सहरमा घरघरमै आधुनिक तरकारीबारी

मुलुकमा नगरीकरण बढ्दो छ, अर्थात सहर बस्तीको क्षेत्रफल दिनानुदिन बढिरहेको छ। यो विकासको एउटा क्रम हो। तर, यसबाट कृषि क्षेत्र प्रभावित र विस्थापित भइरहेको छ। यद्यपि, कृषिसम्बन्धी प्रचारप्रसार तथा सेवाको जिम्मेवारी आ–आफ्नो इलाकामा नगरपालिकाहरुकै हुन आएको छ।

खासगरी ठूला नगरहरुमा कृषि कार्यक्रम आफैँमा एउटा चुनौती र अवसर दुवै बन्न गएको छ। कृषि भूमि दिनानुदिन घट्दै गएको छ र खाद्यवस्तुको माग बढ्दो छ। तर सीमित जग्गा र ठाउँमा उत्पादन हुने कृषि वस्तु र नयाँ–नयाँ प्रविधिहरु पनि उपलब्ध छन्। नगर कृषि (सहरी कृषि) कुनै नयाँ कुरा होइन। कुनै न कुनै रुपमा धेरैथोरै भइरहेकै छ। यसलाई सम्भव भएका ठाउँ र क्षेत्रमा कसरी विस्तार गर्ने र त्यसको उत्पादकत्व कसरी बढाउने भन्ने नै हो। नगर कृषिले आत्मनिर्भर हुने लक्ष्य त राख्न सक्दैन।

नगरपालिकाले खासमा नगर क्षेत्र जनाउँछ तापनि सबै क्षेत्र बजार र बस्तीले ढाकेको हुन्न। दीर्घकालीन सोच र योजनाबद्घ ढंगले विकास गरिएका र क्षेत्र निर्धारण गरिएका नगरहरुको विभिन्न उप–क्षेत्रहरु हुन्छन् र हुनुपर्छ। त्यसमा कृषि क्षेत्र पनि पर्छ र पर्नुपर्छ। दुर्भाग्य नै भनौँ, नेपालका शासकहरु र योजनाकारहरुले त्यसतर्फ सोचेनन्। बरु नगरलगायतका क्षेत्र निर्धारण गर्दा नेताहरुले आफ्नो भोटको पकेटलाई कसरी क्षय हुन नदिने भन्नेतर्फ चाहिँ सोच्न भ्याए।

डा. हिराकाजी मानन्धर

स्थानीय चुनावअघिसम्म एउटामात्र महानगरपालिका (काठमाडौं) थियो, अहिले धेरै छन्। अहिलेका महानगरपालिकाहरुमध्ये काठमाडौं र ललितपुरबाहेक धेरैमा कृषिको लागि क्षेत्र छुट्याउने र कृषिको प्रवर्द्धन गर्ने ठाउँ छन्। तर समयमै त्यसको योजना बनाएर कार्यान्वयनमा जानुपर्छ। भर्खरै सर्वोच्च अदालतले भूमिसुधार तथा व्यवस्था मन्त्रालयले गत साउन २६ गते कृषियोग्य जग्गाको प्लटिङ गर्न नपाउने गरेको निर्णयलाई सदर गरेको छ, जुन प्रसंशनीय छ। यसको कार्यान्वयन तत्काल हुनुपर्छ।

यो लेखको उद्देश्य सहरी बस्ती जहाँ खेती गर्न जग्गा बाँकी छैन त्यहाँ घरघरमा कृषिसम्बन्धी केही न केही कार्य गर्न सकिन्छ भन्नेमा थोरै चर्चा गर्नु हो। यसमा खासै नौला कुरा छैनन् र यो विषयगत विशेषज्ञको रुपमा लेखिएको पनि होइन। नगरपालिकाहरुले आगामी वर्षको लागि कृषिसम्बन्धी कार्यक्रम–बजेट बनाउँदा यसबाट केही जानकारी प्राप्त गर्न सक्छन् भन्नेसम्म अपेक्षा राखेको छु।

