सीको आरोप लगाएर हिंसा गर्नेलाई कानूनी कारवाही गर्नुपर्छ, यही सन्देश हामीले नाटकबाट दिएका छौं’ अभियानमा सकृय योगमाया शाहीले भनिन् ‘बोक्सी कुरीति विरुद्ध गाउँ पसेका छौं ।’

समाजमा अझै पनि बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने, चरम यातना दिने जस्ता जघन्य अपराध भैरहेका छन् । सामाजिक कुरीतिको रुपमा रहेको बोक्सी प्रथा विरुद्ध दाङमा कचहरी नाटक मार्फत सचेतना अभियान थालिएको हो ।

बोक्सीको आरोप लगाउनेलाई ६ महिनादेखि १५ वर्षसम्म कैद सजाय र २५ हजारदेखि ७५ हजारसम्म जरिवाना हुने व्यवस्था कानुनमा गरिएको छ । यही कानूनी कुरालाई जानकारी गराउन नागरिक र प्रहरी मिलेर बोक्सी प्रथा विरुद्ध सचेतना अभियान थलिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी हबल्दार नवराज आचार्यले बताए ।

‘अन्धविश्वासमा परेर महिलामाथि बोक्सीको आरोप लगाउनेलाई कानुनले छाड्दैन्, हिंसामा पर्नु भएको छ भने सीधै प्रहरी कार्यालयमा फोन गर्नुहोस्, हामी त्यहाँ पुग्छौं’ आचार्यले भने ‘प्रथा, प्रचलनको नाममा हिंसा सहेर नबसौं, यस्ता हिंसा गर्नेलाई कारवाहीका लागि प्रहरी अघि सर्छ ।’

पहुँच परियोजना अन्तर्गत सर्च फर कमनग्राउण्डको सहयोगमा मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा कचहरी नाटक दाङको गढवा, लमही र तुलसीपुरमा प्रदर्शन गरिएको सर्चफर कमन ग्राउण्डका फिल्ड संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए ।

नाटकको लेखन तथा निर्देशन कृष्णबहादुर वलीले गरेका छन् । नाटकमा योगमायाँ शाही, दीपा खत्री, विन्दु गिरी, मीना भट्टराई, गणेश खड्का, सीता खड्का, मनिषा चौधरी, नवराज आचार्य, लक्ष्मी प्याकुरेल, प्रेरणा भुसाल, पटवारी यादव, सरस्वती योगी कलाकार रहेका मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र पहुँच परियोजनाका संयोजक गिरीराज भट्टले बताए ।

चैत ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्