कौशी खेतीः काठमाडौं महानगरपालिकाले केही वर्षदेखि कौशी खेती कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुन क्षेत्रमा घनाबस्ती छ त्यहाँ कौशी भएका घरघरमा केही न केही उब्जाउन सकिन्छ। मुख्य कुरा, कौशी पक्की हुनुपर्छ, पानी रसाएर घरै बिगार्ने हुनु भएन। कौशीमा गमलामा फूल लगाउने चलन त परापूर्वकालदेखि चल्दै आएकै हो। बिहान दैनिक पुजाको लागि त्यही फूल टिपिन्थ्यो। अहिले त यो चलन घरको सौन्दर्यका लागि पनि बढेको छ। कागती, मुन्तला, होचो जातको जापानीज सुन्तलालगायत विभिन्न फलफूलहरु ठूलो गमलामा लगाउन सकिन्छ र लगाएका छन् पनि। ढलान भुईंमा पातलो गरी माटो ओछ्याएर लसुन, प्याज, धनिया आदि लगाउँछन्। पानी रसाउनबाट बचाउन भुईंमा प्लाष्टिक ओछ्याउन सकिन्छ। माछाको ढुवानीमा प्रयोग गर्ने स्टाइरोफोमको हल्का बाकस (प्रयोग भइसकेका) लाई गमलाको रुपमा प्रयोग गर्न सकिन्छ। आकाशे पानीबाट बचाउन कौशीमाथि घाम छिर्ने पोलिकार्बोनेट सिटको छट राख्न सकिन्छ। कौशी उत्पादनले ३/४ जनाको एउटा परिवारलाई पुग्दैन, तापनि आफ्नै घरमा उब्जेको फलफूल र तरकारीको स्वादै बेग्लै हुन्छ।

करेसा बारीः यो पनि परापूर्वकालदेखि चल्दै आएको चलन नै हो। घरहरु बढ्दै गएपछि करेसाबारी मासिँदै गयो, मान्छे अल्छी हुँदै गए। सहर बस्तीमा घरले चर्चेकाखाली जग्गामा केही न केही उब्जाएकै छन् र उब्जाउन सकिन्छ। ती ठाउँलाई लक्षित गरी सागपात, तरकारी, बहुवर्षीय पाटे सिमी, स्कुस आदि लगाउन सकिन्छ। नयाँनयाँ बाली र जातको विकास भएको छ। समय मिलाएर टिप्ने र बीउ छर्ने गरिरहने हो भने हरियो सागपात खाली हुन्न। घाम नलाग्ने सेपिलो ठाउँमा बकुल्ला र सागपातलगाउन सकिन्छ। मेरो घरमा पहिलेपाटे सिमी (नेवारीमा खोचा सिमि भन्थ्यौँ) को एउटा बोट सिजनमा खालि हुन्नथ्यो। लटरम्मै फल्थ्यो, त्यसको परिकार तिहारमा लक्ष्मीलाई चढाइन्थ्यो।

फलफूलका बोटः सहर बस्तीको बीचमा ठूला फलफूल बगैँचाको त कल्पना नगरौँ। तर प्रत्येक घरको खाली ठाउँमा मौसम सुहाउँदो कुनै न कुनै फलफूलका १/२ बोट लगाउन सकिन्छ। मध्य र उपत्यका क्षेत्रमा अम्बा, एभोकाडो, अनार, अंगुर, हलुवाबेद आदि लगाउने गरेका छन्। काठमाडौंमै स्याउ फलेको पाइन्छ। नयाँ नयाँ किसिमका फलफूल ठाउँठाउँमा फलेका छन्। तिनको विस्तार गर्न सकिन्छ। आयातीत ड्रागन फल धेरै ठाउँमा र गमलामै फलेका छन्। तराईतिर त गर्मीमा हुने सबैजसो फलफूल लगाएकै हुन्छन्। तर मासिँदै पनि छन्। फलफूलका बोटहरुलाई प्रबद्र्घन गर्न सके कंक्रिटले ढाक्दै गएको सहरहरुमा केही न केही हरियाली मिसाउन सहयोग गर्छ।

च्याउ खेतीः नेपालमा ४०/४५ वर्षअघि च्याउ खेतीको शुभारम्भ सहरकै घरहरुबाट भएको थियो। यसको शुरुआत खुमलटारस्थित बाली रोग विज्ञान महाशाखाबाट भएको हो। म पनि त्यहीँको कर्मचारी भएकाले सिकेर मेरो आफ्नै साँगुरो घरमा डल्ले र कन्ये च्याउ दुबै उमारेँ। च्याउखेतीअहिले जताततै फैलिएको छ। खेती गर्न सकिने च्याउका किसिम र जात पनि धेरै निस्केका छन्। तीमध्ये शिताके एउटा हो। च्याउको प्रकारअनुसार छिँडी, कोठा, झुपडी, टनेल आदिमा खेती गर्न सकिन्छ। ठाउँ र समय छ भने सानै ठाउँमा पनि सानो व्यवसायको रुपमा च्याउ लगाउन सकिन्छ। परिवारलाई हप्तामा एक/दुई छाक पुग्ने च्याउ त आफैँ कहाँ सजिलै उत्पादन गर्न सकिन्छ।

कुखुरा/हाँस पालनः उहिले सहरको बजार बस्तीको बाटोमै खुल्ला छाडेर कुखुरा, हाँस पालिन्थ्यो। धेरै वर्षपहिले मेरो घरमा कुखुरा हाँस खाली हुन्नथ्यो। कति त सवारी साधनले किच्थ्यो र भोजन बन्थ्यो। अहिले त्यसरी किच्यो भने पैसा तिराउँछ। अब यसरी छाडा पाल्न सिफारिस गर्न सकिन्न। बेलाबेला फैलिने गरेको ‘बर्ड फ्लू’को कारण पनि सहर बजारमा कुखुरा हाँस पाल्न जोखिम नै छ। तथापि कौशीलगायत केही खुल्ला ठाउँ छ र इच्छा छ भने निश्चित ठाउँमा खोरसहित ५/७ वटा नबिराइ पाल्न सकिन्छ। दिनमा दुई चारवटा अण्डा पनि पार्छन्। कौशी खेती र करेसा बारीलाई मल पनि निस्कन्छ। कुखुरा र हाँसबाहेक अरु पंछी जस्तै बट्टाई पनि पाल्न सकिन्छ।

पशुपालनः सहर बस्तीमा पशुपालन अव्यबहारिक लाग्ला। तर पाल्नेले गाई, बाख्रा आदि पालिरहेका छन्। कसैले सोखले पाल्छन् त कसैले आवश्यकता पूर्तिका लागि। मेरो बा हुँदा घरमा एउटा गन्हाउने बोका खाली हुन्नथ्यो। नेवारका केही जाति (सबैलाई होइन) लाई गन्हाउने बोकाको मासु मन पर्ने र गुठीलाई चाहिने। राँगाको मासुमा थोरै मिसाएपछि सबै बोकाको मासुसरह स्वाद आउने। त्यस्तो बोका महँगोमा बिक्री हुन्थ्यो। अहिले नार्कले गरेको अनुसन्धानबाट मुस्ताङ क्षेत्रमा पाइने सानो कदका ‘लुलु’ गाई काठमाडौंको हावापानीमा राम्रो पाइएको छ। यसलाई धेरै ठाउँ नचाहिने र ३/४ जनाको एउटा परिवारको लागि पुग्ने दुध दिन्छ। त्यस्तै दुध दिने ‘सानेन’बाख्रामा पनि अनुसन्धान भइरहेको छ, दिनको औसत ३ लिटरसम्म दुध दिएको पाइएको छ (राजु कँडेल, वरिष्ठ वैज्ञानिक, नार्क)। पशुपालनले कौशी र करेसाबारीलाई चाहिने मल प्रशस्त दिन्छ।

माछापालनः खाने माछा पाल्न पोखरी नै चाहिन्न। घरकै परिसरमा एउटा खाल्डोमा मागुर माछा पाल्न सकिन्छ। भान्छाबाट उब्रेको खाना दानाको रुपमा प्रयोग हुन्छ। खाल्डोको साइज ठाउँको उपलब्धताअनुसार सामान्यतया १ क्युबिक मिटरसम्मको हुन सक्छ। पानी नअडिने छ भने प्लाष्टिक प्रयोग गर्न सकिन्छ, तर पिँधमा एक तह माटो हुनुपर्छ (सुरेश वाग्ले, वरिष्ठ वैज्ञानिक, नार्क)। साना बच्चाहरु नखस्ने/नफस्ने गरी खाल्डोलाई बार्नुपर्छ। एउटा परिवारलाई सिजनमा हप्तामा एकपटक पुग्ने माछा उत्पादन हुन्छ। यसका लागि चाहिने प्रविधि र भुरा नजिकैको मत्स्य केन्द्रबाट उपलब्ध हुन्छ। यसको लागि अहिले सिजन शुरु भइसक्यो।

यी त भए नगर कृषिको लागि केही सामान्य जानकारी। यी गरिँदै आएका काम हुन्। मात्र बढ्दो सहरीकरण र सहरी आदतले गर्दा गरिरहका कामहरु छोडिँदै गए, बिर्संदै गए। तिनै कुरालाई झक्झक्याउनमात्र खोजेको हुँ। यी कुरालाई नसम्झने र व्यवहारमा नल्याउने हो भने सहरका नयाँ पुस्ताले कृषि भन्ने के हो, थाहा पाउने छैनन्। सहरको घरघरमा गर्न सकिने कृषि कार्यले बच्चाहरुलाई शिक्षा प्रदान गर्न र स्वाबलम्बी बनाउन पनि मद्दत मिल्छ। एउटा रमाइलो प्रसंग, विकसित मुलुकमा सहरमा जन्मे हुर्केका बच्चाहरुलाई अण्डा कस्ले पार्छ भनेर सोध्यो भने फलाना सुपरमार्केटले पार्छ भन्थ्यो रे।

नगर कृषिको कुरा गर्दा माटो विनाको कृषि पनि गर्न सकिन्छ। जस्तै पानीको माध्यममा गरिने ‘हाइड्रोपोनिक्स’ र हावाको माध्यममा गरिने ‘एरोपोनिक्स’ खेती। यो घर परिवारमा सामान्य प्रयोजनको लागि व्यावहारिक हुन्न। यसको लागि भौतिक पूर्वाधारसहित केही जोरजाम गर्नुपर्ने हुन्छ। तर सानादेखि ठूला व्यवसायको रुपमा सहरभित्रै यो सम्भव छ। निजीस्तरमा केही शुरु भइसकेका पनि छन्। हाइड्रोपोनिक्स प्रविधिबाट आलुको बीउ उत्पादन र घाँस उत्पादन प्रविधिमा नार्कले अनुसन्धान थालेको छ।

अन्त्यमा, घर–घरमा गरिने नगर कृषिले थोरै अंशमा भए पनि खाद्यलगायतका कृषिजन्य वस्तुहरुको स्वआपूर्ति हुन्छ। प्रत्यक्ष वा परोक्षरुपमा वातावरणलाई स्वस्थ राख्न र नगरको सौन्दर्य बढाउनमा सहयोग गर्छ। प्रत्येक घरबाट निस्कने धुलो र कुहिने फोहर आफ्नै बारी र गमलामा प्रयोग हुन्छ, जुन धेरै पहिलेदेखि नगरपालिकाहरुले गर्दै आएका पनि छन्। घर–घरमा यथासम्भव सानै भए पनि चिटिक्क परेका र बाह्रै महिना केही न केही फलिरहने करेसा बारी बन्छ। यसतर्फ नगरबासीलाई उत्प्रेरित गर्ने कार्यक्रम बन्नुपर्छ। नगर र नगर आसपास तरकारी र फलफुलका नर्सरीलगायत कम्पोस्ट, भर्मिकम्पोस्ट, जैविक मल आदि उत्पादनको व्यवसाय फस्टाउँछ। बीउ उत्पादनको व्यवसाय र व्यापार बढ्छ।

नगर क्षेत्रमा जग्गालाई बाँझो राख्न नदिन उपयुक्त नीति तथा कार्यक्रम नगरपालिकाहरुले बनाउनुपर्छ। अहिले खाली जग्गा फोहर फाल्ने ठाउँ बनेका छन्। मुख्य कुरा, नगरपालिकाका कृषिसम्बद्ध निकायले सम्बन्धित कृषि अनुसन्धान तथा विकास कार्यालयहरुसँग समन्वय र सहकार्य गरी आ–आफ्नो क्षेत्रलाई सुहाउँदो कृषि कार्यक्रमको तर्जूमा र कार्यान्वयन गर्नुपर्छ। मागबमोजिमको तालिम, सेवा, सहजीकरण र अनुगमनलाई प्राथमिकतामा राख्नुपर्छ।

 

चैत ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्